दन्त चिकित्सकको सुझाव : बजारमा पाइने झोलले दाँत सफा गर्दै नगर्नूस् (अन्तर्वार्ता)

हिरालाल आचार्य ‘डायमण्ड’

विहीबार, ३० असोज २०७६, १२ : ५३
दन्त चिकित्सकको सुझाव : बजारमा पाइने झोलले दाँत सफा गर्दै नगर्नूस् (अन्तर्वार्ता)

चितवन । दाँत पनि मानव शरीरको एक महत्वपूर्ण हिस्सा हो । तर दाँतको सुरक्षाका लागि हामी नेपालीहरुले खासै महत्व दिएको पाईंदैन । धेरै जसोलाई राम्रोसँग ब्रस गर्ने तरिका पनि थाहा नहुने गरेको नबल डेण्टल किलनिक भरतपुरका डेन्टल हाइजेनिष्ट रितेश महतो बताउँछन् । 

हाइजेनिष्ट महतोका अनुसार दाँतमा तीन तह हुन्छ । माथिल्लो तहलाई इनामेल, इनामेल भित्रको भागलाई डेन्टिन र डेन्टिन भित्रको भागलाई पल्प भनिन्छ । दाँतको इनामेल खिइएमा हाइपर सेन्सिटिभिटी हुन्छ । जसले गर्दा दाँत सिरिङ–सिरिङ हुने, दुख्ने तथा अन्य थप संक्रमणको संभावना बढ्दछ ।

दाँतको सुरक्षा गर्न विशेषत खानपान र त्यसपछिको सरसफाइमा ध्यान दिनुपर्छ । खानेकुरा खाएरभन्दा पनि खाइसकेपछि सरसफाइ नगर्दा ब्याक्टेरिया उत्पादन भई दाँतमा संक्रमण हुने हाइजेनिष्ट महतो बताउँछन् ।

उनै डेन्टल हाइजेनिष्ट रितेश महतोसँग सफल खबर संवाददाता हिरालाल आचार्य‘डायमण्ड’ ले गरेको कुराकानी ।

दाँतमा कीरा किन लाग्छ ?

खानेकुरा खाइसकेपछि दाँत सफा नगर्दा दाँत फोहोर हुन्छ । हरेक दाँतमा धागो छिर्ने जति खाली भाग हुन्छ । त्यो खाली भागमा फोहर जम्मा हुन्छ । उक्त फोहोरबाट ब्याक्टेरिया बन्छ र दाँत दुख्छ । जसलाई हामी दाँतमा कीरा लागेको भन्छौं । ब्याक्टेरियाको इन्फेक्सन बढेपछि दाँत दुख्छ ।

ब्रस कहिले र कसरी गर्ने ?

ब्रस खाना खाइसकेपछि गर्नुपर्छ । दिनमा एकपटक बिहान उठ्ने बित्तिकै दाँत माझ्ने बानी धेरै जसोको हुन्छ । त्यो गलत हो । सकेसम्म दिनमा दुई पटक खाना खाइसकेपछि दाँत माझ्नुपर्छ । एकपटक माझ्ने हो भने बेलकाको खाना खाइसकेपछि माझ्नुपर्छ । किनकी रातिको समयमा बढी ब्याक्टेरिया उत्पादन हुन्छ । खाना खाएपछि दाँतमा केही खानेकुरा अड्किन्छ । त्यत्तिकै सुत्दा उक्त अड्किएको खानेकुराबाट ब्याक्टेरिया उत्पादन हुन्छ । 
प्रायजसो अधिकांशले दाँत माझ्दा दायाँबायाँ गर्दै माझ्छन् । तर दाँत तलमाथि गरेर माझ्नुपर्छ । दाँतको बीचमा अड्किएको फोहरलाई सफा गर्न तलमाथि माझ्नुपर्छ । तेर्साे गरेर माझ्दा दाँतको बाहिरी भागमात्र सफा हुन्छ तर तलमाथि गरेर माझ्दा भित्रि भाग पनि सफा हुन्छ ।

दाँत सफा गर्न चोकचोकमा स्पिकर बजाएर प्रचार गर्दै सानो सिसीमा झोल बेचिरहेका हुन्छन्, त्यसको प्रयोग कति उचित हुन्छ ?

दाँत सफा गर्नको लागि बाहिर त्यसरी बेचिने झोलमा एसिड हुन्छ । उक्त एसिडले दाँत सफा गर्दा फोहरसँगै इनामेल पनि जान्छ । डेण्टल हस्पिटलमा दाँत सफा गर्दा मेसिनले फोहरमात्र निकालिन्छ इनामेल जाँदैन । डेण्टलमा मेसिनबाट गर्दा गिजा पनि सफा गरिन्छ, जसले हर्षाबाट बचाउँछ । तर बाहिर पाइने सिसीको झोलले गिजा सफा गर्दैन । 

दाँतको आयु कति हुन्छ ?

दाँतको आयु जति पनि हुन्छ तर दाँतलाई हेरचाह गर्नुपर्छ । दाँतको आयु यति भन्ने हुँदैन । सानैबाट राम्रोसँग हेरचाह गर्दै गइयो भने जीवनकालसम्म दाँत रहिरहन्छ । बाल्य अवस्थामा ६ वर्षदेखि १३ वर्षभित्रमा करिव २० वटा दाँत फेरिन्छन्, जसलाई दुधे दाँत भनिन्छ । नफेरिने अन्य दाँतहरु स्थिर दाँत हुन् । बाल्य अवस्थामा दाँत झर्नु प्राकृतिक प्रक्रिया हो ।

तर वृद्धा अवस्थामा दाँत झर्ने भनेको सरसफाई अर्थात उचित हेरचाह नपुग्दा हो । त्यसैले सानैबाट दाँतलाई राम्रोसँग हेरचाह गरेमा दाँत आफैं कहिलै झर्दैन ।

हजुरले सानैबाट दाँतको हेरचाहको कुरा गर्नुभयो । बाल्यअवस्थामा यो कसरी गर्न सकिन्छ ?

सही प्रश्न उठाउनु भयो । बाल्य अवस्थामा अभिभावकले नै आफ्ना बालबच्चाको दाँतको पनि उचित हेरचाह गरिदिनुपर्छ । बालबालिकाको दाँत मुखमा टुसाउने बित्तिकै कपासले नियमित रुपमा पुछेर सफा गरिदिनुपर्छ । बालबालिकालाई दूध, लिटो खुवाएपछि अलिकति पानी पनि खुवाउनुपर्छ । यसो गर्दा उनीहरुको दाँत सफा र स्वस्थ रहन्छ । बालबालिका ठूलो हुँदै गएपछि आफैले ब्रस गर्दिने र सिकाउने गर्नुपर्छ । सही तरिकाले उचित समयमा ब्रस गर्ने बानी बालबालिकामा अभिभावकले बसालिदिनुपर्छ । खाना खाइसकेपछि मुख राम्रोसँग कुल्ला गर्नुपर्छ भनेर सिकाउनु पर्छ । जसले गर्दा दाँतमा टाँसिएको खानेकुरा पखालिन्छ । 

बालबालिकाको दाँत हल्लिएको छ भने विशेष ध्यान दिनुपर्छ । हल्लिएको दाँत निस्कन सकेन भने पछि झर्ला भनेर बस्नु हुँदैन । हल्लिएको दाँत समयमा निस्कन सकेन भने त्यसै छेउबाट अर्काे दाँत पलाउँछ । जसलाई दारा भन्ने गरिन्छ । त्यसैले समयमा नै दाँत निकाल्नको लागि दन्त चिकित्सक कहाँ पुग्नुपर्छ । 

सास गन्हाउनुको कारण दाँतमात्र हो की होइन ?

विशेषत दाँत फोहर भएमा सास गन्हाउँछ । दाँतको बीचमा हुने खालिभागमा खानेकुरा अड्किएर सडेपछि सास गन्हाउँछ । पेटसम्बन्धी समस्याका कारण पनि सास गन्हाउने गर्दछ । तर धेरै जसो सास गन्हाउने भनेको दाँत र गिजामा नै फोहर जम्मा भएर हो ।

मानिसहरुले अझैपनि बाँस र दत्तियोनले घण्टौंसम्म दाँत घोट्ने गर्छन्, त्यो कतिसम्म ठिक हो ?

एकदम गलत । अझैपनि मानिसहरुले बाँस तथा दत्तियोनले दाँत घोट्ने गर्छन् । त्यस्ता कडा वस्तुले दाँत सफा गर्दा दाँतको माथिल्लो भागमा भएको इनामेल जान्छ । त्यसैले नरमखालको ब्रसबाट धेरै बल नलगाइकन दुईदेखि पाँच मिनेटसम्म दाँत सफा गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस