सरकार संविधानको मर्म अनुसार नै अगाडि बढिरहेको छ : सांसद पोख्रेल

हिरालाल आचार्य ‘डायमण्ड’

सोमबार, १८ कार्तिक २०७६, १३ : ४४
सरकार संविधानको मर्म अनुसार नै अगाडि बढिरहेको छ : सांसद पोख्रेल

चितवन । प्रतिनिधि सभा सदस्य एवम् कानुन, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोख्रेलले सरकार संविधानको मर्म अनुसार नै अगाडि बढिरहेको बताउनु भएको छ । 

नेपाल पत्रकार महासंघ चितवन शाखाको सभाहल भरतपुरमा सोमबार आयोजित सांसदसँग संवाद कार्यक्रममा बोल्दै सत्तारुढ नेकपाका नेता पोखरेलले यस्तो बताउनु भएको हो । उहाँले संविधानमा भएको व्यवस्थामै टेकेर सरकारले प्रदेश प्रमुखहरुलाई पदमुक्त गरेको बताउनु भयो । 
सांसद पोख्रेलले कानुन निर्माणको काम पनि तीव्र गतिमा भइरहेको बताउनु भएको छ । उहाँले जनताबाट निर्वाचित जनप्रतिनिधि जनताको शासक हुन नसक्ने बताउनु भयो ।

सांसद पोख्रेलले संविधानलाई ९० प्रतिशत जनताले स्वीकार गरिसकेको दाबी गर्नुभयो । महिलाहरुलाई यो संविधानले विश्वमै कतै नदिएको अधिकार प्रदान गरेको उहाँको भनाइ छ ।
सांसद पोख्रेलले अब समृद्धिको लागि सबै दल मिल्नुको विकल्प नभएको बताउनु भयो । सबै दलहरु मिलेका कारण नै आज यो परिवर्तन र संविधान निर्माण गर्न सकिएको भन्दै उहाँले अब आर्थिक विकास र समृद्धिको लागि सत्तापक्ष र प्रतिपक्ष दुवैको सहकार्य आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।

नेपाल पत्रकार महासंघ चितवन शाखाले चितवनबाट निर्वाचित सांसदहरुसँग अन्तरक्रिया र छलफल गर्न पहिलोपटक सांसदसँग संवाद कार्यक्रम आयोजना गरिएको शाखा अध्यक्ष राधेश्याम खतिवडाले जानकारी दिनुभयो । सांसदसँग संवाद कार्यक्रमलाई नियमित गरिने उहाँको भनाइ छ । यसले सांसदहरुले गरेका काम आमजनतामा पुर्‍याउन मद्दत पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस