भरतपुर महानगरले अधिकृत अनुज घिमिरेलाई दियो अनुगमनको विशेष अधिकार, अब महानगरले नियमित अनुगमन गर्ने

प्रकाश सिग्देल

आइतबार, १२ असोज २०७६, १८ : २३
भरतपुर महानगरले अधिकृत अनुज घिमिरेलाई दियो अनुगमनको विशेष अधिकार, अब महानगरले नियमित अनुगमन गर्ने

– प्रकाश सिग्देल
चितवन । भरतपुर महानगरले बजार अनुगमनलाई प्रभावकारी रुपमा अगाडि बढाउने भएको छ । महानगरले बजार अनुगमन समिति नै निर्माण गरी महानगरको बजार क्षेत्रमा नियमित अनुगमन गर्ने र बजारलाई उपभोत्ता मैत्रि बनाउने तयारी थालेको हो । यस अघि जिल्ला प्रशासन कार्यालयमा रहेको यो बजार अनुगमनको बिशेष अधिकार अहिले स्थानीय तहमा आएको छ । स्थानीय तहमा यो अधिकार आएपनि स्थानीय तहहरुले अनुगमन संयन्त्र विकास गर्न नसक्दा बजार अनुगमन प्रभावकारी बन्न सकेको थिएन ।

भरतपुर महानगरले बजार अनुगमनलाई प्रभावकारी रुपमा अगाडि बढाउन कार्यालयका अधिकृत अनुज घिमिरेलाई यो विशेष अधिकार प्रदान गरेपछि उहाँले अनुगमनलाई प्रभावकारी रुपमा अगाडि बढाउने तयारी थाल्नु भएको हो । कार्यालयमा राजस्व शाखा हेर्दै आउनुभएका अधिकृत घिमिरेलाई महानगरले बजार अनुगमनको विशेष अधिकार समेत प्रदान गरेको छ । आफूलाई प्राप्त भएको यो विशेष अधिकारलाई प्रयोग गर्दै बजार अनुगमन संयन्त्र विकास गरी नियमित बजार अनुगमन गर्ने योजना बनाएको घिमिरेले बताउनुभयो । उपभोक्ता संरक्षण ऐन २०७५ले दिएका सम्पूर्ण अधिकार प्रयोग गरी अनुगमन निर्देशिका तयार पारेर स्थानीय बजारलाई उपभोक्ता मैत्रि बनाउन आफूले प्रयास थाल्ने र उपभोक्ता स्वास्थ्यमा खेलवाड गर्नेलाई हदै सम्मको कारवाही गर्ने उहाँको भनाइ छ ।

गल्ती गर्ने व्यवसायी र उद्योगीहरुलाई उपभोक्ता संरक्षण ऐन २०७५ले कैद र आर्थिक जरिवना दुवै सजाएको व्यवस्था गरेकाले आवश्यकता हेरी हदैसम्मको कारवाही गर्ने उहाँ बताउनु हुन्छ । कार्यालयले सोमबारबाट शुक्रबारसम्म लगातार अनुगमन गर्ने उहाँले बताउनुभयो । अहिले खाद्य वस्तु मिठाई पसल मासु पसलहरुमा विशेष ध्यान दिइने उहाँको भनाइ छ । चाड पर्वमा व्यवसायीले मिसावट बढी गर्ने महंगोमा खाद्य वस्तु विक्री गर्ने र माछा मासुको विक्रीमा समेत लापरवाही हुने भएकाले यसलाई विशेष ध्यान दिइने उहाँ बताउनु हुन्छ । चाड पर्वको बेला बजार अनुगमन प्रभावकारी बनाउन नसक्दा बजारमा वेथिति बढेको र महंगी समेत अत्याधिक बढेकाले अनुगमनलाई निरन्तरता दिनुपर्ने उपभोक्ता अधिकार संरक्षण मञ्च चितवनका उपाध्यक्ष विष्णु भुषालले बताउनुभयो । अनुगमनका लागि मात्रै अनुगमन नगरेर साँच्चै बजारमा देखिएका वेथिति र अराजकता अन्त्य गर्ने गरी परिणाम मुखी अनुगमन आवश्यक रहेको भुषाल बताउनु हुन्छ । 

प्रतिक्रिया दिनुहोस