नेकपा सचिवालय बैठक बस्दै, सचिवालय सदस्य थपिने

सफल खबर संवाददाता

आइतबार, ०१ भदौ २०७६, १५ : ४५
नेकपा सचिवालय बैठक बस्दै, सचिवालय सदस्य थपिने

चितवन । नेपाल कम्युनिस्ट पार्टी नेकपा०को बैठक अहिले ४ बजेपछि बस्दैछ । उक्त बैठकमा पार्टीको सचिवालय सदस्यमा केही नेताहरु थप्ने तयारी भइरहेको पार्टी स्रोतले जानकारी दिएको छ ।
स्रोतका अनुसार, पार्टीको दोस्रो वरियतामा माधव नेपालको साटो आफूलाई ल्याउनुपर्ने झलनाथ खनालको प्रस्तावले सचिवालय बैठकमा प्रवेश गर्न नपाउँदै काउन्टर प्रस्ताव आएको छ ।

नेता नेपालले तत्कालीन एमालेको वरियताअनुसार नेताहरुलाई सचिवालयमा ल्याउन प्रस्ताव राखेका हुन् । त्यसो गरे तत्कालीन उपाध्यक्षहरु अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली र भीम रावल सचिवालयमा आउनुपर्छ र उनीहरुको वरियता ईश्वर पोखरेल र महासचिव विष्णु पौडेलको भन्दा माथि हुनेछ । किनकी तत्कालीन एमालेमा पोखरल महासचिव र पौडेल उपमहासचिव थिए ।

 साबिक एमालेमा निवर्तमान पार्टी प्रमुखको हैसियतामा केपी ओलीपछि झलनाथ खनाल वरिष्ठ नेता थिए । खनालपछि नेपाल थिए । तर एमाले र माओवादी मिलेर नेकपा बनेपछि वरियताक्रममा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डपछि नेता नेपाललाई ल्याइयो । त्यसबेला नै खनालले आपत्ति जनाएका थिए ।

पछिल्लो समय नेकपामा नेताद्वय झलनाथ खनाल र बामदेव गौतम, ओलीसँग निकट हुन पुगेको चर्चा छ । त्यहीबेला वरियता विवाद झिकेपछि माधवकुमार नेपाल पक्ष भने रुष्ट बनेको छ ।


 

प्रतिक्रिया दिनुहोस