ओलीद्वारा सहमति उलङ्घन, प्रचण्डको नेतृत्व अस्वीकार !

सफल खबर संवाददाता

सोमबार, ०९ मंसिर २०७६, २२ : ०९
ओलीद्वारा सहमति उलङ्घन, प्रचण्डको नेतृत्व अस्वीकार !

काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले हालै भएको सहमति अस्वीकार गर्ने छन्क दिएका छन् । उनले अर्का अध्यक्ष प्रचण्डभन्दा आफू सिनियर रहेको दाबी गर्दै आफू पनि पार्टीको कार्यकारी भएको सन्देश दिन खोजेका हुन् ।

हालै सम्पन्न नेकपा बैठकले ओली र प्रचण्डलाई समान बरियता दिँदै प्रचण्डलाई कार्यकारी अधिकार दिने निर्णय गरेको भएपनि उनले आफू प्रचण्डभन्दा सिनियर रहेको र कार्यकारी पनि भएको सन्देश दिन खोजेका हुन् ।

उनले पार्टी अध्यक्ष कार्यकारी नै हुने भन्दै कहिले आफू र कहिले प्रचण्डले बैठकको अध्यक्षता गर्ने समेत स्पष्ट पारेका छन् । शनिबार राति कान्तिपुर टेलिभिजनको साप्ताहिक कार्यक्रम ‘फायर साइड’ लाई दिएको अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले बिगतमा सरकारको नेतृत्व आधाआधा गर्ने भएपनि अहिले त्यसलाई संशोधन गरेर पाँच वर्ष नै आफू प्रधानमन्त्री बन्ने समझदारी बनेको बताए । त्यसका लागि पार्टीमा बढी फोकस प्रचण्ड हुने गरी समझदारी गरेको ओलीको भनाइ थियो ।

‘अध्यक्ष कार्यकारी नै हुन्छ । दुबै कार्यकारी अध्यक्ष नै हो । यथार्थमा प्रथम म र द्धितीय उहाँ (प्रचण्ड) हुनुहुन्छ । विगतमा दुई अध्यक्ष भएपनि पार्टी बैठकको अध्यक्षता र सञ्चालन मैले नै गर्थेँ’, उनले भने, ‘अहिले म बढी सरकारको काममा लाग्नु परेको छ । पहिले पार्टी र सरकारमा बराबर गर्ने पनि भनिएको थियो । बीचमा प्रधानमन्त्री फेर्दा फेरि अस्थिरता हुने देखिएकाले नयाँ समझदारी भएको हो ।’

अहिलेको सन्दर्भमा स्थायित्व अति आवश्यक रहेको बताउँदै उनले अगाडि भने, ‘पाँच वर्षसम्म प्रधानमन्त्री नफर्ने निष्कर्षमा हामी पुग्यौँ । मैले प्रधानमन्त्रीको काममा केन्द्रीत हुने ठानेँ । सरकारको काम पनि मैले सल्लाह नै गरेर गर्छु । पार्टीको काम पनि प्रचण्डजीले मसँग सल्लाह गरेर गर्नुहुन्छ । सिनियारिटीको हिसावमा म सिनियर अध्यक्ष हो उहाँ अर्को अध्यक्ष हो ।’
‘मैले अध्यक्षता नगर्दा म कार्यकारी होइन भन्ने होइन । म पनि कार्यकारी हो उहाँ पनि कार्यकारी हो । पहिले मैलेमात्रै अध्यक्षता गर्थेँ, अब उहाँले पनि गर्नुहुन्छ । कहिलेकाहिँ मैले पनि गर्छु । उहाँले पनि गर्नुहुन्छ’, ओलीले भने ।

प्रतिक्रिया दिनुहोस