प्रदेश १ र ४ मा आज पहिलो प्रदेश सभा बैठक बस्दै

सोमबार, २२ माघ २०७४, ०९ : ४६
प्रदेश १ र ४ मा  आज पहिलो प्रदेश सभा बैठक बस्दै

प्रदेश १ र ४ को पहिलो  ऐतिहासिक प्रदेशसभा बैठक आज बस्दैछ ।  बैठक प्रदेश  १ को विराटनगर र प्रदेश ४ को पोखरामा बस्नेछ । दुवै प्रदेशको  बैठक अहिले बिहान ११ बजेबाट सुरु हुनेछ ।

७ प्रदेशमध्ये ५ वटाको पहिलो बैठक यसअघि नै सम्पन्न भइसकेको छ । प्रदेश ३ को पहिलो बैठक माघ १८ मा भएको हो भने २, ५, ६ र ७ को आइतबार बसेको छ ।
प्रदेशसभाको पहिलो बैठक बस्ने भएपछि विराटनगर र पोखराको बैठक स्थल वरपर चहल पहल बढेको छ ।

प्रदेश १
प्रदेश १ को विराटनगरमा बस्ने बैठकको सबै तयारी पूरा भएको बताइएको छ । यो प्रदेशको पहिलो बैठकको अध्यक्षता जेष्ठ सदस्य ओमप्रकाश सरावगीले गर्दैछन् । सभामुख छनोट नहुँदासम्म जेष्ठ सदस्यले अध्यक्षता गर्ने प्रावधानअनुसार सरावगीले बैठक सञ्चालन गर्न लागेका हुन् ।

आजैको बैठकले सभामुख निर्वाचनको कार्यतालिका सार्वजनिक गर्ने बताइएको छ । यद्यपि, प्रदेश १ मा सभाुमखको निर्वाचन माघ २९ मा गर्न दलहरु यसअघि नै सहमत भइसकेका छन् ।

प्रदेश  ४
पर्यटकीय नगरी पोखरामा प्रदेश नं ४ को ऐतिहासिक प्रथम प्रदेशसभा बैठक आज बस्दैछ । प्रदेशसभाका ज्येष्ठ सदस्य जनकलाल श्रेष्ठले अध्यक्षता गर्नुहुने सो बैठकमा संसदीय परम्पराअनुसार शुरुमा प्रदेश प्रमुखले संसद् बैठक आह्वान गरेको सूचना पढिनेछ ।

त्यस्तै आजको बैठकले आन्तरिक कार्यविधि पारित गर्ने, सभामुखको अनुपस्थितिमा अध्यक्षता गर्ने व्यक्तिको अध्यक्षमण्डल चयन गर्ने कार्यक्रम रहेको संसद् सचिवालयका सहसचिव जीवराज बुढाथोकीले जानकारी दिनुभयो ।

आजको बैठकमा प्रत्येक ठूला दलबाट तीन/तीनजना (कम्तीमा एकजना महिलासहित) र साना दलबाट एक/एकजना गरी ११ जनाले मन्तव्य दिने कार्यक्रम रहेको छ । बैठक करिब एक घण्टा १५ मिनेट हुने अनुमान गरिएको संसद् सचिवालयका सहसचिव बुढाथोकीले बताउनुभयो । यो प्रदेशमा ११ जिल्लाबाट ३६ प्रत्यक्ष र २४ जना समानुपातिक निर्वाचन प्रणालीबाट चुनिएका ६० जना सांसद हुनुहुन्छ । जसमध्ये नेकपा (एमाले)का २७, नेपाली काँग्रेसका १५, नेकपा (माओवादी केन्द्र)का १२, जनमोर्चाका तीन, नयाँ शक्तिका दुई र स्वतन्त्र एकजना सांसद हुनुहुन्छ ।
प्रदेशसभाका ६० जना सदस्यमध्ये मनाङ १ (ख)बाट निर्वाचित राजीव गुरुङले भने हालसम्म शपथ लिनुभएको छैन ।

प्रदेशको बैठकलाई लक्षित गर्दै सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रदेशसभाको सुरक्षाका लागि प्रहरी निरीक्षक लीलाराज लामिछानेको नेतृत्वमा चारजना महिलासहित १६ जना मर्यादापालक खटाइएको छ । प्रदेशसभाको बैठकलाई सुव्यवस्थित गर्न आवश्यक जनशक्ति, पूर्वाधार, प्रविधि र सुरक्षाको पूर्ण तयारी भइसकेको संघीय संसद् सचिवालयबाट अनुगमनका लागि आउनुभएका प्रवक्ता भरतराज गौतमले जानकारी दिनुभयो । संघीय व्यवस्थाअनुरुप प्रदेश नं ४ को पोखरामा हुन लागेको आजको प्रथम बैठकलाई निकै चासोका साथ हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस