आज विश्व हेपाटाइटिस डे

एड्सभन्दा खतरनाक हेपाटाइटिस

सफल खबर संवाददाता

आइतबार, १२ साउन २०७६, १४ : ३७
एड्सभन्दा खतरनाक हेपाटाइटिस

चितवन । हेपाटाइटिस भाइरसद्वारा हुने सरुवा रोग हो । यस रोगले मानिसको कलेजोमा असर गर्दछ । अन्य मौसमभन्दा बर्षातको समयमा बढी देखा पर्दछ । यसको बेलैमा उपचार भएन भने लिभर क्यान्सर तथा सिरोसिस अफ लिभर हुने संभावना हुन्छ । चितवन मेडिकल कलेजका हेपाटाइटिस तथा कलेजो प्रत्यारोपण विशेषज्ञ डा सागर पौडेलका अनुसार हेपाटाइटिस एड्स भन्दा पनि खतरनाक मानिन्छ । 

तथ्यांकहरुमा हेपाटाइटिसबाट मर्नेको संख्या एड्सबाट मर्नेको संख्याभन्दा १० गुणा बढी भएको पाइन्छ । चिकित्सक पौडेलले मानव शरीरमा कलेजो महत्वपूर्ण अङ्ग हो । यो सुन्निएको अवस्था नै हेपाटाइटिस भएको बताए । विभिन्न विषाणुको संक्रमण, औषधिको प्रयोग, क्यान्सर आदि हेपाटाइटिसका कारण हुन् । 

चिकित्सकहरुका अनुसार मुख्य रुपमा हेपाटाइटिस भाइरस ए बी, सी, डी र ई पर्दछन् । संसारमा १४ लाख व्यक्तिलाई प्रत्येक वर्ष हेपाटाइटिस ‘ए’ ले आक्रमण गर्दछ भने २ करोड हेपाटाइटिस ‘बी’ को शिकार भएको पाइन्छ । हेपाटाइटिस ‘सी’ ले भने १५ करोडलाई आक्रमण गरिसकेको छ । प्रत्येक वर्ष करिब १० लाखको मृत्यु हेपाटाइटिसबाट भइरहेको छ । ७८ प्रतिशत कलेजोको क्यान्सरको कारण हेपाटाइटिस बी र सी देखिएको छ ।

हरेक वर्ष जुलाइ २८ मा विश्वभर हेपाटाइटिस डे मनाइन्छ । भरतपुरका चितवन मेडिकल कलेजले हेपाटाइटिस डेको अवसरमा आज दिनभर विविध कार्यक्रम गरेको छ । कलेजले भरतपुरमा हेपाटाइटिस सचेतना –यालीसमेत निकालेको छ । चितवन मेडिकल कलेजले हेपाटाइटिस तथा कलेजो प्रत्यारोपण ओपीडी सेवा समेत सुरु गरिसकेको छ । 

हेपाटाईटिस डे को अवसर पारेर चितवन मेडिकल कलेजले हेपाटोलोजी तथा कलेजो प्रत्यारोपण ओपीडी सेवा सुरु गरेको अस्पतालका अध्यक्ष तथा प्रबन्ध निर्देशक हरिशचन्द्र न्यौपानेले जानकारी दिनुभयो । चितवन मेडिकल कलेजले कलेजो प्रत्यारोपणको स्वीकृतिसमेत पाइसकेको उहाँले बताउनुभयो । यसको लागि दक्ष जनशक्तिको टिम तयार पारिसकेको छ । 

‘राजधानी बाहिर चितवनमा नै पहिलो पटक कलेजोको सफल प्रत्यारोपण गराउने् र देशकै कलेजो प्रत्यारोपणको हब बनाउने हाम्रो प्रयास छ’ अध्यक्ष न्यौपानेले भन्नुभयो, ‘कलेजो प्रत्यारोपणको तयारी ८० प्रतिशत पूरा भइसकेको छ ।’ आवश्यक उपकरण, पूर्वाधार निर्माण र दक्ष जनशक्तिको संयोजन मिलाउने काम लगभग सकिएको उहाँले बताउनुभयो ।
लक्षण 
ज्वरो आउनु, वाकवाकी, उल्टी हुनु, खान मन नलाग्नु, जीउ दुख्नु, शरीर पहेलो हुनु, अत्याधिक थकान महसुस हुनु, पिसाब पहेलो हुनु, पेट दुख्नु, जीउ चिलाउनु, पखाला लाग्नु वा कब्जियत हुनु यसका लक्षणहरु हुन् ।  

कारण 
रगतमा विलिरुविन बढेमा मानिसलाई हेपाटाइटिस हुने गर्छ । हेपाटाइटिस भएमा शरीर पहेलो देखिन थाल्छ । शरीरमा हेपाटाइटिसको संक्रमण विभिन्न कारणले हुने गर्छ । पानी, विषाक्त सुईको प्रयोग, असुरक्षित शारीरिक सम्बन्ध लगायतका कारण यो रोग एकबाट अर्को मानिसमा सजिलै सर्ने गर्छ । त्यसमध्य हेपाटाइटिस ए र ई पानी तथा दुषित खानेकुराका कारण सर्ने गर्छ । हेपाटाइटिस ‘ए’ एक जीर्ण संक्रामक रोग हो । यसलाई भाइरस हेपाटाइटिस पनि भन्ने गरिन्छ । इन्टेरो भाइरसको संक्रमणका कारण कलेजोमा संक्रमण हुने गर्छ । जब कलेजोले विलिरुविन छान्न सक्दैन, त्यतिबेला हेपाटाइटिस ‘ए’ हुने गर्छ । 

हेपाटाइटिस ‘बी’ भाइरसका कारण हुने एक बिमारी हो । यसलाई सेरम हेपाटाइटिस पनि भन्ने गरिन्छ । यो रोग रगत, थुक, पिसाब, वीर्य, शारिरिक सम्पर्क लगायतको कारण एक व्यक्तिबाट अर्कोमा सर्ने गर्दछ । हेपाटाइटीस ‘सी’ लिभरसित सम्बन्धित एक रोग हो । हेपाटाइटिस ‘सी’ नामक विषाणुको संक्रमणका कारण हेपाटाइटीस सी हुने गर्दछ । हेपाटाइटीस सी भएका मध्य करिब ७५ देखि ८५ प्रतिशत मानिसलाई कडा प्रकारको संक्रमण हुने गर्छ । जसले कलेजो खराब गर्ने मात्र नभई कलेजोको क्यान्सर, लिभर सिरोसिस समेत हुनसक्छ । जसले गर्दा मानिसलाई कलेजो प्रत्यापोपण गर्नु पर्ने अवस्था समेत सिर्जना हुनसक्छ ।

रोकथाम
कुनै पनि हेपाटाइटिस रोग रगत परिक्षणद्वारा पत्ता लाग्ने गर्छ । यदी तपाईलाई हेपाटाइटिस भएको छ भने त्यसको उपचार रोगमा निर्भर हुने गर्छ । तर कुनै पनि रोग भन्दा त्यसको रोकथाम गर्नु नै सबैभन्दा उत्तम उपाय हो । त्यसको लागि शरीरमा रोग लाग्न नदिने, दुषित पानी तथा खानेकुराको सेवन नगर्ने, खाना खानु अगाडी साबुन पानीले राम्ररी हात धुने सफासुघर बस्ने, फलफुल, तरकारीको सेवन गर्नु पूर्व त्यसलाई सफा पानीले राम्ररी सफा गर्ने, उमालेको पानीको मात्र सेवन गर्ने गर्नुपर्छ । 

प्रतिक्रिया दिनुहोस