अर्को चुनावमा जनतासामु वाचा लिएर जाँदैनौं, पाँच वर्षमा भएका विकास र प्रगतिको ग्राफ लिएर जान्छौं : योगेश भट्टराई

सफल खबर संवाददाता

सोमबार, २३ भदौ २०७६, १२ : ५४
अर्को चुनावमा जनतासामु वाचा लिएर जाँदैनौं, पाँच वर्षमा भएका विकास र प्रगतिको ग्राफ लिएर जान्छौं : योगेश भट्टराई

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य तथा पर्यटनमन्त्री योगेश भट्टराईले अर्को चुनावमा जनतासामु जाँदा पाँच वर्षमा भएका विकास र प्रगतिको ग्राफ लिएर जाने बताएका छन् ।

नेपाल पर्यटक यातायात व्यवसायी सङ्घको १६ औं वार्षिक साधारण सभाको आइतबार साँझ उद्घाटन गर्दै मन्त्री भट्टराईले भने, ‘अर्को चुनावमा जनतासामु वाचा लिएर जाँदैनौं, पाँच वर्षमा भएका विकास र प्रगतिको ग्राफ लिएर जान्छौं ।’ 

अहिले सरकारको १८ महिनाको अवधिमै राष्ट्रिय गौरवका आयोजनाले उल्लेख्य प्रगति हासिल गरेको, सात अङ्कको आर्थिक वृद्धि भएको, अन्य क्षेत्रमा सकारात्मक परिवर्तनका सूचक देखिएको मन्त्री भट्टराईको भनाइ छ ।

पर्यटनमन्त्री भट्टराईले प्रतिपक्षी दलले सरकारको आलोचना मात्र हैन आर्थिक विकास र समृद्धिको यात्रामा सकारात्मक सहयोग गर्नुपर्ने विचार व्यक्त गरे । मन्त्री भट्टराईले सरकार गठन भएको १८ महिनाको अवधिमा समृद्धिको आधार खडा भएको दाबी गर्दै पूर्ण परिणामका लागि पाँच वर्ष कुर्नुपर्ने बताए ।

उनले पर्यटन सम्भावनायुक्त व्यापक क्षेत्र भएको र आजको पर्यटनको दायरा फराकिलो बनिरहेको परिप्रेक्षमा पाहुनालाई सुरक्षित गन्तव्यमा पुर्‍याउन पर्यटक यातायात व्यवसायीले निर्वाह गरेको भूमिकाको प्रशंसा पनि गरे । पर्यटक यातायात व्यवसायीले उठाएका समय सान्दर्भिक समस्यालाई अन्तर मन्त्रालयबीच समन्वय तथा मन्त्रिपरिषद्बाट निर्णय गराएर भए पनि समाधानका निम्ति पहल गरिने मन्त्री भट्टराईको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस