मलेसियाबाट फर्केर घाँसखेतीमा जमेका विष्णु भट्ट

सफल खबर संवाददाता

आइतबार, ०३ कार्तिक २०७६, १० : १०
मलेसियाबाट फर्केर घाँसखेतीमा जमेका विष्णु भट्ट

नवलपुर । घाँस काटौँ खुर्केर, आयो जोवन हुर्केर... वास्तवमा यो गीत गैंडाकोटमा व्यवसायिक रुपमा घाँसखेतीमा जमेका विष्णु भट्टको जीवनसँग ठ्याक्क मिल्छ । चार वर्ष मलेसियामा पसिना बगाएर फर्केका गैंडाकोट नगरपालिका वडा नं १२ का युवा विष्णु भट्ट यतिबेला घाँसखेतीमा जमिरहेका छन् । 

उनले घाँसखेती सँगसँगै बाख्रापालन समेत गरेका छन् । अहिले उनको बाख्रा फर्ममा ६० वटा बाख्रा हुर्किरहेका छन् । गैंडाकोट नगरपालिका वडा नं १२ मा भेडाबारी र हर्कपुर क्षेत्रमा आठ बिघामा उनले घाँसखेती गरिरहेका छन् । 

‘मैले विदेशको माटोमा चार वर्ष पसिना बगाएँ, अब स्वदेशको माटोमा पसिना बगाउने सोच पलाएको छ’ युवा किसान विष्णु भट्टले भने । उनले घाँसखेती गरेको धेरै समय भएको छैन, एक वर्षमात्र भएको छ । ५० लाख लगानी गरिरहेका छन् ।  उनी भन्छन्, ‘३० लाखको कारोबार भइसकेको छ, दस वर्षसम्म घाँसखेतीले आम्दानी दिइरहन्छ ।’

उनले काभ्रेका किसानबाट घाँसको बीउ ल्याएका हुन् । उनले स्थानीय क्षेत्रमा घाँससमेत विक्री गरिरहेका छन् भने घाँसको बीउ नेपालभरका किसानहरुले किनिरहेका छन् । 

घाँसखेतीमै किन ?
मलेसियाबाट फर्केपछि उनी केहीसमय घरमै बसे । के गर्ने र कसो गर्ने भनेर उनको मनमा हुटहुटि चल्यो । गाउँघरमा बसेर पशुपालन गरेका किसानहरुले दूध बेचेको सबै पैसा दानाचोकरमा गइरहेको उनले पत्ता लगाए ।

‘दूध बेचेर जति पैसा आउथ्यो त्यो सबै दानाचोकरमा किसानले पैसा बगाएका हुन्थे । खासै किसानहरुले दूध बेचेर पैसा कमाएका थिएनन्’ उनी भन्छन्, ‘पशुपालन गर्ने किसानहरु घाँसखेतीमा लाग्न जरुरी छ, गाईभैँसीलाई घाँस खुवाए दानाचोकरमा जाने रकम धेरै जोगाउन सकिन्छ ।’

उनले सयौँ किसान दाजुभाईलाई घाँसखेतीसहितको पशुपालनमा लाग्न जोड दिँदै आफू घाँसखेतीमा लागेको बताउँछन् ।  किसान भट्टले ‘सुपर नेपियर’ जातको उन्नत घांँसखेती गरिरहेका छन्  । उनले श्री स्वस्थानी घाँस श्रोत केन्द्र र बाख्रा फार्म सुरु गरेका छन् ।

उनले जग्गा भाडामा लिएर सुपर नेपियर सहित २३ जातको घांँस खेती लगाएका छन् । देशमा बढ्दो आयात भएको दाना र खाद्यान्नलाई प्रतिस्थापन गर्ने उद्देश्यले घाँसखेती शुरु गरेको भट्टले बताए ।

‘पशुपालन गर्न एक त चोकरदानाको मूल्य दिनानुदिन बढ्दै गएको छ, अर्कोतिर विदेश पैसा गइरहेको छ’ उनले भने, ‘दानाचोकरको विकल्पको रुपमा घाँस खेती गर्न आवश्यक देखेर मैले घाँसखेती गरेको हुँ ।’ उनका अनुसार सुपर नेपियर घाँसबाट पशुको लागि सम्पुर्ण पौष्टिक तत्व पाइने र दुध एवं मासुको उत्पादन तुलनात्मक रुपमा बढी हुन्छ ।  

केन्द्रले कृषकहरुको माग अनुसार बेर्ना र घाँस उत्पादन गर्दै आएको छ । कम लगानीमा उच्च प्रतिफल दिने र उत्पादन बढाउनका लागि कृषकहरुको माग बढ्दै गएको उनको भनाइ छ । जुनसुकै हावापानी र माटोमा हुर्कने सक्ने यो घाँस सीमित जग्गामा बढी उत्पादन दिन्छ। उनका अनुसार जुनसुकै भौगोलिक क्षेत्र र हावापानीमा सुपर नेपियर घाँसखेती गर्न सकिन्छ । 

देशभर विस्तार गर्ने लक्ष्य
किसान भट्टले घाँसखेतीलाई देशभर विस्तार गर्ने लक्ष्य लिएका छन् । उनी गुनासिए, ‘दानाचोकरमा लाखौँ नेपाली रुपैयाँ विदेश जाँदा मेरो मन धुरुक्कै रायो, त्यसैले मैले घाँस खेती सुरु गरेको हुँ ।’ घाँसखेतीलाई देशभर विस्तार गरी दानाचोकरमा बाहिरिने लाखौँ रुपैयाँ स्वदेशमा राख्ने एक मात्र लक्ष्य लिएर उनी अगाडि बढिरहेका छन् । 

भविष्यमा यस जातको घांँसलाई विस्तार गर्दै देशभर विक्री वितरण गर्ने लक्ष्य रहेको उनले बताए । मासु तथा दुध उत्पादनको लागि कम लागत पर्ने हुनाले सरकारले यस्ता खेतीमा कृषकको आकर्षण बढाउनु जरुरी रहेको उनको भनाइ छ ।

कृषिलाई व्यवसायिकरण गर्न र देश दुध र मासुमा आत्मनिर्भर बन्न कृषि क्षेत्रलाई प्रमुख प्राथमिकतामा राख्न उनले सुझाव दिएका छन् । बढ्दो शहरीकरण र जग्गा खण्डीकरणबाट चरनक्षेत्र खुम्चिन गई पशुआहाराको अभाव हुन नदिन पनि व्यवसायिक घाँस खेती आवश्यक पर्ने उनी बताउँछन् । 

घाँसखेती गरेका सञ्चालक भट्टले नेपालमै सबैभन्दा ठूलो व्यावसायिकरुपमा घाँसखेती गरेको दाबी गरे । उनले भने, ‘सुपर नेपियर’ लगायत घांँस बाह्रैमास हरियो हुन्छ, एकचोटि रोपेपछि १० वर्षसम्म काट्न पाइन्छ । १८ फिटसम्मको घाँसको उचाइ हुन्छ ।’

उनले घाँसमात्र होइन, बीउसमेत बेचेर आम्दानी गरिरहेका छन् । 

उनको श्रीस्वस्थानी घाँस स्रोत केन्द्र तथा बाख्रा फार्मले कृषकहरुको मागअनुसार बेर्ना र घाँस उत्पादन गर्दै बेचबिखन गरिरहेको छ । सञ्चालक भट्टका अनुसार जुनसुकै हावापानी र माटोमा हुर्कन सक्ने यो घाँस थोरै जग्गामा धेरै उत्पादन हुन्छ ।  सुपर नेपियर जातको घाँस तीन महिनामै तयार हुने उनी बताउँछन् । 

प्रतिक्रिया दिनुहोस