राजधानी छिर्न र निस्कन समस्या

सार्वजनिक यातायातमा यात्रुको मृत्यु हुँदा के हेरेर बसेका छन् यातायातमन्त्री महासेठले ?

सफल खबर संवाददाता

शुक्रबार, १० असोज २०७६, १४ : ५७
सार्वजनिक यातायातमा यात्रुको मृत्यु हुँदा के हेरेर बसेका छन् यातायातमन्त्री महासेठले ?

काठमाडौं । राजधानी छिर्ने र बाहिरिने सडकको नौबीसे–नागढुंगा सडकखण्डमा लामो समयसम्म ट्राफिक जामको समस्या देखा परेको छ । 
समस्या यति गम्भीर बनेको छ कि बसमा यात्रा गरिरहेका यात्रु मर्न थालेका छन् । शुक्रबारमात्रै यात्रुवाहक बसमा रहेका एक जना बिरामीको जामकै कारण अस्पताल पुग्न ढिलाई हुँदा ज्यान गएको छ ।
चाडबाडको मुखमा राजधानी छिर्ने सडक मर्मत र बिस्तारको काम सुरु गरिँदा यात्रुले सास्ती पाउँछन् भन्ने सरकारमा बस्नेहरुलाई हेक्का हुनु पर्ने हो, तर कमिसनको खेलमा लिप्त रहने यातायातमन्त्री रघुवीर महासेठलाई यी कुरासँग कुनै वास्ता छैन ।
नागरिकको जीवनसँग वास्ता हुँदो हो त मन्त्री महासेठले सार्वजनिक यातायातमा अवरोध आएको कारण नागरिकको मृत्यु भइसक्दा नैतिकताको आधारमा राजीनामा दिनु पथ्र्यो । मन्त्री महासेठमा नैतिकता भए पो राजीनामा दिनु ? उनमा त अकूत कमाउने, कमिसन पड्कउने अनौठो विशेषता छ । राजीनामा किन दिन्थे उनी ? सरकारको आशीर्वाद जो उनलाई प्राप्त छ ।

विश्व पर्यटन दिवसमै पर्यटक जाममा
शुक्रबार नेपालमा मात्र नभई विश्वका विभिन्न दिवसमा विश्व पर्यटन दिवस मनाइयो । अरु देशमा जे जसरी विश्व पर्यटन दिवस मनाइए पनि नेपालमा भने बडो अनौठो भयो । विश्व पर्यटन दिवसमै पर्यटन ट्राफिक जाममा परे । त्यो पनि राजधानी छिर्ने नाका नौबीसे–नागढुंगा सडकखण्डमा ।
यतिमात्र होइन, पर्यटन दिवस मनाउने नौलो काइदा चितवनमै देखियो । पटिहानीबाट पोखरा चल्ने पर्यटक बसको उद्घाटन कार्यक्रममा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे स्वयं उपस्थित भए । पूर्वमन्त्रीले एउटा बसको उद्घाटन गरेर पर्यटन दिवस मनाउने अवसर चितवनले नै प्राप्त ग¥यो । बस पटिहानीदेखि पोखरा चल्ने प¥यो, काठमाडौंसम्म जाने रुट परेको भए त बस पनि जाममै पर्ने रहेछ ।

वैदेशिक रोजगारीमा जानेहरु पनि समस्यामा
यातायातमन्त्री महासेठको कमिसनको खेलका कारण मनसुन नसकिँदै चाडबाडको मुखमा नौबीसे–नागढुंगा सडकखण्डको काम सुरु गरिएको जनगुनासो छ । होइन भने तिहारपछि पनि त सडक बिस्तार र मर्मतको काम गर्न सकिन्थ्यो ।
राजधानी छिर्ने नाकामा ट्राफिक जामको समस्याका कारण वैदेशिक रोजगारीमा जानेहरु पनि प्रभावित बनेका छन् । बाटोमा घण्टौँसम्म जाममा फँस्नु परेपछि कतिपयको त फ्लाइट नै छुट्ने गरेको छ । सडकको कारण नागरिकले समस्या पाउँदा दुईतिहाईको सरकार भने कानमा तेल हालेर बसेको छ ।

के होला दशैँमा ?
फूलपातीपछि राजधानीबाट घर फर्कनेहरुको घुइँचो लाग्ने गर्छ । ती सबै यात्रुलाई बोकेर गन्तव्यमा हिँडेका यात्रुवाहक सवारीसाधन अरु बेला त जाममा फँस्ने गरेका थिए भने दशैँको बेला झन् जाममा नफस्ने कुरै भएन । कल्पना गर्दा पनि भयावह देखिन्छ दशैँको बेला नौबीसे–नागढुंगा सडकखण्डमा हुने जामको अवस्था ।
सरकारमा बस्नेहरुको बुद्धिको भाँडोमा बिर्को लागेको छैन भने उनीहरुले तत्काल सवारी जामको यो अव्यवस्थाबाट नागरिकलाई मुक्त गर्नु पर्छ । कमसेकम दशैँलाई मध्यनजर गर्दै घटस्थापनादेखि पूर्णिमासम्म सडक मर्मत र बिस्तारको काम रोक्नु पर्छ । यसो गर्दा दुईतिहाईवाला सरकारका कमाउनिष्ट मन्त्री रघुवीर महासेठलाई पो घाटा लाग्ने हो कि ?

प्रतिक्रिया दिनुहोस