आक्रोशित जनताले विकल्प खोजेको राणाको दाबी

सफल खबर संवाददाता

शनिबार, २१ भदौ २०७६, १६ : २०
आक्रोशित जनताले विकल्प खोजेको राणाको दाबी

सिन्धुली​ । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्ष पशुपति शमशेर राणाले ओली सरकारको कुशासनबाट आक्रोशित जनताले विकल्प खोजेको बताएका छन् ।

‘इतिहासकै बलियो दुई तिहाइको नेकपा सरकारलाई जनताले मौका दिएकै हो तर सरकारले सिन्को पनि भाँच्न सकेन । विगत १६ महिनामा ओली सरकारले भ्रष्टाचार, कुशासन र अधिनायकवाद उन्मुख शासन शैली बाहेक केही दिन सकेन,’ अध्यक्ष राणाले शनिबार भने ।

‘त्यसकारण जनतामा निराशा छाएको छ र आक्रोश बढेर गएको छ । जनता अब पर्खेर बस्नेवाला छैनन्,’ सिन्धुली जिल्लास्तरीय भेलालाई सम्बोधन गर्दै राणाले भने ।

गुठी विधेयक र रवी लामिछाने प्रकरणमा जनताको आक्रोश छताछुल्ल भएको भन्दै जनताले खोजेको विकल्प राप्रपा ९संयुक्त० ले दिने अध्यक्ष राणाले दावी गरे ।

सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको र राष्ट्रपतिको भूमिका निष्पक्ष नभएको जिकिर गर्दै उनले निष्पक्ष संस्थाको रुपमा राजसंस्थाको आवश्यकता टड्कारो रहेको बताए । जनताको चाहना बमोजिम राजसंस्था र सनातन हिन्दु राष्ट्रको लागि आन्दोलन गर्ने पार्टीको योजना रहेको राणाले जानकारी गराए ।
 
अर्का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले सत्तारुढ दलहरुले माक्र्सवादको नाममा मुलुकमा लुटतन्त्र मच्चाएको टिप्पणी गरे ।

नेता बनेर जनताको सेवा गर्ने होइन सरकारमा पुगेर अकुत सम्पत्ति आर्जन गर्ने प्रवृत्ति बढेको छ भन्दै लोहनीले नेताहरुको सम्पत्ति छानबिन गर्न माग गरे ।

जनआन्दोलनले माग नै नगरेको धर्मनिरपेक्षता लादेर अन्याय गरिएको भन्दै ८१ प्रतिशतभन्दा बढी हिन्दु र ९२ प्रतिशत ओमकार समुदाय भएको नेपालमा सनातन हिन्दु राष्ट्रको विकल्प नभएको अध्यक्ष लोहनीले दावी गरे ।

लोहनीले राप्रपा (संयुक्त) बेलायत, नर्वे जस्तो संवैधानिक राजसंस्था सहितको प्रजातन्त्र र धार्मिक स्वतन्त्रता सहितको हिन्दु राष्ट्रमा अडिग रहेको बताए । 

देशको आवश्यकता अनूरुप राप्रपा ९संयुक्त० सशक्त भएर अघि बढ्ने लोहनीले बताए । यसै सन्दर्भमा समान विचारधार भएका दल र शक्तिहरुसँग राप्रपा (संयक्त) ले एकता गर्ने समेत उनले जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस