बाढी प्रभावित जनता दिनभर तातो घाम र राती बादल लागेको आकाश हेरेर जीवन जीउन बाध्य

सफल खबर संवाददाता

बुधबार, १५ साउन २०७६, १७ : ३७
बाढी प्रभावित जनता दिनभर तातो घाम र राती बादल लागेको आकाश हेरेर जीवन जीउन बाध्य

काठमाडौं । असारको अन्तिम साता आएको बाढीबाट प्रभावित जनता दिनभर तातो घाम र राती बादल लागेको आकाश हेरेर जीवन जीउन बाध्य भएका छन् । साना केटाकेटी खान नपाएर त्यत्तिकै बसेका छन् । तर सरकारमा रहेको कोष खर्च गर्ने निकायको रुपमा रहेको गृह मन्त्रालय चुपचाप बसिरहेको छ । 
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा मात्रै पाँच अर्बभन्दा बढी रकम थुप्रिएर बसेको छ । सरकारले कोषमा जम्मा भएको रकम समेत खर्च गर्न सकेको छैन । गृहमन्त्री रामबहादुर थापालाई बाढी पहिरो जस्ता घटना सामान्य लागेको छ । उनलाई समस्या समाधानमा कुनै चासो र चिन्ता देखिएको छैन । 
गृह सचिव प्रेमकुमार राई भने प्रधानमन्त्री केपी शर्मा ओलीलाई गृहमन्त्रीले काम गरेनन्, कुनै योजना ल्याएनन्, कुनै तदारुकता देखाएनन् भन्दै पानीमाथिको ओभानो बन्ने प्रयासमा लागेका छन् । हरेक दिन जसो प्रधानमन्त्रीको जी, हजुरी र चाकरीमा रमाउने विशेष स्वभाव भएका राईलाई अवकाशपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सदस्य पड्काउने भूतले काम गरेको छ । 
अख्तियारको आयुक्त पाउने लोभमा जनता भोक भोकै बाढी पहिरो पीडित भइरहँदा समेत राई भने केही नभएको जसरी मन्त्री थापालाई पनि काम गर्न नदिने, आफू पनि केही नगर्ने तथा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा भएको रकम खर्च गर्ने वातावरण बनाउन समेत नलागेको जानकारहरुको भनाइ छ । 
विपदमा खर्च गर्ने भनेर जम्मा पारिएको राहत कोषलाई आफ्नो बपौती जसरी चलाउन नदिन मुख्य सचिव लोकदर्शन रेग्मी, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव विष्णु लम्साल लगायतले रोकेको जानकारहरुको टिप्पणी छ । सामान्य खर्चबाट भइहाल्छ नि हजुर भन्दै उनीहरुले राहत तथा उद्धारका लागि खर्च गर्ने रकम समेत परिचालन हुन नदिएको बताइन्छ । 
पछिल्लो बाढीले विशेषगरी सर्लाही, रौतटह, बारा, पर्सा, सिराहा र सप्तरीलगायतका जिल्ला बढी प्रभावित भएका छन् । यस्तै मनसुन जारी रहेका कारण अन्य जिल्लामा समेत थप प्रभाव पर्न सक्ने देखिएको छ । बाढी पहिरो आउने सम्भावना जारी रहेका कारण पनि ती जिल्लामा थप राहत तथा सहयोग जरुरी पर्ने देखिन्छ । तर प्रधानमन्त्रीले नै बाढी पीडितलाई राहत दिने तर्फ कुनै पनि पहल गरेका छैनन् । पहल नभएका कारण बाढी पीडितको दैनिक जीवन कष्टकर बनेको छ । 
गृहमन्त्री थापा समेत यस विषयमा चासो दिनु नपर्ने जसरी कुनै पनि निर्देशन नै नदिई बसेका छन् । उनलाई जनता मरे पनि मरुन, मेरो पदमात्रै नजओस् भन्ने चिन्ताले काम गरेको छ । कञ्चनपुरको निर्मला पन्तको विषयमा गत मंगलबार उनले मन्त्रालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा दिएको अभिव्यक्ति नै त्यसको परिचायकको रुपमा देखिएको छ । 
‘निर्मला पन्तहरु हिजो पनि मारिएका थिए, आज पनि मारिए । बलत्कारमा परे, भोलि पनि मर्छन, बलात्कारमा पर्छन्’ भन्दै उनले जग हँसाउने काम गरे । गृहमन्त्रीको त्यस्तो अभिव्यक्तिलाई लिएर चर्को आलोचना भएको छ । विगतका गृहमन्त्रीभन्दा थापा कुनै पनि अर्थमा फरक नभएको बताइन्छ । विगतका कमल थापाहरुले जस्तै गृहमन्त्रीले निरपराध नागरिक मर्दा समेत भिडन्तमा मरेको भनेर वक्तव्यबाजी दिएका छन् । भलै उनले आदेश नदिएको हुन सक्छ, तर तथ्यलाई बंग्याएर लोक हँसाउने काम गृहमन्त्री थापाले गरेका छन् । 
गृहमन्त्रीका सुरक्षा सल्लाहकार रहेका र गृहमन्त्रीका सचिवालयका कर्मचारी र राजनीतिक कार्यकर्ताले ‘डोरी’ भन्दै उडाउने इन्द्रजीत राईका कारण पनि गृहमन्त्री दैनिकजसो आलोचनामा फँसेका छन् । राईले जे जे भन्यो त्यही त्यही प्रचार गराउने, त्यही त्यही बोल्दै हिँड्ने गृहमन्त्रीको स्वभावका कारण पनि उनी स्वयम् आलोचनामा परेका हुन् । 
गृहसचिव राई पनि कोभन्दा को कमको शैलीमा प्रस्तुत हुने गरेका छन् । कोही कसैलाई नटेर्ने, प्रधानमन्त्री ओलीका व्श्विासपात्रका रुपमा रहेका सचिव राईले मन्त्रीले गरेका, नगरेका, भए नभएका सबै पोल प्रधानमन्त्रीलाई लगाएर विवाद उत्पन्न गराउने गरेको गृह मन्त्रालयका उच्च अधिकारी बताउँछन् । सचिव राई, सुरक्षा सल्लाहकार राई र गृहमन्त्री उस्तै उस्तै दुरुस्तै भएपछि बाढीपीडित जनताले राहत पाउने कुरा पनि आकाशको फल आँखा तरी मर भएको छ ।

प्रतिक्रिया दिनुहोस