समाजवादीलाई सत्ता साझेदार निल्नु न ओकल्नु

‘सरकारका बारेमा निर्णयको अधिकार उपेन्द्रजीमा छ, उहाँले के गर्नुहुन्छ अब त्यही हुन्छ’ : मन्त्री राई

सफल खबर संवाददाता

विहीबार, ०५ मंसिर २०७६, ०९ : २४
समाजवादीलाई सत्ता साझेदार निल्नु न ओकल्नु

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले सत्ता साक्षेदार दल समाजवादी पार्टीसँग सल्लाह नै नगरी मन्त्रीपरिषद् हेरफेर गरेपछि समाजवादी पार्टी नेकपासँग असन्तुष्ट बनेको छ । समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सम्हाल्दै आएको स्वास्थ्य मन्त्रालयको जिम्मेवारी  खोसेर मन्त्रिपरिषद् पूर्नगठनमा उनलाई कानुन मन्त्रालयको जिम्मेवारीमा सारिएको छ ।

उनको पार्टी सरकारमा सहभागी हुँदा संविधान संसोधन आवश्यकताका आधारमा गर्ने समझदारी गदै उपप्रधान र स्वास्थ्य मन्त्रालय सहित २ मन्त्री र १ राज्यमन्त्रीको जिम्मेवारी लिएको थियो । बुधबारको पूर्नगठनमा ओलीले समाजवादी पार्टी अध्यक्षको मन्त्रालयको जिम्मेवारी मात्र फेरेका छैनन, उनको पार्टीले यस अगाडी पाएको एउटा राज्यमन्त्री समेत खोसेर आफ्नै पार्टी नेतालाई नियुक्त गरेका छन् ।

आफुहरुसंगै कुनै सल्लाह नगरि केपी ओली सरकारले गरेको निर्णय प्रति समाजवादी पार्टीमा आक्रोश बढेको छ । सरकारमै सहभागी भएपनि केही समय अगाडी गरिएको प्रदेश प्रमुख नियुक्तिमा पनि प्रधानमन्त्री ओलीले समाजवादी पार्टीसँग कुनै परामर्श गरेका थिएनन् । पहिले पार्टीको सिफारिसमा रहेका प्रदेश प्रमुख समेत खोसिएको थियो । एकपछि अर्काे गदै नेकपाले समाजवादी पार्टीलाई सरकारमै समेत बेवास्ता गरेपछि उपेन्द्रलाई सरकारमा बसिरहने की छोडने भन्ने सकस परेको छ ।

समाजवादी पार्टीमा बावुराम भट्टराई सरकार छोडनुपर्ने पक्षमा छन् । तर उपेन्द्र सरकारमै टाँसिरहन चाहेका थिए । पछिल्लो, मन्त्रिपरिषद् हेरफेरको निर्णय पछि भने उपेन्द्र माथी पनि सरकार छोडनुपर्ने दबाव परेको छ । उपेन्द्रकै पार्टीबाट अहिले सरकारमा रहेका सहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले यस विषयमा अब पार्टी अध्यक्षले निर्णय लिने प्रतिक्रिया दिएका छन् । मन्त्री राईले सरकार बस्ने वा नबस्ने भन्ने विषयमा निर्णय गर्ने जिम्मेवारी पार्टीले यसअघि अध्यक्ष यादवलाई दिइसकेको भन्दै यादवले गर्ने निर्णय पार्टी निर्णय हुने बताए ।

‘पार्टीले यसअघि नै सरकारमा बस्ने वा नबस्ने भन्ने विषयमा निर्णय गर्ने अधिकार अध्यक्ष उपेन्द्र यादवलाई दिएको छ । उहाँले सरकारमा सहभागी भईरहने हो भने के आधारमा सहभागी हुने वा नहुने हो भने के आधारमा नहुने भन्ने निर्णय निर्णय गर्नु हुने छ,’ राईले भने । मन्त्रिपरिषद् पूर्नगनठका बेला उनी पनि काठमाडौंमा थिएनन ।

यादव भने दिल्लीमा छन् । उनले भने, ‘म गृह जिल्ला (बाँके) मा छु र अध्यक्ष यादव कार्यक्रममा सहभागी हुन दिल्ली रहनु भएकोले मेरो सम्पर्क हुन सकेको छैन । काठमाडौंमा प्रधानमन्त्रीले मन्त्रिपरिषद् पूर्नगठन गर्नुभएको छ । अब सरकारमा रह्ने वा नरहने भन्ने कुरा उपेन्द्र जी आएपछि उहाँले के निर्णय लिनुहुन्छ त्यही हुन्छ ।’ मन्त्री राईले सफल खबरसँगको टेलिफोन सम्वादमा भने ।मन्त्रिपरिषद् पुनर्गठन हुँदा यादवले सम्हाल्दै आएको स्वास्थ्य मन्त्रालयमा नेकपाका नेता भानुभक्त ढकाललाई ल्याइएको छ भने यादवलाई कम आकर्षक मानिने काननु, न्याय तथा संसदीय व्यवस्था मन्त्रीको जिम्मेवारी दिईएको छ ।

सरकारमा सहभागी हँुदा संविधान संसोधनको मुद्दामा सहमती गरेर सहभागी भएपनि केही गर्न नसकेको भन्दै पार्टीभित्र यादवको आलोचना बढिरहेको छ । तर यही बेला, प्रधानमन्त्री ओलीले यादवलाई कानुन मन्त्रालयको जिम्मेवारी दिएका कारण् सरकार निल्नु न ओकल्नु बनेको छ ।

प्रतिक्रिया दिनुहोस