नमुना सडकको हरिबिजोग, श्रेष्ठ कन्स्ट्रक्सनलाई कालोसूचीमा राख्न स्थानीयवासीको माग

सडकमा खाल्डो हो या खाल्डोमा सडक हो सवारीचालकलाई  छुट्याउनै मुस्किल

प्रकाश सिग्देल

आइतबार, १२ साउन २०७६, ११ : ३६
नमुना सडकको हरिबिजोग, श्रेष्ठ कन्स्ट्रक्सनलाई कालोसूचीमा राख्न स्थानीयवासीको माग

चितवन । रत्ननगर नगरपालिकाको टाँडी चोकदेखि निप्पनी चोकसम्मको नमुना सडकमा जस्तो  बिजोग सायदै अरु सडकमा पनि होला । यो सडकमा खाल्डो हो या खाल्डोमा सडक हो सवारीचालकलाई  छुट्याउनै मुस्किल हुने गरेको छ । यो सडक भएर यात्रा गर्नेहरुले सडकमा जात्रा नै देख्न पाउँछन् । 
नयाँ सडक पिच निमार्ण पूरा नहँुदै ठुला ठुला खाडल योभन्दा बढी जात्रा कहा हुन्छ ? यस्तो हुँदा पनि निर्माण कम्पनीलाई सडक निर्माणमा दबाव सृजना गर्न सरोकारवाला निकायको कुनै चासो छैन । सरोकारवाला निकाय मौन छन् । योेभन्दा ठुलो जात्रा के होला र ? सवारी चालकहरु प्रश्न गर्छन् ।
राज्यले संमृद्ध नेपाल सुखी नेपालीको नारा भजाइरहेको छ । तर पूर्व पश्चिम राजमार्गको चितवनको सौराहा छिर्ने मुख्य सडकको अवस्था यस्तो छ । यही सडकहँुदै सौराहा जाने हजारौँ पर्यटकले एक पटक यात्रा गर्दैमा बुझ्ने छन् संमृद्ध नेपाल सुखी नेपालीको नारा कति सार्थक हुन्छ भन्ने कुरा । 
नेपालको तेस्रो पर्यटकीय नगरी चितवनमा राज्यको मुख्य मार्ग पूर्वपश्चिम राजमार्ग यसरी ज्यानमारा सडकका रुपमा विकास भईरहँदा राज्य भने  २०२० लाई भ्रमण वर्षका रुपमा मनाउने उद्घोष गरिरहेको छ ।
जाबो १ किलोमिटर सडक बनाउन नसकेर पर्यटकलाई हरिबिजोग देखाउने यो राज्यले २०२० मा नेपाल आउने पर्यटकलाई यस्तै धराप सडक देखाएर नेपालको अन्तर्राष्ट्रिय क्षेत्रमा थप बेइज्जती गर्न खोजेको यात्रुहरु बताउँछन् ।

कामभन्दा धेरै भाषण गर्न र चर्का कुरा गर्न जान्यो भने सफल नेता भइने भन्ने भ्रम पालेका नेताकै कारण यतिका समयसम्म पनि सडक निर्माणले गति नपाएको र भ्रष्ट निर्माण कम्पनीहरुले लापरबाही गर्ने छुट पाएको स्थानीयहरुले बताए । 
सवारी चालक डिलाराम सापकोटा यही सडकका कारण दैनिक दुर्घटना उच्च भएको बताउँछन् । सडकका खाल्डाखुल्डीले पट्टा भाँचिने, गाडी बिग्रिने, दुर्घटना हुने सबै समस्या भएको उनको भनाई छ । यो सडक निमार्ण कार्य पूर्ण रुपमा सम्पन्न नहँुदै  ठुलाठुला खाडल परेर यात्रा निकै जोखिमपूर्ण बनेको छ ।  
रत्ननगर नगरपालिकाले नमुना सडक भनी नामाकरण गरेको यो सडकलाई स्थानीय र सवारी चालकले भने ज्यानमारा सडक भनी नामाकरण गर्न थालेका छन् । सडक डिभिजन कार्यालय चितवनले निर्माण गरेको यो सडकको निर्माणको जिम्मा श्रेष्ठ कन्स्ट्रक्सनले पाएको हो । 

यो सडकका कारण दैनिक दर्जनभन्दा बढी ठुलासाना सवारी दुर्घटना हुने गरेको सवारी चालकहरुले बताएका छन् । यस्तो बिजोग अवस्था हँुदा पनि नगरपालिकाले सडक निमार्णमा सडक डिभिजन र निर्माण कम्पनीलाई खबरदारी गर्न नसक्नु निकै दुःखद कुरा भएको चालकहरु बताउँछन् ।
सडक विभागले भने सडक मर्मत गर्नको लागि श्रेष्ठ कन्स्ट्रक्सनलाई पटकपटक आग्रह गरेको बताएको छ ।  श्रेष्ठ कन्स्ट्रक्सनले सडक निर्माणमा चरम लापरबाही गरेको भन्दै उसलाई कारबाही गरी कालोसूचीमा राख्नु पर्ने स्थानीयहरुले माग गरेका छन् ।
रत्ननगर नगरपालिकाका मेयर नारायण वन स्थानीय निकायले यो सडक मर्मतमा केही गर्न नसक्ने भन्दै उम्किए ।  आफूहरुले  सडक विभागलाई तत्कालै सडक मर्मत गरिदिन आग्रह गर्दै पत्राचार गरेको बताउँदै मेयर वनले सडक आफ्नो अधिकार क्षेत्रमा नपर्ने बताए । 

 

प्रतिक्रिया दिनुहोस