नयाँदिल्लीमा अत्याधिक प्रदुषण, धुलोका कणहरु नेपाल भित्रिन सक्ने

एजेन्सी

शनिबार, १६ कार्तिक २०७६, १६ : ०४
नयाँदिल्लीमा अत्याधिक प्रदुषण, धुलोका कणहरु नेपाल भित्रिन सक्ने

नयाँदिल्ली । भारतको नयाँदिल्लीमा प्रदुषणको मात्रा अत्याधिक भएको छ । सरकारले प्रदूषणबाट सर्वसाधारणलाई जोगाउन निःशुल्क लाखौँ मास्क वितरण गरेको छ ।

धुलोका कणहरु नेपाल भित्रिन सक्ने आंकलनसमेत गरिएको छ । प्रदुषण अत्याधिक बढेसँगै दिल्ली सरकारले पब्लिक हेल्थ इमरजेन्सी घोषणा गरेको छ । बीबीसीका अनुसार भारतको राजधानी नयाँ दिल्लीमा ५० लाख मास्क वितरण गरिए छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार वायुमा मसिना धूलोका कण पीएमको मात्रा प्रति घनमिटर २.५ हुनुपर्ने तोके पनि नयाँ दिल्लीमा अहिले ५३३ माइक्रोग्राम भएको जनाइएको छ ।

त्यस्तै विश्व स्वास्थ्य संगठनले यस्ता कणको मात्रा २४ घण्टामा सरदर २५ पीएम माथि हुन नहुने तोकेको छ । सो हेर्दा नयाँ दिल्लीको प्रदूषणको मात्र अत्याधिक हो ।

नयाँ दिल्लीको वायुप्रदूषणको मात्र निकै गम्भीर अवस्थामा पुगेपछि भारतीय सर्वोच्च अदालतले नयाँ दिल्ली र दुई छिमेकी राज्यमा प्रदूषण बढाउने खालका धेरै गतिविधिमा प्रतिबन्ध लगाएको छ ।

हालै उच्च अदालतले सबै खाले निर्माण कार्यलाई एक हप्तासम्म रोक्न र आगोसम्बन्धी कुनै पनि गतिविधिमा रोक लगाएको छ । त्यसैगरी शहरी क्षेत्रका विद्यालयहरूलाई अर्को मंगलबारसम्म बन्द गरिएको छ ।

नयाँ दिल्ली आसपासबाट प्रदूषण सहितको कुहिरो नेपालतर्फ बढ्दै गरेको तस्बिर सार्वजनिक गरेको छ ।

यस्तै भारतबाट प्रदूषित धूलोका कणहरू नेपाल आउन सक्ने भए पनि त्यसले जनस्वास्थ्यमा कतिको असर गर्छ भन्ने बारे अध्ययन नभएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

दिल्लीमा अत्याधिक वायु प्रदूषण बढेपछि सर्वौच्च अदालतले पन्जाब, राजस्थान, हरियाणा र दिल्लीसरकारसँग यस विषयमा जवाफ मागेको छ । दिल्लीको प्रदुषणले चारै राज्य सरकारलाई चुनौती थपिएको र उनीहरुले अगामी नोभेम्बर १९ सम्ममा अदालतमा जवाफ नबुभए कारबाही अघि बढ्ने भारतीय सन्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

केन्द्रिय प्रदूषण नियन्त्रण बोर्डले दिल्लीको हावाको गुणस्तर अत्याधिक खतरनाक भएको र 'ग्रेडेड रेपोन्स एक्शन प्लान' सुरु गरिएको जानकारी दिएको छ ।

प्रदूषणको असरले कैयौं सार्वजनिक कार्यक्रम प्रभावित भएको बताइएको छ । त्यस्तै, प्रदूषित धुवाँका कारण हवाइ उडानसमेत प्रभावित भएको दिल्ली एअरपोर्टले बताएको छ ।

प्रतिक्रिया दिनुहोस