राष्ट्रियसभामा प्रदेश नं. ३ बाट १७ जनाको उम्मेदवारी

बुधबार, १० माघ २०७४, १८ : १९
राष्ट्रियसभामा प्रदेश नं. ३ बाट १७ जनाको उम्मेदवारी

काठमडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि प्रदेश नं. ३ मा १७ जनाको उम्मेदवारी परेको छ । नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र र नेपाल मजदुर किसान पार्टीले राष्ट्रिय सभा निर्वाचनका लागि मनोनयन पत्र दर्ता गराएका छन् ।

एमालेबाट ६, कांग्रेसबाट ४, नेककिपाबाट ४ माओवादी केन्द्रबाट २ र राप्रपाबाट १ जनाले उम्मेदवारी दर्ता गराएका छन् । ६ जना महिला, दलित र अल्पसंख्यक तीन÷तीन जना र अन्य ५ जनाको उम्मेदवारी परेको सहायक निर्वाचन अधिकृत शम्मी कपुर साहले जानकारी दिए ।

निर्वाचन आयोगको कार्यतालिका अन्र्तगत आगामी माघ २४ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि आज सातै प्रदेशमा उम्मेदवारी दर्ता भएको हो ।

नेकपा एमालेबाट बलराम बास्कोटा, बेदुराम भुसाल, सिंहबहादुर विक, उदय शर्मा, रामचन्द्र राई र दिलकुमारी थापा रावल (पार्वती)ले उम्मेवारी दर्ता गराएका छन् ।

यस्तै माओवादी केन्द्रबाट राम बहादुर थापा (बादल) र गंगा पराजुलीले उम्मेदवारी दर्ता गराएका छन् ।

नेपाली कांग्रेसबाट राधेश्याम अधिकारी, धन खतिवडा, मदनकृष्ण श्रेष्ठ र हरिशरण नेपालीले उम्मेदवारी दिएका छन् । यस्तै नेपाल मजदुर किसान पार्टीबाट हिमालेश्वर लाल मुल, श्याम विशुङ्खे, गीता काफ्ले र कृष्ण बहादुर तामाङले उम्मेदवारी दर्ता गराएका छन् ।

ललितपुरको जिल्ला समन्वय समितिको हलमा बिहान ११ बजेदेखि मनोनयन दर्ता कार्यक्रम शूरु भएपनि माओवादी केन्द्रका बाहेक अन्य दलका उम्मेदवार ढिलो गरी पुगेका थिए । उम्मेदवारी दर्ताका लागि १० हजार धरौटी शुल्क रहेको थियो भने दलित, महिला तथा अपाङ्ग उम्मेदवारलाई ५ हजार तोकिएको थियो ।  

एमाले उम्मेदवारले बिर्सिए काजगपत्र
राष्ट्रियसभा सदस्यमा उम्मेद्वारी दर्ता गर्न पुगेका एमाले उम्मेद्वारहरुले आवश्यक कागजात उपलब्ध गराउन नसकेपछि मनोनयपत्र दर्तामा ढिलाई भयो । दिँउसो १ बजेतिर मतदान अधिकृतको कार्यालय पुगेपनि जिल्ला निर्वाचन कार्यालयबाट मतदाता नामावलीमा समावेश भएको निस्सा ल्याउन छुटाएपछि मनोनयन ढिलाई भएको हो । झन्डै १ घण्टापछि निस्सा ल्याएपछि मात्र उनीहरुको मनोनयन दर्ता भएको थियो ।  

एमाले, माओवादी र नेपाली कांग्रेसका उम्मेदवारहरुको गला माला र खादाले भरिएको थियो । तर नेपाल मजदुर किसान पार्टीका उम्मेदवारहरुको गला भने खुला रहेको थियो । खादा र माला नभएका कारण उम्मेदवारहरुलाई कर्मचारी भनेर सञ्चारकर्मी झुक्किएका थिए । स्थानीय तहमा राम्रो स्थान ल्याउन नसकेपनि नेमकिपाले प्रदेश नंंं ३ बाट ४ जना उम्मेदवारलाई मैदानमा उतारेको छ ।  

प्रतिक्रिया दिनुहोस