प्रदेश ४

प्रदेश नं ४ : बैठक सञ्चालनका लागि सदस्य अनुमोदन, सभामुख र उपसभामुखको निर्वाचन फागुन ३ गते

सोमबार, २२ माघ २०७४, १५ : ०३
प्रदेश नं ४ : बैठक सञ्चालनका लागि सदस्य अनुमोदन, सभामुख र उपसभामुखको निर्वाचन फागुन ३ गते

पोखरा । पोखरामा सम्पन्न प्रदेश नं ४ प्रदेशसभाको पहिलो बैठकले सभामुख र उपसभामुखको अनुपस्थितिमा बैठक सञ्चालन गर्न पाँचजना सदस्यको नाम अनुमोदन गरेको छ ।

बैठकमा ज्येष्ठ सदस्य जनकलाल श्रेष्ठले राख्नुभएको त्यससम्बन्धी प्रस्तावलाई बैठकले सर्वसम्मतिले अनुमोदन गरेको हो ।
उहाँहरूमा गायत्री गुरुङ, टेकबहादुर घर्ती मगर, धनमाया पोखरेल लामा, मनकुमारी गुरुङ र मित्रकुमारी सुवेदी गुरुङ रहनुभएको छ ।

प्रदेशसभा सञ्चालन आन्तरिक कार्यविधिअनुसार सभामुखको निर्वाचनका लागि आगामी फागुन ३ गते बिहीबार दिउँसो १ः०० बजेको समय तोकिएको ज्येष्ठ सदस्य श्रेष्ठले बैठकलाई जानकारी दिनुभयो ।

उक्त निर्वाचनका लागि प्रदेशसभाका सचिव जीवराज बुढाथोकीलाई आजै उक्त कार्यक्रमसम्बन्धी सूचना प्रकाशित गर्न उहाँले निर्देशन दिनुभयो ।

एक घण्टा ४३ मिनेट चलेको उक्त बैठकमा पृथ्वी सुब्बा गुरुङ, कृष्णचन्द्र नेपाली, हरिबहादुर चुमान, कृष्ण थापा, हरिशरण आचार्य, किरण गुरुङ, दोबाटे विश्वकर्मा, नेत्रनाथ अधिकारी, सिर्जना शर्मा, ललितकला गुरुङ र गायत्री गुरुङले दलगत रुपमा बैठकलाई सम्बोधन गर्नुभएको थियो । प्रदेशसभाको अर्को बैठक फागुन ३ गते बिहीबार दिउँसो १ः०० बजे बस्नेछ ।(रासस)

प्रतिक्रिया दिनुहोस