प्रदेश नम्बर ३ को प्रथम अधिवेशनको तयारी अन्तिम चरणमा

बुधबार, १७ माघ २०७४, १५ : ३९
प्रदेश नम्बर ३ को  प्रथम अधिवेशनको तयारी अन्तिम चरणमा

हेटौँडा । प्रदेश नं ३ को प्रदेशसभाको प्रथम अधिवेशन भोलि बिहीबार दिनको १ बजेबाट हेटौँडाको सभागृहमा शुरु हुने भएको छ । 
उक्त सभागृह अधिवेशनका लागि तयारी अन्तिम चरणमा पुगिसकेको प्रदेशसभा सचिवालयका अधिकृत विनोद पौडेलले जानकारी दिनुभयो । 

अहिले उक्त सभागृहमा कुर्सी सजावट, माइक व्यवस्था, प्रदेश सभामुख रहने स्थान र सचिवालयका सचिवहरु बस्ने कार्यकक्ष तोकिसकिएको छ । 

यसैबीच भोलिदेखि शुरु हुने प्रदेशसभाको अधिवेशनको प्रथम बैठकमा कार्यबाहक सभामुख डोरमणि पौडेलले प्रदेश प्रमुख अनुराधा कोइरालाले डाक्नुभएको बैठकको पत्र, आन्तरिम कार्यविधिको प्रस्तावना र संवैधानिक रुपबाट सभामुखको निर्वाचन मिति तोक्ने विषयमा छलफल हुने प्रदेश सचिवालयका सहसचिव डा रोजनाथ पाण्डेले आज सञ्चारकर्मीलाई जानकारी गराउनुभयो । 

उहाँका अनुसार हाल अस्थायी रुपमा दललाई पहिलो, दोस्रो, तेस्रो र चौथोका रुपमा स्थान तोकिने कार्यतालिका रहेको र बिहीबार करिब १ः३० बजे अधिवेशनको समय निर्धारण गरिएको बताउनुभयो । 

प्रदेशसभाका कूल ११० जना सदस्यका लागि बस्ने स्थान निर्धारण गरिएको, दर्शक ५० जना र सञ्चारकर्मीको लागि २५ स्थान छुट्टाइएको संसद् सचिवलायले जनाएको छ । 

अन्य बाहिर जिल्लाबाट आउने सञ्चारकर्मीको लागि संसद् परिषद्भित्र डिस्प्लेमार्फत हेर्न सकिने व्यवस्था मिलाइएको पनि सचिवालयले जानकारी दिएको छ । (रासस) 

प्रतिक्रिया दिनुहोस