वन्यजन्तुको आक्रमणबाट चितवनमा ११ जनाको मृत्यु

सोमबार, ३० असार २०७६, १८ : १२
वन्यजन्तुको आक्रमणबाट चितवनमा ११ जनाको मृत्यु

चितवन । चालु आर्थिक वर्षमा वन्यजन्तुको आक्रमणबाट ११ जनाले ज्यान गुमाएका छन् । चितवन राष्ट्रिय निकुञ्जले आज यहाँ आयोजना गरेको छलफल कार्यक्रममा निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले ११ जनाले वन्यजन्तुको आक्रमणबाट ज्यान गुमाउनु परेको जानकारी दिनुभयो । वन्यजन्तुका कारण भएका दुई सय ५५ घटनामा उनीहरुको ज्यान गएको हो । 

जङ्गली हात्तीका कारण छ, बाघको आक्रमणबाट दुई, गैँडाको आक्रमणबाट दुई, मगर गोहीका कारण एक जनाले ज्यान गुमाएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार मानवीय लापरवाहीका कारण ज्यान गुमाउने धेरै रहेका छन् । सोही समयमा ४५ जना घाइते भएका छन् । वन्यजन्तुको आक्रमणबाट १२ वटा घरगोठमा क्षति पुगेको छ । कार्यालयले वन्यजन्तुका कारण क्षति भएका मानव तथा अन्य गरी रु एक करोड ५६ लाख आठ हजार २७९ क्षतिपूर्तिवापत रकम बुझाएको छ । 

ढकालले अहिले मानिस हराएर मृत भेटिँदासमेत वन्यजन्तुका कारण मृत्यु भएको भन्दै उजूरी आउने गरेका बताउनुभयो । तमासपुरमा हराएको १० दिनपछि शव भेटिएका व्यक्तिलाई जङ्गली जनावरको आक्रमणका कारण मृत्यु भएको भन्दै उजूरी आएको उहाँले जानकारी दिनुभयो ।

 यस्तै नवलपरासीको अमलटारीबाट पनि एकजना सुस्त मनस्थितिका व्यक्तिको शव वनमा भेटिएपछि सो को विषयमासमेत निवेदन आएको उहाँले बताउनुभयो । क्षतिपूर्ति पाउने आशाले यस्ता घटना आउन थालेका उहाँको भनाइ थियो ।

अहिले निकुञ्जले घाइतेको उपचारका लागि प्रतिव्यक्ति रु दुई लाख दिने प्रावधानसमेत हटाएको उहाँले जानकारी दिनुभयो । सो अवसरमा चालु आर्थिक वर्षमा ४३ गैँडा कालगतिले मरेको जानकारी दिइएको थियो । जसमध्ये दुई डिभिजन वन कार्यालय चितवनको क्षेत्र र अन्यमध्ये निकुञ्जको कोर क्षेत्रमा ३४ र सात मध्यवर्ती क्षेत्रमा रहेको ढकालले जानकारी दिनुभयो ।

मृत भनिएका गैँडाका अङ्ग चालु आर्थिक वर्षमा भेटिए पनि दुई वर्षअघि आएको बाढीमा परेका र जुँधेर मरेका हुनसक्ने उहाँले बताउनुभयोे  ।  यस्तै आठ वटा गैँडा उद्धार गरिएको छ । सोही समयमा ११ बाघ, एउटा चितुवा, एउटा मगर गोही, चार चित्तल, दुई रतुवा, एउटा कछुवा, एउटा मयूर, एउटा सालक, एक सय सात अजिङ्गर, एउटा बँदेल र एउटा सारसको उद्धार गरिएको छ ।(रासस) 

प्रतिक्रिया दिनुहोस