पार्टीको राष्ट्रिय जागरण अभियान सफल : डा प्रकाशशरण महत

आइतबार, २६ जेठ २०७६, १७ : १९
पार्टीको राष्ट्रिय जागरण अभियान सफल :  डा प्रकाशशरण महत

पोखरा । नेपाली काङ्ग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले पार्टीको पहिलो चरणको राष्ट्रिय जागरण अभियान सफलतापूर्वक सम्पन्न भएको बताउनुभएको छ ।
    
नेपाल प्रेस युनियन कास्कीद्वारा आज पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले अब दोस्रो र तेस्रो चरणको कार्यक्रमअन्तर्गत प्रदेशको निर्वाचन क्षेत्र र नगर एवं गाउँलाई केन्द्रविन्दु बनाएर अभियान सञ्चालन गर्ने जानकारी दिनुभयो । 

नेता महतले यस जागरणको माध्यमबाट पार्टीको आदर्श, सिद्धान्त र उपलब्धिको विषयमा जनतालाई सुसूचित गराउँदै पार्टीलाई सशक्त र बलियो बनाउने उद्देश्य रहेको स्पष्ट पार्नुभयो । नेपाली काङ्ग्रेसलाई एकताबद्ध हुनुपर्ने र व्यक्तिवादी चरित्रलाई हतोत्साहित गरी सङ्गठनलाई बलियो बनाउनुपर्ने उल्लेख गर्दै उहाँले वाइड बडीलगायतका भ्रष्टाचारका काण्डमा संवैधानिक निकायबाट सुक्ष्म ढङ्गले छानबिन हुनुपर्नेमा जोड दिनुभयो । 
        
पत्रकारद्वारा सोधिएको जिज्ञासामा उहाँले दुई अङ्कको वार्षिक वृद्धि दरमा पुग्नका लागि विदेशी र स्वदेशीको लगानीमा वृद्धि हुनुपर्ने, सुरक्षाको प्रत्याभूति हुनुपर्नेमा त्यसो नभई वैदेशिक लगानी घटेकाले सो लक्ष्य पूरा गर्न सरकारलाई कठिनाइ हुने सम्भावना रहेको बताउनुभयो । (रासस) 

प्रतिक्रिया दिनुहोस