प्रधानमन्त्री ओलीलाई होलीवाइन चखाउने एकनाथ ढकाल सांसद बन्ने दौडधुपमा

राष्ट्रिय सभाको सदस्यमा भए पनि मनोनित गरिनुपर्ने भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण

सफल खबर संवाददाता

सोमबार, ०२ असार २०७६, १७ : २६
प्रधानमन्त्री ओलीलाई होलीवाइन चखाउने एकनाथ ढकाल सांसद बन्ने दौडधुपमा

काठमाडौं । युनिफिकेसन चर्चको विशेष कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, पुर्वप्रधानमन्त्री माधवकुमार नेपाल लगायतलाई हालीवाइन चखाउन सफल नेपाल परिवार दलका अध्यक्ष तथा पूर्वमन्त्री एकनाथ ढकाल सांसद बन्ने दौडधुपमा लागेका छन् ।
प्रधानमन्त्री ओलीलाई भेट्न आइतबार बालुवाटार पुगेका ढकालले आफूलाई संघीय संसदमा ल्याउनुपर्ने भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको स्रोत बताउँछ । स्रोतका अनुसार ढकालले आफूलाई राष्ट्रिय सभाको सदस्यमा भए पनि मनोनित गरिनुपर्ने भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन् ।
प्रधानमन्त्री ओलीसँगको भेटमा उनले गत निर्वाचनका बेला परिवार दलले तीन बुँदे सहमति गरी वाम गठबन्धनलाई सघाएको प्रधानमन्त्रीलाई स्मरण गराएको परिवार दलले विज्ञप्ति निकालेर जनाएको छ। गत निर्वाचनमा परिवार दलले नेकपाको तत्कालीन गठबन्धनलाई सघाएबापत् संसदमा उसको दलको प्रतिनिधित्व सुनिश्चित गराउने सहमति भएको परिवार दलले जनाएको छ ।
गत मंसिरमा काठमाडौंमा भएको विवादीत एसिया प्यासिफिक समिट आयोजना गर्ने क्रिश्चियन मिसनरी संस्था युनिफिकेसन चर्चसँग ढकालको सम्बन्ध छ । उनी उक्त संस्था नेपाल च्याप्टरका अध्यक्ष हुन् ।
समिटमा प्रधानमन्त्री ओली लगायत नेकपाका शीर्ष नेताहरु पनि सहभागी भएका थिए । प्रधानमन्त्री ओलीलाई एक करोडको रकम दिएर सम्मान गरिएको थियो । नेकपाका नेताहरुले होली वाइन खाएको भनेर आलोचना समेत भएको थियो ।
ढकालको ध्यानाकर्षणपछि प्रधानमन्त्री ओलीले पार्टी सचिवालयमा छलफल गरेर यस विषयमा जवाफ दिने बताएका छन् । ढकालले भने आफूलाई संसदमा प्रतिनिधित्व गराउन नेकपाका अर्का अध्यक्ष प्रचण्डको पनि ध्यानाकर्षण गराउने जनाएका छन् । ढकाल यसअघि माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा सहकारी तथा गरिबी निवारण मन्त्री भएका थिए । २०७२ मा केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री हुँदा ढकाल शान्ति तथा पुनर्निर्माण मन्त्री बनेका थिए ।

प्रतिक्रिया दिनुहोस