मालीको सैन्य कार्यालयमा आक्रमण : ५३ सैनिकको मृत्यु

एजेन्सी

शनिबार, १६ कार्तिक २०७६, १५ : १५
मालीको सैन्य कार्यालयमा आक्रमण : ५३ सैनिकको मृत्यु

बामाको । मालीको एउटा सैनिक कार्यालयमा शुक्रबार भएको आक्रमणमा परी ५३ जना सैनिकको मृत्यु भएको छ । 
देशको उत्तरपूर्वी क्षेत्रमा भएको यस आक्रमणलाई सरकारी अधिकारीहरुले आतङ्कवादी हमला भनेका छन् । इस्लामिक लडाकूहरुले गराएको हिंसा मध्ये यो पछिल्ला हिंसाहरु मध्येको ठूलो भएको पनि अधिकारीहरुको भनाई छ । आक्रमणमा परी एक जना सर्वसाधारणको पनि मृत्यु भएको जनाइएको छ ।

नाइजरसँगको सिमानामा पर्ने मेनका क्षेत्रको इन्डेलिमानमा रहेको सैनिक कार्यालयमा आक्रमण भएको देशका सञ्चार मन्त्री याया सान्गारेले सामाजिक सञ्जाल ट्वीटरमार्फत् जानकारी दिनुभएको छ । 
“अहिले अवस्था नियन्त्रणमै छ, शव संकलन गरेर पहिचान गर्ने काम भइरहेको छ,” उहाँले लेख्नुभएको छ । आक्रमण र क्षतिको  पूर्ण विवरण भने आइनसकेको उहाँले बताउनुभयो ।  

घटनाका बारेमा अहिलेसम्म कसैले पनि जिम्मेवारी नलिएको अधिकारीहरुले जनाएका छन् । त्यस क्षेत्रमा अल कायदाआबद्ध जिहादीहरुको प्रभाव बढी रहेको मानिन्छ ।
फ्रान्स नेतृत्वको सैन्य अभियानले जिहादीविरुद्ध सुरक्षा कारबाही चलाएको थियो । तर हिंसा अन्त्य भने हुन सकेको छैन । (रासस/एएफपी)

प्रतिक्रिया दिनुहोस