प्रदेश २ : राजधानी माग्दै वीरगञ्ज बन्द, जनकपुरमा प्रदेशसभाको पहिलो बैठक सुरु हुनासाथ हंगामा

आइतबार, २१ माघ २०७४, १३ : ५३
प्रदेश २ : राजधानी माग्दै वीरगञ्ज बन्द, जनकपुरमा प्रदेशसभाको पहिलो बैठक सुरु हुनासाथ हंगामा

पर्सा । प्रदेश नम्बर २ को राजधानी वीरगञ्ज हुनु पर्ने माग राख्दै आइतबार वीरगञ्ज बन्द गरिएको छ ।  प्रदेश २ को पहिलो बैठक जनकपुरमा बस्न लागेको दिन वीरगञ्ज बन्दको आह्वान गरिएको हो ।

राजधानी संघर्ष समितिले आह्वान गरेको बन्दका कारण आइतबार वीरगञ्जआसपासको जनजीवन प्रभावित भएको छ । बन्दकर्ताहरु बिहानै घण्टाघर आसपास जम्मा भएर प्रर्दशन गर्नुकासाथै केही सवारी साधनसमेत तोडफोड गरेका थिए ।
बन्दकर्ताहरुले घण्टाघर र आदर्शनगर क्षेत्रमा सवारी साधनमा तोडफोड गरेका हुन् । वि आर ०५ पी ए ३०४० नम्बरको भारतीय गाडी, नम्बर नखुलेका दुईवटा नीजि कारमा तोडफोड भएको हो ।
वीरगञ्जलाई प्रदेश नं २ को राजधानी घोषणा गनुपर्ने माग राखेर वीरगञ्जमा झण्डै डेढ महिनादेखि आन्दोलन चलिरहेको छ ।
उता, अस्थायी राजधानी तोकिएको जनकपुरमा प्रदेशसभाको पहिलो बैठक सुरु हुनासाथ अवरुद्ध भएको छ ।  राजपाका सांसदहरुले मधेस आन्दोलनका सहिदका तस्वीर नराखेको भन्दै प्रदेशसभा बैठक अवरुद्ध गरेका हुन् ।
पहिलो बैठक सुरु हुनासाथ राजपा सांसद मनिष सुमनले मधेस आन्दोलनका सहिदहरुको फोटो राख्न माग गर्दै विरोध गरेका हुन् । सभामुखको आसन अगाडि जनआन्दोलनका सहिदहरुको तस्वीर राखिएको छ । त्यहाँ मधेस आन्दोलनका सहिदको तस्वीर किन राखिएन भन्दै सुमनले आपत्ति जनाए ।

लगत्तै राजपा सांसद डिम्पल झाले मधेसका सहिदको तस्वीर नराखेसम्म बैठक अघि नबढ्ने बताएछि सांसदहरु आआफ्नो स्थानबाट उठे ।

मधेस केन्द्रित दलका सांसदहरुले विरोध जनाइरहँदा एमाले सांसदहरुले बैठक अवरुद्ध गर्न नपाइने भन्दै आपत्ति जनाए । एमाले र मधेस केन्दि्रत दलको वेग्लावेग्लै विरोधले संसद बैठकको प्रारम्भमै हंगामा हुने संकेत दियो ।

तर, जेष्ठसदस्यको हैसियतमा सभा चलाइरहेका ललन चौधरीले अर्को बैठकमा मधेस आन्दोलनका सहिदहरुको तस्वीर राख्न रुलिङ गरे । योसँगै मधेस केन्द्रित दलहरु बैठक अघि बढ्न दिन तयार भए । अहिले कार्यसूचीअनुसार बैठक चलिरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस