नेपाली कांग्रेसको आरोप : ओली सरकारले संविधान च्यात्न खोज्दैछ, सचेत हुने बेला आयो

सफल खबर संवाददाता

मंगलबार, ०७ असोज २०७६, १६ : २४
नेपाली कांग्रेसको आरोप : ओली सरकारले संविधान च्यात्न खोज्दैछ, सचेत हुने बेला आयो

चितवन । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका प्रमुख सचेतक तथा पूर्व रक्षामन्त्री बालकृष्ण खाँडले अहिलेको नेकपाको केपी शर्मा ओलीले संविधान च्यात्न खोजेको आरोप लगाउनुभएको छ । उहाँले सचेत हुने बेला आएको बताउनुभयो । 

आज नारायणगढको पुल्चोकमा भएको नेपाली कांग्रेसको विरोध सभामा नेता खाँडले ओली सरकारले पार्टी,  दल, प्रतिपक्षको भावना केही पनि मान्न तयार नभएको आरोप लगाउनुभयो । उहाँले वाईबडी काण्ड,  सुनकाण्ड, एनसेलकाण्ड, बालुवाटार काण्डमा अर्बौ भ्रष्टचार भएको आरोप लगाउँदै भन्नुभयो, ‘किन सरकार छानविन गर्न सकेको छैन, किन भ्रष्टाचारीलाई कारबाही गर्न सकेको छैन ।’


कार्यक्रममा उहाँले भ्रष्टाचारीलाई किन कारबाही गर्नुभएन भनेर प्रश्न सोध्दा प्रधानमन्त्री ओलीले नतमस्तक भएर संसदमा नेपाली जनताको भावनमा ठेस पुग्ने गरी अमर्यादित भाषा प्रयोग गर्नुभएको आरोप लगाउनुभयो । 
देशभर डेंगु फैलिरहेको अवस्थामा स्वास्थ्य मन्त्री डेंङ्गुबाट जोगिन अमेरिका जानुभएको आरोप नेता खाँडको थियो ।

कार्यक्रममा प्रधानमन्त्री ओलीको उपचार खर्च कसले दियो भनेर पनि नेता खाँडले प्रश्न गर्नुभएको थियो । विरोध सभामा उहाँले भन्नुभयो, ‘अब सुध्रने पालो जनताको होइन, ओलीको आयो ।’ दलको अस्तित्व नस्वीकार्ने, ओली सरकार ज्ञानेन्द्रको पछिल्लो पथमा हिँडिरहेको उहाँको आरोप थियो ।  

‘ओलीजी संविधान च्यात्न खोज्दै हुनुहुन्छ । ओली सरकार पूर्णत असफल भइसकेको छ’ नेता खाँडले भन्नुभयो, ‘संविधानको प्रस्तावनामा सूचनाको हक छ, जनताको वाणीलाई थुन्ने, पत्रकारको कलम भाच्ने विधेयक ल्याउन खोजिरहको छ ।’ यदी त्यो विधेयक सिंहदरबाट फिर्ता नभए स्वयम् नै प्रधानमन्त्री ओली सिंहदरबारबाट आउट हुने उहाँले चेतावनी दिनुभयो ।  उहाँले नेपालको कम्युनिष्ट पार्टी चिनियाँ कम्युनिष्ट पार्टीको भातृसंस्था हुन लागेको बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘प्रेस स्वतन्त्रता कुन्ठित गर्ने, मिडिया विधेयक फिर्ता लानैपर्छ । ओली सरकारले मानवअधिकार आयोग विधेयक ल्याएको छ, त्यो विधेयक संयुक्त राष्ट्रसंघको बडापत्रको खिलापमा, अन्तर्राष्ट्रिय मानवअधिकारको खिलापमा आएको छ ।’ त्यो विद्येयक सिंहदरबाट फिर्ता नगरे जस्तोसुकै कदम चल्ने उहाँले चेतावनी दिनुभयो । 

संविधानको प्रतिकुल, लोकतान्त्रिक प्रणालीको प्रतिकुल राष्ट्रिय सुरक्षा परिषदको विद्येयक आएको उहाँले बताउनुभयो ।  ५० अर्बभन्दा ठूला आयोजनाहरु सीधै प्रधानमन्त्रीले ठेकेदारलाई  दिन पाउने विधेयक अगाडि बढ्न नदिने बताउनुभयो ।

‘भ्रष्टाचारको आहालमा डुबेका ओली सरकारले यो विद्येयक नेपाली जनतालाई स्वीकार्य छैन’ उहाँले भन्नुभयो । निर्मला हत्याको दोषी पक्राउ गर्न कानमा तेल हालेर बसेको उहाँको भनाइ थियो । 

कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति जितनारायण श्रेष्ठले चितवनमा अब हुने उपनिर्वाचनमा कांग्रेसले जितेर नेकपासँग हिसाबकिताब चुक्ता गरिदिने बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस