नेकपालाई धुलो : कांग्रेसले चटायो कि अन्तर्घातले आफैँ चाट्यो ?

बुधबार, ०८ असोज २०७६, १६ : ०६
नेकपालाई धुलो : कांग्रेसले चटायो कि अन्तर्घातले आफैँ चाट्यो ?

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको मंगलवार सम्पन्न निर्वाचनमा सत्तारुढ नेकपा सम्वद्ध प्यानल नै बढारियो । निर्माण व्यवसायी संघदेखि यातायात, बैदेशिक रोजगार र पर्यटन व्यवसायी संगठनहरुका चुनावमा नेकपा बढारिएपछि यतिबेला पार्टी नेतृत्वमा खैलाबैला भएको छ । 

विभिन्न संघसंगठनमा नेकपा पत्तासाप हुँदै गएपछि पछिल्लो समय नेकपाले समीक्षा गर्ने योजना बुनेको छ । जुन संगठनमा चुनाव हुन्छ, त्यही संगठनमा नेपाली कांग्रेसले नेकपालाई धुलो चटाएको छ ।

नेकपाको ठूलो संगठन हुँदाहुँदै पनि कांग्रेसले कसरी धुलो चटाइरहेको छ, यो विषय अझै गर्भमै छ, अर्थात् नेकपाले यो विषयमा समीक्षा नै गरेको छैन, अब पनि नेकपाले यस विषयमा समीक्षा नगरे अझै धेरै ठाउँमा धुलो चाट्ने एक नेकपाका नेताले बताए ।

विभिन्न संघसंगठनमा पराजय भोगेको नेकपाप्रति जनताको मत कस्तो छ, मंसिर १४ को उपनिर्वाचनले देखाउँछ । विभिन्न संगठनमा नेकपा हारिरहेको छ, तर जनताको मनमा कस्तो रुपमा नेकपा बसेको छ ? यो त मंसिर १४ ले देखाउने छ । मंसिर १४ मा कांग्रेसले नेकपासँग हिसाबकिताब गर्ने योजना बनाइरहेको छ । 

श्रममन्त्री गोकर्ण विष्ट नेकपाको श्रम बैदेशिक रोजगार विभागका प्रमुख पनि छन् । उनी मन्त्री भएपछि कामदारको पक्षमा अडान लिन खोज्दा बैदेशिक रोजगार व्यवसायी रुष्ट बनेका थिए । यसको प्रतिफल देखिएको भन्नेहरु पनि छन् । नेकपाकै व्यवसायीले पनि विष्टको रिस पोख्न कांग्रेसका उम्मेदवारलाई मत दिएको देखिन्छ । 

अर्थमन्त्री डा.युवराज खतिवडाप्रति निजी क्षेत्र असन्तुष्ट छन् । त्यसकारण पनि व्यवसायीहरुको संगठनमा नेकपाका नेताहरुले कांग्रेसलाई मत हालेको प्रष्ट देखिन्छ । नत्र हारको अर्को कारण नै छैन । 

पछिल्ला दुई वर्षका यस्ता सामाजिक संस्थाका चुनावहरुमा नेकपाले धुलो चाट्न थाल्नु प्रमुख कारण अन्तर्घात नै भएको एक नेकपा नेताले ठोकुवा गरे । धुलो नेपाली कांग्रेसले चटायो कि आफैँभित्र अन्तर्घात हुँदा आफैँ चाट्न पुग्यो, यो विषयमा समीक्षा हुनुपर्ने ती नेताको भनाइ थियो । 

निर्माण व्यवसायी महासंघ होस् या यातायात व्यवसायी महासंघको चुनावमा नेकपा बढारिएको छ ।  तीन महिनाअघि सम्पन्न ठमेल पर्यटन परिषदको चुनावमा समेत दलीय प्यानल हुँदा नेकपाका उम्मेदवार पराजित भए ।

केही दिनअघिमात्र प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमकको उद्योग वाणिज्य संघ चुनावमा नेकपाले धुलो चाट्यो । चितवनमा निर्माण व्यवसायी संघको चुनामामा पनि नेकपा बढारियो । 

उद्योग वाणिज्य महासंघको केन्द्रीय साधारणसभा अगाडि भइरहेका बिभिन्न नगर तथा जिल्ला उद्योग वाणिज्य संघहरुमा नेकपाका उम्मेदवार धमाधम पराजित भइरहेका छन् । नेकपा पराजित भएका अधिकांश सामाजिक तथा उद्योगी व्यवसायहिरुको संगठनमा कांग्रेसका उम्मेदवारले जितिरहेका छन् ।

कुनै समय सामुदायिक वन, सहकारी, खानेपानी सम्बन्धी संस्था, विद्यालय व्यवस्थापन समिति, साना उद्यमीहरुका संगठनमा कव्जा जमाएको नेकपाले पछिल्लो दुई वर्षमा क्रमशः बढारिँदै गएको छ । 

तत्कालीन एमालेको अनुशासन आयोगका सदस्य शिव भण्डारी नेकपाले समीक्षा गर्ने बेला आएको बताउँछन् । 
नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले निजी क्षेत्रका कतिपय संगठन तथा शाखाहरुमा भएको निर्वाचनको पराजयलाई पार्टीले समीक्षा नगरेको बताए ।

उनले ती ठाउँहरुमा के भएको भनेर सम्बन्धित संगठन हेर्ने पार्टीका कमिटीहरुबाट जानकारी भने लिइने बताए ।
पार्टीमा अनुशासनहीनता र व्यक्ति तथा शक्ति र पैसा केन्द्रित प्रवृति बढेकाले सामाजिक संस्थाहरुमा पकड गुम्दै गएको  एक नेताका ठम्याइ छ ।

नेकपाका एक नेताका अनुसार बढ्दो अनुशासनहीनता र अन्तर्घात, सरकारको कामप्रति असन्तुष्टि र पार्टी एकता भए पनि मनमा एकता नहुँदा हारको परिणाम आएको हो । 

बैदेशिक रोजगार व्यवसायी संघको पराजयभन्दा केही दिनअघिमात्र पर्यटन व्यवसायीहरुको संस्था टानमा पनि नेकपाका अध्यक्ष उम्मेदवार पराजित भएका थिए ।

हार्ने पक्षले पार्टीकै केही नेता र टानका पूर्व अध्यक्षकै संलग्नताका अन्तर्घात गरिएको उजुरी दिएपछि उद्योग व्यवसाय क्षेत्र हेर्ने इन्चार्ज मुकुन्द न्यौपानेले चित्रगुप्त साँवाको अध्यक्षतामा छानविन समिति बनाएका छन् ।

नेकपा केन्द्रीय प्रचार विभागका उपप्रमुख तथा तत्कालीन एमालेका पर्यटन विभाग प्रमुख सूर्य थापा भने खल्तीको संगठन खडा गरेर हार्ने मान्छेलाई टिकट दिँदाको परिणाम टानमा देखिएको बताउँछन् । 

निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघका अहिलेसम्म एक सय १२ वटा घटक संगठन जिल्ला तथा नगरमा चुनाव भइसकेको छ । हालसम्म चुनाव भएका ११२ कमिटीमा नेकपा र नेकपा इतरका दलसँग नजिक व्यक्तिहरु हाराहारी संख्यामै निर्वाचित भएको तथ्यांक छ ।


 

प्रतिक्रिया दिनुहोस