प्रदेशसभा ३ को पहिलो बैठक आज बस्दै

विहीबार, १८ माघ २०७४, ०९ : ५१
प्रदेशसभा ३ को पहिलो बैठक आज बस्दै

प्रदेश ३ को पहिलो प्रदेशसभा अधिवेशन आजबाट हेटौंडामा सुरु हुँदैछ । सात प्रदेशमध्ये प्रदेश ३ को अधिवेशन सबैभन्दा पहिले हुन लागेको हो ।

बुधबार साँझ बसेको सर्वदलीय बैठकले अधिवेशनको कार्यसूची तयार पारेको थियो । कार्यसूचीअनुसार बैठकको सुरुमा प्रदेश सांसदका ज्येष्ठ सदस्यले बैठकको अध्यक्षता गर्ने छन् । जेष्ठ सदस्य भएकाले डोरमणि पाैडेलले बैठकको अध्यक्षता गर्नेछन् । त्यसपछि उनले प्रदेश प्रमुख अनुराधा कोइरालाबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाउने छन् ।

प्रदेश ३ सबै (१३) जिल्लाका प्रदेश सांसद् अधिवेशनमा सहभागी हुनेछन् ।  उनीहरु राजधानी हेटौंडा पुगिसकेका छन् । क्षेत्रीय शिक्षा निर्देशनालयमा अधिवेशन हुनेछ ।

३ नम्बर प्रदेशमा ११० सदस्यीय संसद छ । काठमाडौं, भक्तपुर ललितपुर,  सिन्धुली, रामेछाप, मकवानपुर, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, दोलखा, नुवाकोट, धादिङ, रसुवा र चितवन जिल्ला यस प्रदेशमा पर्छन्

यो सातैवटा प्रदेशमध्ये सबैभन्दा ठूलो प्रदेशसभा हो । यो प्रदेशसभामा एमालेको एकल बहुमत छ भने संसदमा कांग्रेस, एमाले, माओवादी, विवेकशील साझा, नयाँशक्ति, राप्रपा, नेमकिपा र राप्रपा प्रजातान्त्रिक समेत ८ दलको प्रतिनिधित्व छ ।

 

प्रतिक्रिया दिनुहोस