हुलाकी बाटो मिच्न खोजेपछि धरहरा पुनर्निर्माण विवादमा

सफल खबर संवाददाता

आइतबार, २६ जेठ २०७६, ११ : ३७
हुलाकी बाटो मिच्न खोजेपछि धरहरा पुनर्निर्माण विवादमा

काठमाडौं । राष्ट्रकै धरोहरका रुपमा हेरिएको निर्माणाधीन धरहराको कम्पाउण्डभित्र स्थानीय हुलाकी बाटो समेत पर्ने भएपछि विवाद आएको छ । धरहरा कम्पाउण्डभित्र सुन्धाराबाट इन्द्रचोक–खिचापोखरी जाने हुलाकी बाटो पर्छ ।

यसै विषयलाई लिएर अहिले स्थानीयहरु आन्दोलित छन् । पुरानो हुलाकी बाटो मास्दा स्थानीयहरुलाई असहज हुने भन्दै त्यसको उचित विकल्प दिएरमात्रै काम अघि बढाउन उनीहरुले दबाब दिँदै आएका छन् । 

बाटोका विषयमा प्राधिकरण, निर्माण पक्ष र स्थानीयबीच सम्झौता समेत भएको थियो । तर स्थानीयले सुन्धारास्थित कर्मचारी संचय कोष भवन९काठमाडौं मल०को छेउबाट टुँडिखेल निक्लन मिल्ने गरी वैकल्पिक बाटोको माग गरेपछि विवादले जटिल रुप लिएको हो । 

यसरी निर्माण कार्यमा अवरोध हुँदै गए तोकिएको समय समयभित्र काम सम्पन्न नहुने निर्माण पक्षले बताएको छ । 

‘धरहरा पुनर्निर्माणमा अपरोध भएको छ । यसले हामीलाई काम गर्न असहज भइरहेको छ ’ निर्माण पक्ष जिआइइटिसी–रमन जेभीका म्यानेन्जर श्यामचन्द्र श्रेष्ठले भने, ‘यसरी अवरोध भैरहे कामले गति लिन सक्दैन । राष्ट्रिय गौरवको पुनर्निर्माणमा कोही कसैले पनि अवरोध गर्नु हुँदैन त्यसको घाटा हामी सबैलाई हो ।’

यता स्थानीयले भने आफूहरुले निर्माण कार्यमा कुनै अवरोध नपुर्याएको बताएका छन् । सुन्धारास्थित वडा नम्बर २२ का अध्यक्ष चिनकाजी श्रेष्ठले निर्माण पक्षले स्थानीयका कारण देखाएर काममा ढिलाई गर्न खोजेको आरोप लगाएका छन् । 

‘स्थानीयको अवरोध देखाएर निर्माण पक्षले काम लम्ब्याउने खेल खेलेको छ । हामी स्थानीयसँग भएको माग पूरा गर्न पुनर्निर्माण पक्षले आलटाल गरिरहेको छ । त्यसैको दबाब स्वरुप हामी आन्दोलित भएका हौं ’ उनले अगाडि थपे, ‘तर हाम्रो माग पूरा नभए काम अघि बढ्न दिँदैनौ ।’

राष्ट्रिय पुार्निर्माण प्रधिकरणले समेत राष्ट्रिय पुनर्निमार्णमा अवरोध सिर्जना गर्ने गरि स्थानीयले अड्को थापेको जनाएको छ । धरहरा पुनर्निर्माण अवरोधले कसैलाई पनि फाइदा नपुग्ने प्राधिकरणका सहायक प्रवक्ता तथा सूचना अधिकारी मनोहर घिमिरेको प्रतिक्रिया छ । 

प्रतिक्रिया दिनुहोस