समाजवादको लागि नयाँ आन्दोलन गरौं : प्रचण्ड

सफल खबर संवाददाता

सोमबार, ०६ असोज २०७६, १२ : १७
समाजवादको लागि नयाँ आन्दोलन गरौं : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले समाजवादको आधार तयार पार्न नेपालका कम्युनिष्टहरुले नयाँ आन्दोलनलाई गर्नु पर्ने बताएका छन् । 

पार्टी नेतृ सहाना प्रधानको पाँचौं स्मृति दिवसका अवसरमा सहाना प्रधान स्मृति प्रतिष्ठानले आज सोमबार पार्टी कार्यालय धुम्बाराहीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले शान्तिपूर्ण प्रतिस्पर्धाको राजनीतिबाटै आन्दोलन संगठित गरेर पार्टीलाई जनताको सवेक बनाउनु पर्ने बताएका हुन् ।
 
पार्टीका सबै नेता कार्यकर्ताले पहिले आफैतिर फर्केर विगतका आदर्श, त्याग र समर्पणको बाटोमा आफूलाई उभ्याउने कि आदर्शबाट स्खलित अवस्थामा लैजाने भन्ने समीक्षा अहिले गर्नु पर्ने बेला आएको प्रचण्डको भनाइ थियो ।
 
जनवादी क्रान्ति पूरा गर्नका लागि आवश्यक त्याग, बलिदान र समर्पण पार्टीले सम्पूर्ण रुपले गरेको भन्दै प्रचण्डले अब समाजवादी क्रान्तिको तयारी गर्नु पर्नेमा जोड दिएका थिए । उनले भने, ‘जनवादी क्रान्तिका लागि आवश्यक सबै त्याग र बलिदान हामीले ग¥यौं, अब समाजवादी क्रान्तिको तयारी गुर्न पर्ने छ । यसको लागि विचारको स्पष्टता हामीमा आयो त ? त्यो अनुसारको ब्यवहार, आचरण हामीमा छ त ? प्रष्टता जरुरी छ ।’
 
अध्यक्ष प्रचण्डले विचार, राजनीति, रणनीति र संगठनात्मक जीवन आचरणमा प्रष्टता ल्याउनु पर्ने चुनौती अहिले पार्टीमा आइपरेको बताए । उनले त्यसो गर्न नसके पूर्वी यूरोपका कम्युनिष्ट आन्दोलनभन्दा नेपालको कम्युनिष्ट आन्दोलन पनि फरक नहुने धारणा राखे ।
 
‘सत्ता प्राप्ति अगाडिको त्याग, समर्पण, बलिदानी सत्ताप्राप्ति पछाडि कतै हाम्रो स्खलन हँुदै त छैन ? दिनदिनै थाहै नपाई स्खलित हँुदै त छैनौं ? नाम कम्युनिष्ट पार्टीको छ । तर साँच्चिकै कम्युनिष्ट जस्तै छौं त हामी ? जाने बाटो समाजवाद भनेका छौं, के साँच्चै त्यो समाजवादको बाटोमा अगाडि बढ्ने योद्धा बन्न सकेका छौं त ?’ प्रचण्डले भने, ‘ब्यवहार, आचरण हेर्दा काँग्रेसहरु जस्तै भयौंं भने के फरक भयो र ? यसमा हामीले समीक्षा गर्नु पर्ने छ ।’
 
अध्यक्ष प्रचण्डले हिजोका राजा महाराजाले पनि विकासको मूल फुटाउने बताए पनि जनताको जीवन ब्यवहारलाई बेवास्ता गर्दा अरु नै मूल फुटाएको प्रसंग सुनाए । उनले पार्टीभित्र अर्काे एउटा आन्दोलन, अभियान र मिसन चाहिएको भन्दै त्यसका लागि एकतावद्ध संकल्पको खाँचो रहेको धारणा राखे ।

समाजवादको प्राप्तिका लागि सबै पद, प्रतिष्ठा, लोभलालच छोडेर कम्युनिष्ट पार्टीको एकता गरिएको भन्दै उनले विशाल कम्युनिष्ट पार्टी निर्माणपछि जनताको अपेक्षा पूरा गरेर हिँड्नु पर्ने बताए ।
उनले भने, ‘नेतृत्वले पनि पद र प्रतिष्ठाका लागि तँछाडमछाड गरौं, गुट उपगुट बनाऔं भनेर होइन, आफनो लागि त्याग देखाऔं भनेर पार्टी एकता गरिएको हो । तर चीज कहिले कहिले बाहिर गएको जस्तो देखिएको छ । यसलाई करेक्सन गरेर (सच्चाएर) जानु पर्छ ।’
 
नेकपाका वरिष्ठ नेता झलनाथ खनालले समाजवादको यात्रामा अब पार्टी अगाडि बढनु पर्ने र त्यसले मात्र अग्रज नेताहरुको सपना सार्थक हुने बताए ।
 
सहाना प्रधानका छोरा उमेशलाल श्रेष्ठले नेताहरुले श्राद्ध गरेको रुपमा मात्र दिवंगत नेताहरुलाई सम्झने भन्दा पनि उनीहरुको पिना र आर्दश पूरा गर्नेतिर लाग्नु पर्ने धारणा राखेका थिए ।

कार्यक्रम प्रतिष्ठानकी अध्यक्ष सांसद रामकुमारी झाँक्रीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस