चर्को घाममा जोखिम मोलेर सडकमा मकै बेच्नेहरु

प्रकाश सिग्देल

शनिबार, १८ जेठ २०७६, १६ : १४
चर्को घाममा जोखिम मोलेर सडकमा मकै बेच्नेहरु

गैंडाकोट । हातमा झोला र झोलामा हरिया मकै, साँघुरो सडक, तीब्र गतिमा आएका सवारी साधनलाई अलमल्याएर यात्रुलाई मकै बेच्ने असिम चाहना । अनि  यो चर्को गर्मीमा पसिना पुछ्दै सवारी साधनको पछाडि तँछाडमछाड गर्दै सडकमा दौडिएका स्थानीयहरु ।

यहाँको दृश्य झट्ट हेर्दा लाग्छ कुनै चलचित्रको छायांकनका लागि गरिएको पूर्वाभ्यासजस्तो । तर यो रिलको लागि गरिएको अभिनय नभै रियल जीवन जिउनका  लागि गरिएको संघर्ष हो । गैंडाकोट नगरपालिका वडा नम्बर ७ गैरी भएर यात्रा गर्नेहरुले दैनिक यहाँका स्थानीयको संघर्ष हेरिरहेका छन् ।

दैनिक जीवन जिउनका लागि र परिवारको दैनिकी सहज बनाउनकै लागि यो चर्को घाममा यसरी जोखिम मोलेर सडकमा सवारी साधनको पछाडि दैडिन बाध्य छन् स्थानीयहरु ।  हरेक दिन यी किसानको जीविका यसरी नै चलिरहेको छ । आफ्नै बारीमा उत्पादन गरिएको मकैले उचित मूल्य र बजार नपाउँदा मुख्य सडकमा जोखिम मोलेर मकै बिक्री गर्न बाध्य भएको किसानहरु बताउँछन् । 

समृद्धि र विकासको नारा भजाउने गैंडाकोट नगरपालिकाले तीब्र भूखण्डीकरणका विरुद्ध संघर्ष गर्दैै आफ्नै क्षेत्रका किसानले आफ्नै बारीमा उत्पादन गरेको उत्पादनको बिक्रीका लागि उचित बिक्री केन्द्र निर्माण गर्न नसक्दा किसानहरु जोखिम मोल्न बाध्य भएका छन् । 

गैंडाकोट नगरपालिकाको ७ नम्बर वडालाई मकैको पकेट क्षेत्रको रुपमा समेत मानिएको छ । तर त्यही पकेट क्षेत्रमा उत्पादित मकै राजमार्गमा जोखिम मोलेर किसानहरु बेच्न बाध्य भएका छन् । किसानहरु त्यो साँघुरो सडकमा तीब्र गतिमा  हजारौंको संख्यामा आएका सवारी साधनको अघिपछि दौडिँदै गर्दा दुर्घटनाको जोखिम पनि उत्तिकै देखिन्छ ।
खतराका बीच पनि आफूहरु यस्तो काम गर्न बाध्य भएको किसानहरु बताउँछन् । त्यसरी राजमार्गमा मकै बिक्री गर्दा मकै किन्नेको र बेच्नेको भिडले हाइवे अझै व्यस्त भएको छ, जसले दुर्घटनाको जोखिम समेत थपेको छ ।

गैंडाकोट नगरपालिका वडा नम्बर ७ का अध्यक्ष चोलानाथ उपाध्यायले आफूले स्थानीयलाई व्यवस्थित रुपमा बसेर व्यवसाय गर्न भनी पहल गर्दा केही स्थानीयले नमानेर राजमार्गमा नै ओहोरदोहोर गरी मकै बेच्ने गरेको बताउनु भयो । आफ्नो पहलपछि धेरै मात्रामा कम भए पनि केहीले अटेर गरेरको उहाँ बताउनु हुन्छ । व्यवस्थित हुन आग्रह गर्दा नमानेका स्थानीयहरुलाई पनि छिट्टै व्यवस्थित ठाँउमा व्यवस्थापन गर्ने उहाँले बताउनु भयो ।

इलाका प्रहरी कार्यालय गैंडाकोटले पनि हाइवेमा अव्यवस्थित रुपमा व्यापार व्यवसाय गर्दा सडक दुर्घटना बढ्ने हँुदा व्यवस्थित रुपमा व्यापार गर्न पटकपटक स्थानीयलाई आग्रह गरेको इलाका प्रहरी कार्यालय गैंडाकोटका प्रमुख प्रहरी निरीक्षक लोकबहादुर जीसीले बताउनु भयो । उहाँले व्यवस्थापनको काम नगरपालिकाले गर्नु पर्ने र सहयोग आवश्यक परेको खण्डमा प्रहरीले पूर्ण सहयोग गर्ने प्रतिवद्धता जनाउनु भयो । 

उत्पादित बस्तुलाई उचित मूल्यमा बेच्ने हरेक किसानको अपेक्षा हुन्छ । नगरपालिकाले त्यसका लागि उचित वातावरण सृजना गर्न नसक्दा बाटोमा नै बसेर व्यापार व्यवसाय गर्न किसानहरु बाध्य छन् । सडकमा यसरी ब्यापार गर्दा  यसले दुःखद दुर्घटना समेत निम्त्याउन सक्छ ।
 

प्रतिक्रिया दिनुहोस