हराउने छैन यसपालि पनि बिजुली बत्तीको झिलिमिली

सफल खबर संवाददाता

सोमबार, ०४ कार्तिक २०७६, १६ : ०२
हराउने छैन यसपालि पनि बिजुली बत्तीको झिलिमिली

काठमाडौं । फूल र उज्यालोको पर्व तिहारमा यसपालि पनि बिजुली बत्तीको झिलिमिली कायमै रहने भएको छ । नेपाल विद्युत प्राधिकरणले तिहारको बेला जतिसुकै बत्ती बाले पनि लोडसेडिङ नहुने गरी विद्युतको प्रबन्ध गरेपछि तिहारको झिलिमिली नहराउने भएको हो ।
तिहारलाई विद्युत खपत र लोडका हिसाबले विद्युत व्यवस्थापनको मुख्य चुनौतीको समय मानिन्छ । तिहारको समय विद्युत खपतको दर झण्डै ८० प्रतिशतले बढ्ने गर्छ । लक्ष्मी पूजाको दिन देशैभर करिब १३ सय मेगावाटसम्म विद्युत खपत हुन सक्ने नेपाल विद्युत प्राधिकरणको अनुमान छ ।
अहिले प्राधिकरणसँग उपलब्ध ९ सयदेखि एक हजार मेगावाटले नधान्ने अवस्था आए दुई सयदेखि तीन सय मेगावाट विद्युत भारतबाट आपूर्ति गर्ने तयारी भएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत९सिईओ० कुलमान घिसिङले बताए ।  तिहारका बेला देशमा कलकारखाना तथा उद्योगधन्दाहरु बन्द हुने हुँदा विद्युत खपतसमेत कम हुने भएकोले विद्युत वितरणमा समस्या नआउने घिसिङको भनाइ छ ।
‘तिहारमा बत्ती धेरै खपत हुन्छ । लोड धेरै पर्छ र विद्युत वितरणमा समस्या आउँछ भनेर नेपालीले चिन्ता नलिए हुन्छ । विद्युत प्राधिकरण जिम्मेवार छ । हामीले त्यसको व्यवस्थापन गरेका छौं,’ सिईओ घिसिङले भने, ‘तिहारमा अधिकतम १२ सय देखि १३ सय मेगावाटसम्म विद्युत खपत हुनसक्ने प्राधिकरणको अनुमान छ । सरदर हजार मेगावाटसम्म खपत हुने हो, त्यो हाम्रै उत्पादनले धान्न सक्छ । यदि त्योभन्दा माथि गए बाहिरबाट विद्युत आपूर्तिको व्यवस्था गरेका छौं ।’
तिहारका बेला सहज विद्युत वितरणका लागि व्यवस्थापनमा आफू स्वयम् खट्ने उनको योजना छ । घिसिङ तिहारकै बेला काठमाडौँलाई लोडसेडिङ्गमुक्त बनाएर चर्चामा आएका थिए । उनले २०७४ सालको तिहारमा काठमाडौँ उपत्यकालाई लोडसेडिङ्गमुक्त घोषणा गरेका थिए । पछि घिसिङले देशका अन्य मुख्य सहरलाई समेत लोडसेडिङ्गमुक्त बनाउँदै देशलाई नै लोडसेडिङ्गमुक्त बनाउने महाअभियानमा लागेका थिए । अहिले पुरै देश लोडसेडिङ्गमुक्त बनेको छ ।

प्रतिक्रिया दिनुहोस