हाइड्रोपोनिक प्रविधिबाट माटोविना तरकारी खेती, लागत कम, तीन गुणा बढी उत्पादन

उर्गेन तामाङ

आइतबार, २४ कार्तिक २०७६, १३ : २७
हाइड्रोपोनिक प्रविधिबाट माटोविना तरकारी खेती, लागत कम, तीन गुणा बढी उत्पादन

– उर्गेन तामाङ
चितवन । हामीले खाने विभिन्न प्रकारका तरकारी सामान्यतय माटोमै उत्पादन हुनेगर्छ । माटोविना उत्पादन भएको तरकारी चाख्ने अवसर हामीमध्ये सायदैले पाएका होलान । तर अब भने नेपालमा पनि माटोविना तरकारी फलाउने नयाँ प्रवीधि भित्रिएको छ । 

रुपन्देहिमा माटोविना तरकारी खेती व्यवसायीक रुपमै गर्न थालिएको छ । रुपन्देहिको तिलोत्तमा नगरपालिका ३ विस्नुपुरामा ३ परिवार मिलेर हाइड्रोपोनिक प्रविधिबाट माटोरहित तरकारी उत्पादन सुरु गरेका छन । पीताम्बर आचार्य, इश्वर पौडेल र पुस्पा आचार्यले संयुक्त रुपमा माटोरहित तरकारी उत्पादन सुरु गरेका हुन । 

अर्घाखाँचीका इश्वर पौडेलले वैदेशिक रोजगारीका क्रममा ओमानमा रहँदा इजरायली प्रविधि हाइड्रोपोनिक प्रविधिलाइ नजिकबाट नियालेका थिए । करिव १० वर्ष होटलमा काम गरेर नेपाल फर्किएका पौडेलले आफन्तसँग मिलेर आधुनिक प्रविधिबाट तरकारी खेती सुरु गर्ने योजना बनाए । उनीहरुले २०७४ साल कार्तिक २० गत्ते लुम्बिनी हाइड्रोपोनिक फार्म दर्ता गरी व्यवसायीक रुपमा सुरु गरेका हुन । 

लागत कम, माटोमाभन्दा ३ गुणा बढी उत्पादन

१० वर्षे योजनाका साथ जग्गा लिजमा लिएर सुरु गरीएको यो व्यवसायमा उनिहरुले डेढ करोड लगानी गरेका छन । ‘प्लास्टिकका टनेल’ ४ वटा ग्रीन हाउस र २ वटा नेट हाउस बनाएर साना जरा भएका टमाटर, साग, क्याप्सीकम, लसुन, धनिया, करेला लगायतका विभिन्न किसीमका १२ आइटमका तरकारी लगाईएको सञ्चालक इश्वरले बताए । 

२०७५ साल पौषमा पहिलो चरणको उत्पादन स्वरुप टमाटर बजारसम्म पु¥याइसकेका उनीहरु अहिले थप हौसीएका छन । यसअघि परिक्षणका रुपमा उत्पादन गरिएको टमाटर एउटै बोटमा १५ केजिसम्म फलेको पीताम्बरले सुनाए । 

उनीहरुका अनुसार माटोमा उत्पादन हुने तरकारीभन्दा यो प्रविधिबाट उत्पादन भएको तरकारीको मूल्य १० देखि १५ प्रतिशत बढी पर्ने गरेको छ । होइड्रोपोनिक प्रविधिबाट माटोको तुलनामा ३ गुणासम्म बढी उत्पादन हुने हुनेगर्छ । यस प्रविधिबाट उत्पादन हुने तरकारी तथा फलफुल सबै अर्गानिक हुनेहुँदा पनि केही महंगो पर्ने गरेको सञ्चालकको भनाइ छ । 

फार्ममा अहिले टमाटर लटरम्म फलेको देख्न पाइन्छ भने साग, कांक्रो, करेला लगायतका तरकारी हुर्किरहेका छन । हाउसभित्र किरा नलाग्ने तथा वेमौसमि तरकारी उत्पादन गर्न धेरै सहज हुने र मूल्य पनि राम्रो पाइने सञ्चालकको भनाइ छ । यो प्रविधिबाट खेती गर्दा जनशक्ति कम लाग्नुका साथै कम लागतमै बढी उत्पादन हुनेगर्छ । 

माटोविना यसरी फलाइन्छ 

बिरुवालाई चाहिने खाद्य तत्व पानीमा मिलाएर विद्युतीय प्रणालीबाट माटोविना तरकारी उत्पादन गर्ने प्रविधिलाई हाइड्रोपोनिक खेती प्रणाली भनिन्छ । ‘स्वाइललेस’ होइड्रोपोनिक प्रविधिबाट तरकारी उत्पादन सुरु गर्ने यो नेपालकै पहिलो व्यवसायीक फार्म भएको सञ्चालकको दावी छ । 


यो प्रविधिमा माटोको स्थानमा कोकोपीट ‘नरिवालको जट्टा’ राखिन्छ । विरुवालाई आवश्यक पर्ने खाद्य तत्वहरु एनपीके मिसाइएको पानिलाई जरासम्म पुग्नेगरी सिस्टम जडान गरिएको हुन्छ । कोकोपीट भारतबाट ल्याउने गरिन्छ । 

हाउसभित्र अटोमेटिक सिस्टम पनि जडान गरिएको छ । बढी तापक्रम भएमा हाउसभित्र राखिएको सेन्सरले पंखा घुम्ने, तातो हावा बाहिर फाल्ने र बन्द हुँदा तापक्रम सन्तुलन हुन मदत पुग्छ ।  

बजारको सुनिश्चित्ता

यो प्रविधिबाट उत्पादन हुने तरकारीको बजारको समस्या नरहेको सञ्चालक पिताम्बर आचार्यले बताए । उत्पादन अर्गानिक हुने हुँदा पनि बजारमा यसको माग रहेको छ । यस्तै बेमौसमि उत्पादन हुने भएकाले माटोमा उत्पादन हुने अन्य तरकारीसँग खासै प्रतिस्पर्धा पनि नहुने उनको भनाइ छ । दिर्घकालीन योजनाका साथ लगानी गरेकोे यो व्यवसायबाट ४ वर्षपछि मात्रै मुनाफा लिने सञ्चालकहरुको सोच रहेको छ ।

पछिल्लो समय यो प्रविधिप्रति अन्य किसानहरुले पनि चासो दिईरहेका छन । नयाँ प्रविधिको नेपालमा परिक्षणकाल जस्तै भएकाले विस्तारै यसको लोकप्रीयता बढ्ने आचार्यको विश्वास छ । 

ग्रिन हाउस निर्माणका लागि कृषि ज्ञान केन्द्रले २० लाख र तिलोत्तमा नगरपालिकाले २ लाख ५० हजार रुपैयाँ अनुदान दिएको आचार्यले बताए । कृ्षि पेसालाई नेपालमा हेलाको दृष्टिकोणले हेर्ने गरिएको भन्दै यसलाई चिर्न नयाँ प्रविधिको प्रयोग आवश्यक छ । आधुनिक प्रविधिबाट खेती गर्नसके र सरकारको विशेष प्राथमिकतामा परे युवाहरु आकर्षित हुने र सिंगो मुलुक तरकारी लगायत खाद्यवस्तुमा आत्मनिर्भर हुने आचार्यको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस