विप्लवको चौकी आक्रमण प्रयास विफल, सुरक्षाकर्मीको थप टोली घटनास्थलमा

सोमबार, २० जेठ २०७६, १४ : ०१
विप्लवको चौकी आक्रमण प्रयास विफल, सुरक्षाकर्मीको थप टोली घटनास्थलमा

काठमाडौँ । विप्लव नेतृत्वको चौकी आक्रमण प्रयास भएको छ । नेकपाका कार्यकर्ताले आइतबार मध्यराति सोलुखुम्बुको प्रहरी चौकी कब्जा गर्न जाँदा चौकी रित्तै थियो । अगाडि नै सूचना लिक भएपछि चौकीमा रहको प्रहरी अन्यत्र गएका थिए । 

सोलुखुम्बुको महाकुलुङ गाउँपालिका ३ छेस्काममा रहेको प्रहरी चौकी कब्जा गर्न जाँदा चौकी रित्तै भेटेपछि उनीहरु फर्किएका थिए । स्रोतका अनुसार झन्डै २५ जनाको संख्यामा हतियारधारी गाउँ पसेको सूचना आएलगत्तै चौकी खाली गरेर प्रहरी अन्यत्रै सरेका थिए ।

जिल्ला प्रहरी प्रमुख डीएसपी शालिकराम शर्मासहितको टोली घटनास्थल पुगेको छ। स्रोतका अनुसार प्रदेशबाट सेनाको हेलिकोप्टरमार्फत सुरक्षाकर्मीको थप टोली घटनास्थलमा पुगेको छ। सैनिक प्रवक्ता सहायक रथी  विज्ञानदेव पाण्डेले

प्रहरीबाट हेलिकोप्टर माग भएका कारण सेनाले हेलिकोप्टर उपलब्ध गराएको बताए। प्रहरी चौकीमा रहेका ७ जना सुरक्षाकर्मी हतियारसहित सुरक्षित स्थानमा गएर लुकेका थिए। प्रहरीका अनुसार महाकुलुङ क्षेत्रमा विद्युत र दुरसञ्चार अवरुद्ध भएको मौका छोपेर सो आक्रमणको प्रयास भएको हो।

घटनास्थल सल्लेरीदेखि करिब ७५ किलोमिटर टाढा छ। सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाका अध्यक्ष सागर किराँतीले गाउँपालिकाभित्र विप्लव नेकपाका गतिविधि बढेको बताए।

महाकुलुङ गाउँपालिकाका अध्यक्ष किरातीले पछिल्लो समय गाउँपालिकाको केही वडामा विप्लव समूहको गतिविधि बढेको पुष्टि गरे । गएराति भएको घटनाबारे भने अहिलेसम्म यर्थाथ विवरण आइनसकेको उनले बताए । यद्यपि, उनले गाउँपालिकामा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले गस्ती बढाएको भने स्वीकारे ।


 

प्रतिक्रिया दिनुहोस