राजनीतिक विश्लेषण

आधारहीन गफ हाँकेर जनतालाई भ्रममा पार्दैछ काँग्रेस

सफल खबर संवाददाता

बुधबार, ०८ असोज २०७६, १६ : १३
आधारहीन गफ हाँकेर जनतालाई भ्रममा पार्दैछ काँग्रेस

चितवन । नेपाली काँग्रेसका प्रमुख सचेतक एवं केन्द्रीय सदस्य बालकृष्ण खांँडले हिजाे मंगलबार चितवनमा भाषण गर्दै वर्तमान सरकारले संविधान च्यात्न खोजेको गम्भीर आरोप लगाए । यो आरोप पुष्टि गर्ने कुनै आधार भने उनले दिन सकेनन् । 

विरोधसभामा कुर्लिएको भोलिपल्ट अर्थात् आज बुधबार पार्टीनिकट पत्रकारहरुले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले चीनको जस्तो सत्ता नेपालमा स्वीकार्य नहुने बताए । चीनमा एउटैमात्र कम्युनिष्ट पार्टी रहेको र उसैले शासन गरिरहेको बताउँदै नेता खाँडले चीनमा लोकतन्त्र नरहेको बताए । उनको यो बर्बराहट दुई दिनअघि राजधानी काठमाडौँमा सम्पन्न चिनियाँ कम्युनिष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टीको साझा कार्यक्रम र त्यहाँ भएका सहमतिले उब्जाएको थियो ।

नेता खाँड तिनै व्यक्ति हुन् जो पछिल्लो समय हिन्दू राष्ट्रको पक्षमा बोल्न थालेका छन् । नेपालको संविधानले मुलुकलाई धर्मनिरपेक्ष घोषणा गरेको छ । यो घोषणामा त्यतिबेला नेपाली काँग्रेसको पनि समर्थन र साथ रहेको थियो । अहिले जनताबाट एक्लिएको काँग्रेस आधारहीन गफ हाँकेर जनतालाई भ्रममा पार्दैछ ।

सरकारविरोधी आन्दोलनको नेतृत्व गर्न नसकेको नेपाली काँग्रेस कहिले महेन्द्रनगरमा निर्मला पन्तको बलात्कार र हत्याको घटना उचाल्छ त कहिले चितवनमा पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेका रवि लामिछाने समर्थकको भीडलाई उत्तेजित पार्छ । जसो गरे पनि सरकारलाई गाल्न नसकेको काँग्रेस अहिले आएर भ्रमको खेती गरिरहेको छ ।

संविधानविरोधी कित्तामा काँग्रेस

नेपालको संविधान २०७२ ले नेपाललाई धर्म निरपेक्ष देशको रुपमा मानेको छ । सबै धर्मलाई समान अवसर र भूमिका मात्रै होइन मर्यादा समेत दिएको छ । संविधानले समावेशी, समानुपातिक प्रणालीलाई पनि स्वीकार गरेको छ । तर नेपाली काँग्रेस क्रमशः संविधानविरोधी कित्तामा पुगेको छ । 
प्रमुख प्रतिपक्षको भूमिका समेत राम्ररी निभाउन नसकेको र आफ्नै आन्तरिक विवादमा फसेको नेपाली काँग्रेस संविधान विरोधी कित्तामा उभिएको छ । यसले भारतीय इशारामा नेपाललाई पुनः हिन्दू राज्य बनाउने अभियानमा केन्द्रित भएको छ । काँग्रेसका नेताहरुको बोली र व्यवहारले पनि सोही कुराको संकेत गर्छ । 

धर्मनिरपेक्षता, संघीयता, समावेशी, समानुपातिक जस्ता एजेण्डा माओवादी जनयुद्धले स्थापित गरेका निधि हुन् । ती विषयलाई कमजोर नबनाईकन नेपालबाट कम्युनिस्ट आन्दोलनलाई पनि असफल बनाउन सकिदैन भन्ने लक्ष्यका साथ काँग्रेसका केही स्वार्थी समूहले सोही एजेण्डालाई धुलीसात बनाउन लागिपरेको पाइन्छ ।  पछिल्लो पटक  नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकमा अब ‘हिन्दू’ राज्यको विषयमा बहस हुने गरी तयारी गरिएको छ । प्रतिनिधिसभाको केही दिन पहिलेको बैठकमा पूर्वगृहराज्यमन्त्री देवेन्द्रराज कँडेलले हिन्दू राज्यको पक्षमा बोल्ने बेला आएको भन्दै भाषण गरेका थिए । 

काँग्रेसको केन्द्रीय समितिको बैठकले तय गरेको  प्रशिक्षण र जागरण कार्यक्रमका दौरानमा हिन्दू राज्यको विषय अगाडि बढाउने तयारी गरिएको बुझिएको छ । भारतीय इशारामा रहेका केही नेताले सो विषयमा जेहाद छेडेपछि प्राविधिक समस्या आएको भन्दै सभापति शेरबहादुर देउवा यस विषयमा लचिलो बनेको पाइएको छ । 

सभापति देउवाले यसको प्रमाण उनले सुनसरी जाने क्रममा विमानस्थलमा दिएका थिए । उनले भनेका थिए, ‘हिन्दू राज्यका विषयमा कुराकानी हुन्छ । यस विषयमा छलफल चल्नपर्छ ।’ हिन्दू राज्यको विषयलाई एजेन्डा बनाउन नहुने अडानमा उपसभापति विमलेन्द्र निधि, विजयकुमार गच्छादार, नेता कृष्ण सिटौलालगायत छन् । 

बहुमत केन्द्रीय सदस्यहरू भने हिन्दूत्वको मुद्दा कांग्रेसको एजेन्डा बन्नुपर्ने पक्षमा उभिएपछि सभापति समेत समस्यामा परेको बताइन्छ । त्यसो त हिन्दू राज्यको विषयमा कुरा उठाउने नै काँग्रेसको भावी सभापति बन्ने भन्दै काँग्रेस भित्रका केही नेताले अभियान नै शुरु गरिसकेका छन् ।  तर नेता मात्र नभएर देशैभरको प्रशिक्षणका क्रममा कांग्रेसका कार्यकर्ता तहले पनि हिन्दूत्वको विषयमा स्पष्ट धारणा बनाई अघि सर्नुपर्ने बताएपछि सभापति देउवा सकारात्मक देखिएका हुन् । आफ्नै निवासमा सत्पहा पूराण लगाएर हिन्दू राज्यको संकेत गरेका देउवाले अब सो विषयलाई अगाडि बढाउन कुनै समस्या नहुने समेत संकेत गरिसकेका छन् । 

काँग्रेसभित्र प्राप्त भएको सोही सुझावका आधारमा नै उनले अब कांग्रेसमा हिन्दूको एजेन्डामाथि छलफल हुने बताएको स्रोतको दाबी छ । महामन्त्री शशांक कोइरालाले यसअघि नै संविधानको विरुद्धमा गएर हिन्दू राज्यको एजेण्डा अगाडि बढाउने घोषणा नै गरिसकेका छन् । यसलाई पार्टीको आधिकारिक एजेन्डा बनाएर अगाडि बढ्ने वा नबढ्ने भन्नेचाहिँ निर्णयका आधारमा नै हुने महामन्त्री कोइरालाको भनाइ थियो । 

काँग्रेसभित्र लामो समयदेखि यस विषयमा गम्भीर बहस भइरहेको भन्दै केहीले विषयलाई चर्को रुपमा अगाडि बढाउनुपर्ने र नेकपालाई साइजमा ल्याउने उत्तम एजेण्डा समेत यही रहेको बताएका छन् । यसलाई एजेन्डा बनाउन सभापति सकारात्मक देखिएको बुढानीलकण्ठ स्रोतको भनाइ छ ।  देउवानिकट नेता भन्छन्, नेताले मात्र होइन, कार्यकर्ताले पनि यस धारणालाई कायम राख्न बारम्बार दबाब दिएका छन् । सोही दबावका कारण सभापति समेत सकारात्मक देखिएका छन् । 

को को छन् हिन्दू राज्यको पक्षमा ?

महामन्त्री डा. शशांक कोइराला, डा. शेखर कोइराला दिलेन्द्रप्रसाद बडु, दिलबहादुर घर्ती र दीपक गिरी हिन्दूत्वको वकालतमा लागेको ती नेताले जानकारी दिए । यस्तै  महामन्त्री पूर्णबहादुर खड्का, बालकृष्ण खाँड, नेविसंघका पूर्वअध्यक्ष तथा केन्द्रीय सदस्य एनपी साउद समेत हिन्दू राज्यको पक्षमा राम्रै गरी उभिएको बताइन्छ । 

कुनै निष्कर्षबिना नै सकिएको काठमाडौंमा भएको महासमितिको बैठकमा पनि हिन्दू राष्ट्रको विषयलाई एजेन्डा बनाउनका लागि प्रस्ताव मात्र होइन हस्ताक्षर नै संकलन गरिएको थियो । संविधानविरोधी उक्त कामको  नेतृत्व नेता शंकर भण्डारीले गरेका थिए । उनी दिवंगत नेता खुमबहादुर खड्काका खास मान्छे हुन् ।  भारतीय एजेण्डाका रुपमा हिन्दू राज्यको एजेण्डलाई भण्डारीले पार्टीमा ल्याएको भन्दै त्यतिखेर आलोचना समेत भएको थियो । केहीले भने उक्त प्रस्तावलाई दिल खोलेर समर्थन गर्नुपर्ने बताएका थिए । 

अहिले बहुमतका साथ भारतीय संस्थापन भारतीय जनता पार्टी सत्तामा आएपछि कांग्रेसमा फेरि हिन्दूत्वको बहस बलियो भएको राजनीतिक विश्लेषकहरुको भनाइ छ ।  जानकारहरुका अनुसार खासगरी अघिल्लो साता नेपाल भ्रमणमा आएका भारतीय विदेशमन्त्री सुब्रमन्यम जयशंकरसँगको भेटपछि सभापति देउवाको पनि धारणा परिवर्तन भएको हुन सक्ने अनुमान गरिएको छ । 

भारतमा पनि काश्मिर प्रकरण तथा अल्पसंख्यक समुदायमाथि गरिएको ज्यादतीको पाश्र्वमा हिन्दू राज्यको एजेण्डा मुखरित भएको छ । भारत र नेपाललाई एकै पटक हिन्दू राज्य घोषणा गर्ने तयारी भइरहेको बताइन्छ । त्यसमा भारतको मोदी सरकार र नेपाली काँग्रेसका बीचमा साँठगाँठ भएको बताइन्छ । 

प्रतिक्रिया दिनुहोस