नेकपा र सिपिसि बिच ६ बुँदे समझदारी: स्थापित भयो औपचारिक भाइचारा सम्वन्ध

सफल खबर संवाददाता

बुधबार, ०८ असोज २०७६, ०९ : ४८
नेकपा र सिपिसि बिच ६ बुँदे समझदारी: स्थापित भयो औपचारिक भाइचारा सम्वन्ध

काठमाडौं । नेपाल र चीनका सरकारको नेतृत्व गरिरहेका दुई कम्युनिष्ट पार्टीका बिचमा औपचारिक भाइचारा सम्वन्ध स्थापित भएको छ । दुई देशका कम्युनिष्ट पार्टीका बिचमा मंगलवार ६ बुँदे समझदारीपत्रमा लिखित हस्ताक्षर नै भएपछि औपचारिक सम्वन्ध स्थापित भएको हो ।

मंगलवार दुवै कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुखहरुले नेकपाका अध्यक्षद्दय केपी ओली र पुष्पकमल दाहाल (प्रचण्ड)का उपस्थितीमा हस्ताक्षर गरेपछि दुई देशका कम्युनिष्ट पार्टीका बिचमा  औपचारिक भाइचारा सम्वन्ध स्थापित भएको हो ।

यो समझदारीसँगै अव दुवै देशका कम्युनिष्टहरुका वीचमा दुई पक्षिय उच्चस्तरीय भ्रमण आदानप्रदान, कार्यकर्ता तहको अध्ययन भ्रमण, पार्टी पार्टी अनुभव आधारित सहयोग आदानप्रदान हुनेछ । त्यस्तै, युवा र स्थानिय नेतावीच भ्रमण आदानप्रदान, जनस्तरको सम्वन्ध अभिवृद्दि र विचार सिद्दान्त्मा आधारित वार्षिक कार्यक्रम सञ्चालन हुने गरी समझदारी भएको छ ।

यो समझदारीलाई नेपालमा निक्कै अर्थपूर्ण रुपमा हेरिएको छ । कतिपयले सत्तारुढ दल नेकपा उत्तरी छिमेकी मुलुक चिनतिर ढल्किएको विश्लेषण पनि गर्न थालेका छन् । विगतमा यी दुई कम्युनिष्ट पार्टीका बिचमा  भाइचारा सम्वन्ध रहेपनि अनौपचारिक सम्वन्ध मात्र थियो ।

तर यस खालको औपचारिक सम्वन्ध भने बनेको थिएन । पार्टी एकतापछि नेकपाले चीनसँग पहिलो  
 पटक यसरी औपचारिक सम्वन्ध कायम गरेको हो । यस अगाडी पार्टी एक् नहुदा सम्म चीनको कम्युनिष्ट पार्टीले नेपालका तत्कालिन पार्टी एमाले र माओवादीसँग अलग –अलग रुपमा समदुरीको सम्वन्ध कायम गदै आएको थियो ।

ति सम्वन्धहरु अनैपचारिक सम्वन्ध थिए । तर यो समझदारी सहितको सम्वन्धपछि भने औपचारिक रुपमा नै भाइचारा सम्वन्ध स्थापित भएको नेकपाका नेताहरुले जनाएका छन् । यो समझदारी पछि अव दुई देशका कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताको एक अर्काे देशमा आवातजावत बढने छ भने सम्वन्ध थप विकास हुने अपेक्षा गरिएको छ ।

चिनले पनि आफनो विचारधारालाई विश्वभर छलफलमा ल्याउनका लागि पहिलो पटक नेपालवाट औपचारिक छलफलको थालनी गरेको छ ।

नेपाल र चीनका कम्युनिष्ट पार्टीका आ आफ्नै विशेषता छन् । दुवै पार्टीले आ - आफनो देशमा सरकार सञ्चालन गरिरहेका छन् । तर यी दुवै देशका कम्युनिष्ट पार्टीको सरकार सचालन परिदृश्य फरक छ । माक्र्सवादालई जडतामा नभई सिर्जनात्मक रुपमा दुवै देशले आ आफनो विशेषताका आधारमा सञ्चालन गदै आईरहेका छन् ।

एकले अर्काेको अन्धानुकुल नक्कल गरेर नभई आ आफनो विशेषताका आधारमा समाजवादको आगामी रणनीतिक योजना आपसमा समन्वय गरेर तय गर्ने योजनामा पनि दुवै पार्टीले पहिलोपटक केन्द्रीय स्तरमा गरेको विचारधारात्मक छलफलले थप टेवा पुग्ने विश्वास नेताहरुले गरेका छन् ।

नेपाल र चिनका दुवै कम्युनिष्ट पार्टीले काठमाडौंमा  विचारधारात्मक छलफल गरी भाइचारा सम्वन्ध स्थापित गर्ने र आआफ्नै अनुभवहरु साटासाट गर्ने घोषणा मात्र गरेका छैनन, दुवै पार्टीले एक अर्काका विचार, सिद्धान्त र प्रयोगहरुलाई वुझ्ने र समाजवादको दिशातिर जाने रणनीतिक योजनाका बारेमा समेत छलफल चलाएवाट पनि अव यी दुई कम्युनिष्ट पार्टीका वीचमा भाइचारा सम्वन्धमा थप मद्दत पुग्ने विश्वास नेताहरुले लिएका छन् ।

आगामी दिनमा दुई देशका  केन्द्रीय पार्टी स्कुलहरुमा प्रयोग गरिने पाठयक्रमहरुको तयारी र अध्यापन विधिका बारेमा आपसी अनुभवहरुको आदान–प्रदान  गर्ने, दुवै पार्टीका प्रशिक्षक लगायत पार्टीका नेता कार्यकर्ताहरुको द्वीपक्षीय अध्ययन भ्रमणमार्फत नेता कार्यकर्ताकै तहमा पनि आपसी अनुभवहरु आदानप्रदान गर्ने अवसरहरुको सिर्जना गर्ने प्रतिवद्धता दुवै पार्टीका नेताहरुले गरेका छन् ।

यी हुन् ६ वुँदे समझदारी
१. उच्चस्तरीय भ्रमण
२. कार्यकर्ता तहको अध्ययन भ्रमण बृद्धि
३. पार्टीपार्टी अनुभव आधारित सहयोग आदानप्रदान
४. युवा र स्थानीय नेताहरूबीच भ्रमण आदानप्रदान
५. जनस्तरको सम्बन्ध (बुद्धिजीवी, नागरिक संस्था, मिडिया) अभिवृद्धि
६. विचार सिद्धान्तमा आधारित बार्षिक कार्यक्रम संचालन

प्रतिक्रिया दिनुहोस