नेपालमा नाक, कान र घाँटीको क्यान्सर रोगी बढ्दै

सफल खबर संवाददाता

शुक्रबार, १० साउन २०७६, १८ : ०२
नेपालमा नाक, कान र घाँटीको क्यान्सर रोगी बढ्दै

चितवन । नेपालमा नाक, कान र घाँटीको क्यान्सर रोगी बढ्दै गएको पाइएको छ । नेपालमा भएका १२ वटा ठूला क्यान्सर अस्पतालको तथ्यांकअनुसार नाक, कान र घाँटीका क्यान्सर रोगी बढ्दै गएका छन् ।

१२ वटा ठूला अस्पतालका अनुसार २०१५ मा नयाँ क्यान्सरका रोगी ९ हजार ७१८ थपिँदा नाक, कान र घाँटीका क्यान्सर रोगी १ हजार ४९४ थिए । २०१६ मा नयाँ क्यान्सर रोगी बढेर १० हजार ७१५ पुग्दा नाक, कान, घाँटीका क्यान्सर रोगी एक हजार ५४१ भए । २०१७ मा नयाँ क्यान्सर रोगी १० हजार ८२९ हुँदै गर्दा नाक, कान, घाँटीका एक हजार ५५९ भएका थिए । क्यान्सर अस्पताल भरतपुरले विश्व टाउको तथा घाँटीको क्यान्सर दिवसको अघिल्लो दिन पत्रकार सम्मेलनको आयोजना गरी तथ्यांक सार्वजनिक गरेको हो ।

‘समग्रमा देशभर क्यान्सर रोगी बढिरहेका छन्, त्यसमध्ये नाक, कान, घाँटीका क्यान्सर रोगी पनि बढिरहेका छन्’ क्यान्सर रोकथाम तथा अनुसन्धान विभागका विभागीय प्रमुख भोला सिवाकोटीले भन्नुभयो । उहाँले सूर्तीजन्य पदार्थहरु सेवन, विषादीयुक्त तरकारी तथा फलफूलको प्रयोग बढ्दै जानुले पनि नाक, कान घाँटीका क्यान्सर रोगी बढ्दै गएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘मानिसहरुमा सचेतना बढ्दै गएको हुनाले पनि यसका रोगी बढिरहेका छन् ।’

भरतपुर क्यान्सर अस्पतालमा पनि नाक, कान, घाँटीका क्यान्सर रोगी बढिरहेका छन् । २०१५ मा भरतपुर क्यान्सर अस्पतालमा नाक, कान घाँटीका ७६२ जना २०१६ मा ७९९ र २०१७ मा नाक, कान, घाँटीका क्यान्सर रोगी ८२१ जनाको उपचार भएको अस्पतालका नाक, कान, घाँटी रोग विभागका विभागीय प्रमुख डा.देजकुमार गौतमले बताउनुभयो । 
उहाँको अनुसार नाक, कान, घाँटीको क्यान्सरको चर्चा अन्य क्यान्सरको तुलनामा कम भएको पाइन्छ तर, सर्जरी नै गर्नुपर्ने अवस्था बढी मात्रामा यही क्यान्सर लागेका बिरामीहरूको हुन्छ ।

नाक, कान र घाँटीको क्यान्सरको पहिचान सुरुमै भए, बिरामी पनि बाँच्ने र पैसा पनि कम खर्च हुने डा गम्भीर श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, ‘रोग पत्ता लागेर चाँडो उपचार गर्न सके ५ हजारमै निको हुन्छ, तर ढिलो उपचार भए मृत्युको जोखिम बढी हुन्छ ।’ सामान्यतया ३० देखि ५० वर्षका मानिसमा नाक, कान, घाँटीको क्यान्सर देखापर्ने अर्का क्यान्सर अस्पतालका अर्का डा निर्मल लामिछानेले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘२२ वर्षमा पनि यो रोग देखा परेको छ ।’ नेपालमा करीव १ लाख मानिसमा नाक, कान, घाँटीको क्यान्सर लागेको अनुमानित गरिएको छ । घाँटीको क्यान्सर पुरुषमा नै बढी देखापरेको छ । यस्तो क्यान्सर लागेको मानिसको बोलाइको तालमा फरक हुन्छ । त्यसले बोल्ने र आवाज निकाल्ने अंगमा असर पार्छ ।

यस्तो छ कारण 
पछिल्लो समयमा कतिपय मानिसमा युवाअवस्थामै नाक कान घाँटीको क्यान्सर देखिने गरेको छ । यसको प्रमुख कारण अत्यधिक धूमपान र मद्यपान हो । चुरोट, तमाखु, बिँडी, गुट्खा, पान–पराग र मदिरा सेवनले नाक, कान र घाँटीमा संक्रमण गराउँछ । 
वातावरणिय प्रभाव नाक, कान, घाँटीको क्यान्सरको अर्को कारण हो । धुवाँ, धुलो र प्रदूषणका कारण क्यान्सरको जोखिम हुने गर्छ । त्यस्तै, विकिरणले गर्दा पनि क्यान्सर हुन्छ । विकिरणयुक्त क्षेत्र तथा प्रयोगशालामा काम गर्ने मानिस बढी पीडित हुने गर्छन् ।

 वंशाणुगत गुणका कारण पनि नाक कान घाँटीको क्यान्सर हुने जोखिम रहन्छ । तर, यसको सम्भावना ज्यादै थोरै हुन्छ । परिवारका कुनै सदस्य क्यान्सर पीडित भएमा बच्चामा पनि हुने सम्भावना हुन्छ । क्यान्सर गराउने खाद्यवस्तुको सेवनले पनि क्यान्सर हुने गर्छ । धेरै पिरो तथा पोलेको खानेकुरा बढी खाएमा यस्तो किसिमको क्यान्सरको सम्भावना रहन्छ । 
यस्ता हुन्छन् लक्षण 
अंग र रोगको अवस्थाका आधारमा क्यान्सरको लक्षण फरक हुने गर्छ । मुखमा घाउ आएर लामो समयसम्म निको नहुनु तथा मुखभित्र सेतो दाग वा धब्बा आउनुजस्ता कारणले मुखमा क्यान्सर हुन सक्छ । मुखमा घाउ आएर लामो समयसम्म निको नहुनु वा दाँतले बारम्बार छुने ठाँउमा घाउ भएमा लामो समयपछि संक्रमण हुने गर्छ ।

घाँटीको क्यान्सर भएमा आवाज धोद्रो हुने, सास फेर्न र खाना निल्न गाह्रो हुने तथा सुन्निनेजस्ता लक्षण देखिन्छन् । कानमा संक्रमण भएमा रगत बग्ने तथा कान नसुन्ने हुन सक्छ । धुलो–धुवाँ र विभिन्न किसिमका प्रदूषणले नाकमा समस्या हुन सक्छ । खासगरी लामो समयसम्म काठको काम गर्ने मानिसमा धुलो नाकमा पस्ने सम्भावना हुन्छ । जसका कारण संक्रमण भई क्यान्सर हुने गर्छ । 

उपचार
धूमपान, मद्यपान र धुवाँ–धुलोबाट बच्नुपर्छ । त्यस्तै, पिरो र पोलेको खानेकुरा बढी सेवन गर्नुहुँदैन । नाक, कान र घाँटीमा घाउ भएमा तुरुन्त उपचार गर्नुपर्छ ।  क्यान्सरका चरण विभिन्न हुन्छन् । त्यसैले, लक्षण देखिनासाथ सुरुवातीको चरणमै उपचार गर्न सकेमा जटिल क्यान्सर हुनबाट जोगिन सकिन्छ । क्यान्सर भइहालेमा सर्जरी, रेडियोथेरापी र किमोथेरापीबाट उपचार गर्न सकिन्छ ।


 

प्रतिक्रिया दिनुहोस