नेकपा नेता वामदेव गौतम र विष्णु पौडेल सिंगापुर जानुको रहस्य यस्तो छ

सफल खबर संवाददाता

मंगलबार, २४ भदौ २०७६, १३ : ३०
नेकपा नेता वामदेव गौतम र विष्णु पौडेल सिंगापुर जानुको रहस्य यस्तो छ

काठमाडौं । अघिल्लो साता एक दिनको फरक पारेर नेकपाका सचिवालय सदस्य तथा प्रस्तावित उपाध्यक्ष वामदेव गौतम र महासचिव विष्णु पौडेल त्यतिबेला उपचार गराइरहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न सिंगापुर पुगे । उपचारपछि प्रधानमन्त्री ओली स्वदेश फर्किए । ओलीसँगै फर्किए गौतम र पौडेल पनि । 

गत मंगलबार उपाध्यक्ष गौतम र महासचिव पौडेलसँगै सिंगापुर जाने तय भएपनि पौडेल मात्र उडे । तर मंगलबार आफ्नो सिंगापुर भ्रमण रद्द गरेका गौतम भोलिपल्ट बुधबार अचानक सिंगापुर उडेपछि धेरैको चासो बढेको थियो । प्रधानमन्त्री ओलीले फोन गरेर बोलाएपछि गौतम सिंगापुर पुगेको नेकपा स्रोतले जनाएको छ । 

देशभित्र पार्टीको मुख्य नेतृत्वमा नहुँदा पनि कतै जाँदा प्रधानमन्त्री ओली ठूलै तामझाम गर्ने, विमानस्थलबाटै जयजयकार गराउने नेताका रुपमा परिचित छन् । शक्ति देखाउन रुचाउने स्वाभावका कारण अहिले सिंगापुरमा पुगेर पनि त्यही शक्ति प्रदर्शन गर्न खोजेको बताइन्छ । स्रोतका अनुसार हाल ओलीले पार्टीभित्रका शक्तिशाली नेताहरु आफूसँग रहेको र शक्तिशाली भएको सन्देश दिने अर्थका रुपमा गौतम र पौडेललाई सिंगापुर बोलाएका हुन् । गौतम र पौडेल सिंगापुर जानुको मुख्य कारण यही नै भएको स्रोतको दाबी छ ।

नेकपाभित्रको पछिल्लो समिकरणमा ओली, गौतम र पौडेल एकै स्थानमा छन् । संसदीय चुनावमा भएको पराजयपछि ओलीसँग गौतमको दूरी बढेको थियो । तर पछिल्लो पटक अध्यक्ष ओलीले गौतमलाई उपाध्यक्ष बनाउने प्रस्ताव सचिवालयमा राखेपछि त्यो दूरी पनि निकै छोटिएको दाबी गरिएको छ । नेकपा अध्यक्ष ओलीको प्रस्ताव सचिवालयले सर्वसम्मत रुपमा स्वीकार गर्दै स्थायी कमिटीको बैठकमा लैजाने निर्णय यसअघि नै गरेको छ । 

नेकपाका गौतम निकटस्थहरु गौतमको सिंगापुर यात्रामा कुनै राजनीति सन्देश नरहेको दाबी गर्छन् । ‘स्वस्थ्य हुनु भएका अध्यक्ष ओलीलाई लिन गौतम र पौडेल सिंगापुर जानु भएको हो’ गौतम निकट स्रोतले भन्यो, ‘अध्यक्षको स्वास्थ्य राम्रो भयो । सबैका लागि यो खुशीको कुरा हो । त्यही खुशी व्यक्त गर्न गौतम सिंगापुर गएका हुन् ।’ 

समाचार स्रोतका अनुसार गौतम कुनै राजनीतिक सन्देशबिना अध्यक्ष ओलीले पनि नबोलाएको अवस्थामा ‘कर्तव्यबोध’ ले गर्दा सिंगापुर गएका हुन् । १२ वर्षअघि मृगौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओली एक महिनाभित्र दोस्रो पटक उपचारका लागि सिंगापुर पुगेका थिए । सिंगापुरको सरकारी नेसनल युनिभर्सिटी अस्पतालमा ओलीको मृगौलाको प्लाजा फेरेसिस गरिएको थियो । जसले मृगौला प्रत्यारोपण को काम गर्ने क्षमता बढाउने बताइएको छ । 

छैठौँ चरणको प्लाजा फेरेसिस बुधबार सकिने प्रधानमन्त्रीको सचिवालयले जनाइसकेको छ । साउनमा ओलीले दस दिन सिंगापुर बसेर उपचार गराएका थिए । त्यसअघि पनि पटक पटक ओलीका विदेशमा उपचार भैसकेको छ । तर उपचार गर्ने रकमको स्रोतको विषयमा भने पटक पटक प्रश्न उठ्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस