हातहतियार खरखजाना मुद्दामा फरार अभियुक्त ९ वर्षपछि पक्राउ

मंगलबार, ०३ भदौ २०७६, १७ : ०४
हातहतियार खरखजाना मुद्दामा फरार अभियुक्त ९ वर्षपछि पक्राउ

रौतहट । हातहतियार खरखजना मुद्दामा फरार रहेका एक अभियुक्त ९ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा गरुडा नगरपालिका–२ का ४२ वर्षीय रामएकवाल सहनी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । 

हातहतियार खरखजाना मुद्दामा फरार रहेका सहनीलाई प्रहरीले पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी निरीक्षक पप्पु नायकले जानकारी दिनुभएको छ । 

भूमिगत तराई मुक्ति मोर्चाका हतियारधारी समूहमध्येका सहनीले २०६७ सालमा सर्लाहीमा प्रहरीमाथि गोली हानेर ५४ एमएमको चाइनिज पेस्तोल लुटेर फरार भएका थिए । 

सो घटनामा संलग्न रहेका पाँच जनाको समूहमध्ये दुर्गा भगवती गाउँपालिका–२ स्थितबाट प्रहरीले दुई जनाको साथबाट कटुवा पेस्तोल एक, गोली एक,  खोका दुई थान फेला पारी नियन्त्रणमा लिएको थियो ।  

हातहतियार खरखजाना मुद्दामा फरार रहेका सहनीलाई भने सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । पक्राउ परेका सहनीलाई हातहतियार खरखजना मुद्दामा आवश्यक कारवाही र थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सर्लाहीमा बुझाइने प्रहरी निरिक्षक नायकले बताउनुभयो ।(रासस)

प्रतिक्रिया दिनुहोस