पेरुका पूर्व राष्ट्रपति अमेरिकामा पक्राउ

एजेन्सी

बुधबार, ०१ साउन २०७६, १५ : ०१
पेरुका पूर्व राष्ट्रपति अमेरिकामा पक्राउ

लिमा । भ्रष्टाचारको आरोपमा फरार रहेका पेरुका पूर्व राष्ट्रपति अलेक्जान्ड्रो टोलेडो संयुक्तराज्य अमेरिकामा मंगलबार बिहान पक्राउ परेको पेरुका सरकारी अधिकारीहरुले बताएका छन् । पेरुका महान्यायाधिवक्ताको कार्यालयले पेरुको अनुरोधमा टोलेडो अमेरिकामा पक्राउ परेको जनाएको छ ।

महान्यायाधिवक्ताले पूर्व राष्ट्रपति टोलेडोलाई स्वदेश फर्काउन अमेरिकी अधिकारीहरुसँग वार्ता भइरहेको बताएको छ । टोलेडो सन् २०१७ देखि संयुक्तराज्य अमेरिकामा बस्दै आएका छन् । टोलेडोमाथि ब्राजिली विशाल निर्माण कम्पनी ओडेब्रेक्टसँग पेरु र ब्राजिल जोड्ने राजमार्ग निर्माणको ठेक्का दिँदा घुस लिएको तथा अरु विभिन्न अपराधमा संलग्न रहेको आरोप छ । 

उनकी पत्नी एलियान कार्प विरुद्ध पनि मुद्दा दायर गरिएको छ ।  टोलेडोको सुपुर्दगीका लागि एकदेखि डेढ वर्ष लाग्ने बताइएको छ । –सिन्ह्वा

प्रतिक्रिया दिनुहोस