नेकपा केन्द्रीय सदस्यको कार्यविभाजन बुधबार टुङ्गो लाग्ने

मंगलबार, २१ जेठ २०७६, १९ : ०१
नेकपा केन्द्रीय सदस्यको कार्यविभाजन बुधबार टुङ्गो लाग्ने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले केन्द्रीय सदस्यको कार्यविभाजनबारे बुधबार टुङ्गो लगाउने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सचिवालय बैठकले बुधबार कार्यविभाजन टुङ्ग्याउने गरी छलफल शुरु गरेको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, “कार्यविभाजनको कार्यसूचीमा छलफल शुरु भएको छ । छलफल सहमति नजिक पुगेको छ । बुधबार केन्द्रीय सदस्यको कार्यविभाजन टुङ्ग्याएर विदेशस्थित प्रवास कमिटीलगायत साङ्गठनिक एकताका बाँकी कामको छलफलमा लाग्नेछौँ ।” 

एकतापछि नेकपामा ४४१ केन्द्रीय सदस्य छन् । नेकपाको सचिवालय बैठक यही जेठ २ गतेपछि यता बस्न सकेको थिएन । यही जेठ ३ गते पार्टी एकीकरण भएको एक वर्ष पुगेको अवसरमा १९ वटा जनवर्गीय सङ्गठनको नाम, संयोजक र सहसंयोजक तोकेको थियो । प्रधानमन्त्री आलोपालो प्रणालीका आधारमा हुने भनी बाहिर चर्चामा आएको प्रसङ्सबारे पत्रकारले सोधेको प्रश्नमा प्रवक्ता श्रेष्ठले त्यस सम्बन्धमा बैठकमा कुनै ठोस निर्णय नभएको बताउनुभयो । 

पार्टीका नेता झलनाथ खनालले पार्टीमा कार्यविभाजनबारे विवाद नभई छलफल नटुङ्गिएर ठोस निर्णयमा पुग्न नसकिएको बताउनुभयो । पार्टी एकतापछि पोलिटब्यूरो गठनसमेत हुन सकेको छैन । सचिवालयको बैठक बुधबार १२ बस्नेछ । (रासस) 

प्रतिक्रिया दिनुहोस