बाँदरझुलाको बाटोको सम्झना

मंगलबार, ०३ मंसिर २०७६, ११ : ४८
बाँदरझुलाको बाटोको सम्झना

– मोहन स्याङतान
दैनिकजसोको हात्ती, गैंडा लगायत जङ्गली जनावरको आतंकका बाबजुद चितवन राष्ट्रिय निकुञ्जभित्रको बाटो हुँदै हामी ठोरी, माडी र भरतपुरसम्मको यात्रा गर्छौं। मृत्युको जोखिम मोल्दै जान मन नहुँदा नहुँदै पनि अत्यावश्यक कामले मोटरसाइकल, साइकल वा पैदल यात्रा गरी जङ्गल वारपार गर्नैपर्ने बाध्यता रहन्छ हामीलाई ।
हाम्रो यात्रामा चितवन राष्ट्रिय निकुञ्जको बिच बाटोमा हात्ती, गैंडा र कहिलेकाहिँ बाघसँग समेत जम्काभेट हुँदाको दिन लाग्दथ्यो, सायद यो दिन नै जीवनको अन्तिम दिन हो। यतिसम्म कि हामी कोही अपर्झट बिरामी पर्दा यही बाटो प्रयोग गर्नुपर्ने हुन्छ, कतिखेर कहाँ हात्ती, गैंडा, बाघ, भालु लगायत जंगली जनावरसँग जम्काभेट हुन्छ। त्यसपछि सबै भगवानमाथिकै भरोसा ।
सामाजिक सञ्जालमा भाइरल भएको केही दिनअघि हात्ती र बसमा सवार यात्रुहरुको भिडियो हेर्दा मुटु सिरिङ्ग भयो। भिडियोमा काठमाडौंबाट ठोरीतर्फ जाँदै गरेको यात्रुबाहक बसलाई हात्तीले बाटो छेकेको देखिन्छ। भिडियोमा हेर्दा हात्ती ‘आक्रमण गरौं या नगरौं’को दोधारका बीच घरी अघि घरी पछि हटेको देखिन्छ। साँच्चै त्यो उन्मत्त हात्तीले आक्रमण गरिहालेको भए ठूलै अनिष्ट हुने निश्चित थियो, धन्न केही भएन। तर, बिडम्बना त्यसपछिको समयमा सोही बाटो हुँदै मोटरसाइकलमा यात्रा गर्ने क्रममा जंगली हात्तीको आक्रमणबाट बाबुछोराले अनाहकमा ज्यान गुमाउनु पर्यो ।
यतिबेला मलाई बगहीँ, प्याउली, कुसुमखोला हुँदै बाँदरझुलाको बाटोको सम्झना आयो। त्यतिबेला ३ लाख बिनियोजित रकमबाट कुटो कोदालो गरी सररर मोटरसाइकलमा हिँडेकै हो। अहिले माडी नगरपालिकाका नगरप्रमुख ठाकुरप्रसाद ढकाल हुनुहुन्छ। उहाँ आफै पनि त्यो बाटोमा हिँड्नुभएकै हो। मानवबस्तीकै बीचबाट न कुनै रोकतोक, न कुनै डर अझै भन्नुपर्दा दुरीको हिसाबले पनि छोटो दुरीबाट माडी ठोरीको यात्रा तय गर्न सकिने बाटो हो त्यो ।
अहिले ३ लाखले बाटो नबन्ला। तर, रकम केही थप्न सकिन्छ। तत्काल रकम बिनियोजन गरेर उक्त बाटो पुनःसञ्चालन गर्न सकिन्छ। विकासका दृष्टिले र बाँदरझुलाबासीको मनोभावना मात्र नभई हात्तीको मुखमा आफैं होमिनुपर्ने बाध्यताबाट मुक्त हुन उक्त बाटो अति उत्तम छ। माडीको विकट क्षेत्र माडी बाँदरझुलालाई माडीसँग निकट बनाउने उक्त बाटो चुनावी नारा र प्रतिवद्धता पनि हो ।
गएको चुनावमा सोही नारा लिएर कुसुमखोला र बाँदरझुलाका जनताको अमूल्य भोट पाएका जनप्रतिनिधिहरु अहिले हुनुहुन्छ। उहाँहरुको पहलकदमीबाट बगहीँबाट कुसुमखोला हुँदै बाँदरझुला पुग्ने बाटो निर्माण सम्भव छ। तत्काल यसबारेमा पहलकदमी होस्। जनताको जीउधनको सुरक्षा गर्ने जिम्मेवारीका विषयमा सम्बन्धित निकायको ध्यान पुगोस् ।

प्रतिक्रिया दिनुहोस