त्रिभुवन विमानस्थलमा विष्णु पौडेल र सिके राउतको ‘जम्काभेट’

नेकपा महासचिव दक्षिण कोरियाको सोउलमा, १३ असारमा मात्र स्वदेश फर्किने

सफल खबर संवाददाता

मंगलबार, १० असार २०७६, ०८ : १९
त्रिभुवन विमानस्थलमा विष्णु पौडेल र सिके राउतको ‘जम्काभेट’

काठमाडौं । देशभित्र पार्टी बैठक अनिश्चित भएपछि नेकपा महासचिव विदेश भ्रमणमा निस्केका छन् । दक्षिण कोरिया सरकारको निमन्त्रणामा ‘इमिनेट साउथ एसियन डिजिनिटरिज प्रोग्राम’ मा सहभागी हुन पौडेल सोउल प्रस्थान गरेका हुन् । उनी सोमबार साझ त्यसतर्फ प्रस्थान गरेको नेकपा केन्द्रीय सदस्य तथा कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले बताए । कोरियामा रहँदा पौडेलले त्यहाँको सत्तारुढ दल मिन्जु पार्टीका अध्यक्ष, नेपाल कोरिया सांसद मैत्री समितिका पदाधिकारी लगायतसँग पौडेलले भेटवार्ता गर्ने कार्यक्रम तय भएको पनि श्रेष्ठले सफलखबरलाई बताए ।

भ्रमणका क्रममा पौडेलले जलविद्युत आयोजना, रेल कम्पनी, आईसिटी केन्द्र, सास्कृतिक सम्पदा लगायतको अवलोकन समेत गर्नेछन् । उनी चार दिनपछि १३ असारमा मात्र स्वदेश फर्किने छन् । पौडेलसँग प्रा डा. गोविन्द नेपालपनि सँगै भ्रमणमा छन् ।

विमानस्थलमा सिके राउतसँगको जम्काभेट

पौडेल विदेश भ्रमण जानका लागि भिआईपि कक्षमा बसिरहेका बेला त्रिभुवन अन्र्तराष्टिय विमानस्थलमा सिके राउतसँग जम्काभेट भएको छ । विखण्डनकारी अभियान छोडेर नेपाल जनमत दल गठन गरेका सिकेसँग महासचिव पौडेल र केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठले विमानस्थलमा फोटो सेसन समेत गरेका छन् । राउत भने विदेश भ्रमणबाट स्वदेश फर्किएका हुन् । बेलायत भ्रमणमा रहेका राउतलाई उनका समर्थकहरुले विमानस्थलको भिआईपी कक्षमा स्वागत गरेका थिए ।

त्यही बेला महासचिव पौडेल र राउतका बीचमा जम्काभेट भएको थियो । त्यही बेला खिचिएको फोटो नेकपा केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठले नै सामाजिक सन्जालमा सार्वजनिक गरेपछि अहिले निकै भाइरल भईरहेको छ । वैशाख ११ मा सरकारसँग सम्झौता गरी मुलधारको राजनीतिमा प्रवेश गर्ने बताएपछि राउतसँग महासचिव पौडेलका भेट भएको थिएन । त्यसबेला राउतलाई मुलधारको राजनीतिमा ल्याउने वार्तामा पौडेल आफै पनि भित्री रुपमा लागेका थिए । पार्टीभित्र गुपचुप राख्दै राउतसँगको सम्झौतालाई लिएर नेकपाभित्र निकै आलोचना भएको थियो ।

राउतले मुलधारको राजनीति गर्ने बताएपनि उनीसँग भएको सम्झौताका केही वुँदा र उनका गतिविधिले अझै सिके राउत शंकाकै घेरमा छन् । राउत विमानस्थलबाट सिधै बीर अस्पतालमा पुगी उपचाररत रेशम चौधरीलाई भेटेका थिए । 

प्रतिक्रिया दिनुहोस