धर्नामा बसेका प्रदर्शनकारीलाई  सेनाले गोली चलाउँदा पाँच जनाको मृत्यु

एजेन्सी

सोमबार, २० जेठ २०७६, १५ : ०३
धर्नामा बसेका प्रदर्शनकारीलाई  सेनाले गोली चलाउँदा पाँच जनाको मृत्यु

खार्तुम । सुडानको राजधानी खार्तुमस्थित सैनिक मुख्यालय बाहिर धर्नामा बसेका प्रदर्शनकारीलाई हटाउनेक्रममा सेनाले गोली चलाउँदा पाँच जना प्रदर्शनकारीको मृत्यु भएको छ ।
राजधानीका सबैजसो क्षेत्रमा मेसिनगन जडान गरिएका ठूलो संख्यामा सैनिक ट्रक सहितको टोलीको बाक्लो उपस्थिति रहेको छ । सैनिक शासन विरुद्ध प्रदर्शनकारीहरु सैनिक मुख्यालय बाहिर र शहरका मुख्य प्रशासनिक केन्द्र वरपर महिनौंदेखि अबरोधहरु खडा गरेर धर्नामा बसेका छन् ।
संयुक्तराज्य अमेरिका र बेलायतले प्रदर्शनकारीमाथि दमन नगर्न सुडानको सेनालाई आग्रह गरेका छन् । यी दुबै मुलुकले नागरिकलाई शान्तिपूर्ण रुपमा सत्ता हस्तान्तरण गर्न निरन्तर दबाब दिइरहेका छन् । सेनाको वर्तमान नेतृत्वले सेनाकै सहयोगमा ३० वर्ष शासन गरेका राष्ट्रपति ओमार अल बसिरलाई सत्ताच्यूत गरेका थिए । 
प्रदर्शनकारीको पक्षमा उभिएको सुडानी चिकित्सकको केन्द्रीय कमिटीले सेनाको गोली लागेर पाँच जना प्रदर्शनकारीको ज्यान गएको जनाएको छ । चिकित्सक टोलीले सैनिक कारबाहीबाट अरु धेरै व्यक्ति घाइते भएको जनाएको छ ।
प्रदर्शन स्थलमा लगातार बन्दुक पड्किएको आवाज आएको पनि एएफपीका पत्रकारले जनाएका छन् । सुडानी प्रफेसनल एसोसिएसन (एसपीए) ले सेनाले “रक्तपातपूर्ण आमहत्या” गरेको आरोप लगाउँदै सैनिक शासनलाई पूर्ण रुपमा असफल तुल्याउन “नागरिक अवज्ञा” गर्न आह्वान गरेको छ ।
सेना र प्रदर्शनकारीबीच नागरिकलाई सत्ता हस्तान्तरण गर्न शर्तसहितको सहमति भएपनि प्रदर्शन रोकिएका छैनन् ।(रासस/एएफपी)

प्रतिक्रिया दिनुहोस