एचआइभी सङ्क्रमितहरुको स्वास्थ्य बीमा

शुक्रबार, २४ साउन २०७६, १४ : ४३
एचआइभी सङ्क्रमितहरुको स्वास्थ्य बीमा

चितवन । चितवनका स्थानीय तहहरुले एचआइभी सङ्क्रमितहरुको स्वास्थ्य बीमा गर्न शुरु गरेका छन् । अहिलेसम्म जिल्लामा रहेका ११० जना सङ्क्रमितको स्वास्थ्य बीमा गरिएको छ । 

स्थानीय तहहरुले आफ्नो नीति तथा कार्यक्रमअन्तर्गत नै राखेर बीमा गरेका हुन् । भरतपुर महानगरपालिकाले ५७, कालिका नगरपालिकाले १३, रत्ननगर नगरपालिकाले नौ, राप्ती नगरपालिका र माडी नगरपालिकाले आठ÷आठ र खैरहनी नगरपालिकाले पाँच जनाको स्वास्थ्य बीमा गरेको भरतपुर अस्पतालमा रहेको एएचएफ नेपालका कार्यक्रम प्रमुख कृष्णहरि सापकोटाले जानकारी दिनुभयो । 

सापकोटाका अनुसार भदौबाट लागू हुनेगरी उनीहरुको बीमा गरिएको हो । सङ्क्रमितहरुको स्वास्थ्यमा धेरै समस्या देखिने भएकाले बीमा गरिएको उहाँले बताउनुभयो । अहिले जिल्लामा एक हजार ७२९ जना सङ्क्रमित छन् । उनीहरुमध्ये ८९७ जनाले नियमित औषधि सेवन गरिरहेका छन् । 
 
जिल्लामा रहेका सबै सङ्क्रमित खुलेर बाहिर आउन सकून् भन्ने उद्देश्यका साथ स्थानीय तहहरुसँगको समन्वय गरी बीमा कार्यक्रम शुरु गरिएको सापकोटाले जानकारी दिनुभयो । अस्पतालमा औषधि खाएको प्रमाण पेश गरेपछि सङ्क्रमितको बीमा स्थानीय तहले गर्ने गर्दछ । सन् २०१९ को जनवरीदेखि जुनसम्म सात हजार ८०१ जनाको नमूना परीक्षण गर्दा ५४ जना सङ्क्रमित भेटिएका छन् । (रासस)
 

प्रतिक्रिया दिनुहोस