क्रसर उद्योगका कारणले राप्ती नदीको पुल जीर्ण

शनिबार, ०७ भदौ २०७६, १० : ५१
क्रसर उद्योगका कारणले राप्ती नदीको पुल जीर्ण

तुलसीपुर । हुलाकी राजमार्गअन्तर्गत दाङको लमही–कोइलावास सडकखण्डको राप्ती नदीमा पर्ने पुल जीर्ण बन्दै गएको छ । समयमै पुल मर्मत नहुँदा पुलको अधिकांश ठाउँको कालोपत्र उप्किएको छ । पुल निर्माणका लागि प्रयोग गरेका फलामका सामग्रीमा खिया लागेका छन् । 

यसले आवतजावतमा समस्या हुने गरेको स्थानीय भीम ओलीले बताउनुभयो । “पुलबीचमा खाल्डाखुल्डी छन्, यसले आवतजावतमा समस्या हुने गरेको छ”, उहाँले भन्नुभयो, “खाल्डा तत्काल पुर्न आवश्यक छ”, पुल जीर्ण हुँदा दुर्घटनाको जोखिम बढेको उहाँले बताउनुभयो । विसं २०५६ मा निर्माण भएको उक्त पुलको फलाममा खिया लाग्दा समस्या भएको हो । नदी किनारका क्रसर उद्योगका कारणले पुल जीर्ण बन्दै गएको उहाँको भनाइ छ ।

नदी किनारमा खुलेका क्रसर उद्योगका सवारीसाधन ओहोरदोहोर गर्नुका साथै पुल नजिक हुने अवैध उत्खननले गर्दा पुल जीर्ण अवस्थामा पुगेको स्थानीय अमृत खड्काले बताउनुभयो । 

“पुलमा क्रसर उद्योगका ठूला–ठूला गाडी आवतजावत गर्छन्”, उहाँले भन्नुभयो, “पुल नजिकैबाट ढुङ्गा, गिट्टी, बालुवा निकाल्ने गरिएको छ, यसले गर्दा पनि पुल जीर्ण बन्दै गएको छ ।”

निर्माण भएको २० वर्ष पुग्नै लाग्दा मर्मतलाई कुनै निकायबाट पहल नभएको गुनासो छ । लमही–कोइलावास सडकअन्तर्गतको उक्त पुलको चौडाइ चार दशमलव २० मिटर छ । पुलमा १८ मेट्रिकटनभन्दा बढी भारवहनको सवारी चलाउन नपाइने प्राविधिकको भनाइ छ । 

पुल हुलाकी सडकअन्तर्गत रहेकाले हुलाकी सडकले मर्मत गर्नुपर्ने सडक डिभिजन दाङका सूचना अधिकारी क्षितिज पोखरेलले जानकारी दिनुभयो ।  त्यस्तै दाङको राप्ती लोकमार्गअन्तर्गत बबई नदीको पुल पनि जीर्ण बनेको छ । तुलसीपुर–अमेलिया सडकखण्डको सित्तलपुरस्थित बबई नदीको पक्की पुलको अवस्था जीर्ण बन्दै गएको हो । 

पुलमा गरिएको पुरानो कालोपत्र ठाउँ–ठाउँमा खाल्डाखुल्डी  परेपछि आवतजावतमा समस्या हुने गरेको छ । समयमै मर्मत नहुँदा अहिले ठाउँ–ठाउँमा ठूला–ठूला खाल्डाखुल्डी पर्नुका साथै पुलको रेलिङ कमजोर हुँदै गएको स्थानीयवासीले बताएका छन् ।

पुलको पूर्वतिरको भाग कमजोर हँुदै गएको छ । विसं २०५५ मा उक्त पुल निर्माण गरिएको हो । हाल सो पुल भएर दैनिक ५०० बढी यातायातका साधन आवतजावत गर्छन् । –रासस

प्रतिक्रिया दिनुहोस