लोभ र डरमा काम गर्दिनँ : कृषिमन्त्री भुसाल

सफल खबर संवाददाता

विहीबार, ०५ मंसिर २०७६, १४ : १०
लोभ र डरमा काम गर्दिनँ : कृषिमन्त्री भुसाल

काठमाडौँ । नवनियुक्त कृषि तथा पशुपक्षी विकास मन्त्री घनश्याम भुसालले आफूले लोभ र डरमा काम नगर्ने बताएका छन् ।

बिहीबार मन्त्रालयमा पदभार ग्रहणपछि बोल्दै उनले यस्तो बताएका हुन् । मन्त्री भुसालले भने, ‘म लोभ र  डरमा काम गर्दिनँ । म सिक्दै बुझ्दै काम गर्छु । कृषि क्षेत्रमा आधुनिकीकरणको प्रयास गर्छु ।’
 
उनले कर्मचारीको सरुवा, बढुवालगायतका काममा हस्तक्षेपमा आफूलाई घृणा लाग्ने समेत बताए । ‘तपाईहरु तपाईको जिम्मेवारी पूरा गर्नुस्, म मेरो जिम्मेवारी पूरा गर्छु,’ उनले भने ‘सरुवा, बढुवामा राजनीतिक हस्तक्षेप गर्दिन, मलाई त्यो काम घृणा लाग्छ ।’

मन्त्री भुसालले आफूलाई मन पर्ने भएकाले कृषि मन्त्रालय राजेको बताए । ‘प्रधानमन्त्री केपी शर्मा ओलीले पनि मुलुकको सबैभन्दा प्राथमिकताप्राप्त मन्त्रालय हो तपाईले जिम्मेवारी लिइदिनुस् भन्नुभएको थियो’ उनले भने । मन्त्री भुसालले आफूले विगत लामो समयदेखि बुर्जुवा श्रमबाट माथि उठ्ने विषयमा वकालत गर्दै आएको र अहिले काम गर्ने अवसर आएको बताए ।

पदभार ग्रहण गर्ने दिन पहिलो निर्णयमा हस्ताक्षर गर्ने प्रचलन मन्त्री भुसालले तोडेका छन् ।  भुसालले निवर्तमान कृषिमन्त्री खनालसहित सबैको सुझावको आधारमा अघि बढ्ने पनि बताए । उनलाई मन्त्रालयमा बधाइ दिन निवर्तमान कृषिमन्त्री चक्रपाणि खनाल पनि पुगेका थिए ।
 
कृषि क्रान्तिबाटै मुलुकको आर्थिक कायापलट
हाल पुनर्गठनमा परेका मन्त्रीहरुमध्ये अलि बढी चर्चा, चासो र अपेक्षा गरिएका नेतामा गनिन्छन् घनश्याम भुसाल । भुसाल बौद्धिकता र तर्कका हिसाबले मात्रै होइन, योजना निर्माणमा पनि उत्तिकै दक्ष मानिन्छन् । नेकपाभित्र वरिष्ठ नेता माधवकुमार नेपाल नजिक मानिने भुसाल आफैमा सो पार्टीको एक वर्ग र समुहको नेतृत्व समेत गर्छन् ।

वर्तमान संसदीय राजनीतिका कारण समाजमा विकृति फैलिएको भन्दै यसलाई सुधार गर्नुपर्ने पक्षको वकालत गर्दै आएका नेता मध्येका एक भुसालले नेपालमा कृषि क्रान्तिबाटै मुलुकको आर्थिक अवस्थामा कायापलट गर्नुपर्ने तर्क अघि सार्दै आएका छन् । उनै भुसाललाई उनको त्यही योजना साकार पार्ने अवसर प्रधानमन्त्री केपी ओलीले प्रदान गरेका छन् ।

सत्ताबाहिर छँदा वर्तमान सरकारले अपनाएको कार्यशैलीको खरो ‘बौद्धिक आलोचक’को रुपमा देखापर्दै आएका भुसाल ‘पूँजीवादको घोडा चढेर समाजवादमा पुगिँदैन’ भन्ने विचार राख्ने गर्छन् । अहिले आफूले चर्को आलोचना गरेको सरकारकै हिस्सा बनेका भुसालले पूँजीवादको घोडालाई समाजवादको दिशातिर मोड्ने जटील र दुरुह चुतौतीलाई कसरी क्रियान्वयन गर्छन् रु त्यसैमा उनको सही राजनीतिक  संस्कार र क्षमता देखिने छ ।

 

प्रतिक्रिया दिनुहोस