टुकीकै भरमा बाँचेका छन् हुप्सीकोटवासी, पूरा भएन बिजुलीको सपना

प्रकाश सिग्देल

बुधबार, १८ असार २०७६, १५ : ५५
टुकीकै भरमा बाँचेका छन् हुप्सीकोटवासी, पूरा भएन बिजुलीको सपना

नवलपुर । जिल्लाको हुप्सीकोट गाउँपालिकावासी बिजुली बत्तीको पोल हेर्दै बिजुली बत्ती बल्ने दिन गनेर बसेका छन् । वर्षौंदेखि टुकीकै भरमा रात कटाएका गाउँपालिकाका बासिन्दा जनप्रतिनिधि आएपछि त गाउँ नै झिलिमिली हुने आशामा बसेका थिए ।
जनप्रतिनिधि आएको दुई वर्ष भइसक्दा पनि बत्ती बालेर गाउँ झिलिमिली भएको हेर्ने सपना अधुरै छ स्थानीयको । नवलपुरको सदरमुकाम कावासोतीदेखि धेरै टाढाको दुरीमा नभएपनि विकासे कार्यालयले हुप्सीकोटलाई टाढा देखेपछि त्यसको पीडाले सताइरहेको छ गाउँका बासिन्दालाई । बत्ती बलेर गाउँ झिलिमिली भएको हेरेर मर्ने चाहना पूरा नहुने हो कि भन्ने चिन्तामा छन् जेष्ठ नागरिक । 
गाँउपालिकामा जनप्रतिनिधि आइसकेपछि गाउँपालिकाको विकासले धेरै गति लिन थालेको बताउनु हुन्छ गाउँपालिका प्रमुख लक्ष्मी देवी पाण्डे । आफूहरु आउनु अगाडि गाउँपालिकामा ४ वटा वडा पुरै अन्धकारमा रहेको, २ वटा बडामा बत्ती आएपछि भोल्टेजको अभावले बत्ती बाल्नै नपाउने अवस्था रहेकोमा आफूहरु आएपछि सबै वडामा पोल बिस्तारको काम तीब्र गतिमा बढेको उहाँको भनाई छ । अहिले २ वटा वडामा बत्ती बल्न बाँकी रहेको, २ वटा बडाको पहाडी भेगमा बत्ती नपुगेको र २ वटा वडामा पूर्णरुपमा बत्ती पुगेको उहाँको भनाई छ । 
आर्थिक वर्ष २०७४÷७५ मा १ करोडको लगानीमा बिद्युतको काम सुरु भएको र २०७५÷७६ मा गाँउपालिकाबाट १ कारोड बजेट बिनियोजन गरेर पोल गाड्ने काम धमाधम चलिरहेको उहाँ बताउनु हुन्छ । आफ्नो गाउँपालिकाको बिद्युतको समस्या समाधान गर्न आर्थिक वर्ष २०७६÷७७ मा गाँउपालिकाबाट १ करोड छुट्याउने र बिद्युत प्राधिकरणसंग थप ६ करोड माग गरी गाँउपालिकालाई उज्यालो बनाउने लक्ष रहेको हुप्सीकोट गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत लिलाबल्लभ न्यौपानेले बताउनु भयो ।


बिजुली बत्तीको समस्या समाधानका लागि पटकपटक प्रदेश सरकारसंग बजेटको माग गरे पनि बजेट नदिँदा बिजुलीको समस्या समाधान गर्न नसकिएको गाउँपालिका प्रमुख पाण्डे बताउनु हुन्छ ।
‘बिजुली बत्ती मात्रै हुने हो भने हरेक कुरामा बिकासले गति लिन्छ तर बत्ती बाल्नका लागि समेत धौधौ परेको हुप्सीकोट गाँउपालिकामा बत्तीकै कारण अन्य बिकास निर्माणका कामहरुमा पनि समस्या सृजना भएको प्रमुख पाण्डेको भनाई छ । गाँउपालिकालाई झिलिमिली बनाउनका लागि जनप्रतिनिधहरु दिनहुँ प्रदेश सरकारसंगै बिद्युत प्राधिकरण धाइरहे पनि समस्या समाधान हुन नसकेको उहाँको भनाइ छ । अबको आर्थिक वर्षको मुख्य लक्ष्य नै बिजुली बत्ती बाल्ने भएको प्रमुख पाण्डे बताउनु हुन्छ ।

प्रतिक्रिया दिनुहोस