छुट्टाछुटै घटनामा दुई जनाको मृत्यु

आइतबार, २६ साउन २०७६, १२ : ४५
छुट्टाछुटै घटनामा दुई जनाको मृत्यु

बनियानी । झापा हल्दिबारी गाउँपालिका–२ मा मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका एक जना पैदलयात्रीको आज बिहान मृत्यु भएको छ । 

मृत्यु हुनेमा स्थानीयवासी ३५ वर्षीय डम्बरबहादुर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।  दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको मे ७ प ४१३७ नं को मोटरसाइकलले गएराती ठक्कर दिँदा गम्भीर घाईते भएका  तामाङको उपचारको क्रममा बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । 

दुर्घटनामा तामाङसहित मोटरसाइकल चालक विर्तामोड–३ का ४५ वर्षीय देवबन्धु उप्रेती र मोटरसाइकलमा सवार १३ वर्षीय राकेश ठाकुर घाइते भएका थिए । घाइतेमध्ये उप्रेती र ठाकुरको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

त्यस्तै, झापाको भद्रपुर नगरपालिका–१० का बासुदेव जोगीको १२ वर्षीय छोरा सुमन जोगीको पोखरीमा डुबेर मृत्यु भएको छ । घरबाट शनिबार दिउँसो १ बजे नै हिँडेका बालक बेलुकासम्म घर नफर्केपछि खोजतलास गर्ने क्रममा राति करिब ८ः३० बजे बिष्णु कन्स्ट्रक्सनको माछा पोखरीमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
मृतक बालकको शवको पोष्टमार्टमका लागि मेची अञ्चल अस्पताल पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । –रासस 

प्रतिक्रिया दिनुहोस