विप्लवहरुको कार्यदिशा अलि रहस्यमूलक छ, त्यसैले तत्काल एकता सम्भव छैन : वैद्य

सफल खबर संवाददाता

शुक्रबार, १७ जेठ २०७६, ११ : ४३
विप्लवहरुको कार्यदिशा अलि रहस्यमूलक छ, त्यसैले तत्काल एकता सम्भव छैन : वैद्य

बुटवल । नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य किरणले नेत्रविक्रम चन्द नेतृत्वको नेकपासँग पार्टी एकता तत्तकाल सम्भव नरहेको बताएका छन् । पार्टी निकट पत्रकारहरुको संगठनको राष्ट्रिय सम्मेलनमा सहभागी भएर पोखरा जान लागेका वैद्यले बुटवलमा पत्रकारहरुसँग कुरा गर्दै विप्लवहरुको पार्टीसँ एकताको सम्भावना नरहेको बताएका हुन् ।

बरु वैद्यले नेकपा मसाल, ऋषि कट्टेलको नेकपा, गोपाल किरातीको माओवादी केन्द्रसंग ध्रुवीकरणको प्रयास  भइरहेको भन्ने खुलाएका छन् । विप्लवको पार्टी र उनको पार्टी अहिले संसदीय प्रक्रियाभन्दा बाहिर छ । संविधान निर्माणका लागि भएको दोश्रो संविधान सभा चुनाव यी दुवै नेता नेतृत्वको पार्टीले एउटै पार्टीमा रहेर वहिष्कार गरेका थिए ।

त्यसपछि विप्लवले वैद्यवाट क्रान्ति सम्भव नहुने भन्दै पार्टी विभाजन गरेका थिए । विल्लवको पार्टीले एकीकृत जनक्रान्तिको कार्यदिशामार्फत वैज्ञानिक समाजवादमा जाने बताइ रहेको छ । वैद्यले भने अझै जनवादी क्रान्ति पूर्ण नभएको बताउादै आएका छन् ।

बुटवलमा आयोजित पत्रकार सम्मेलनमा पत्रकारहरुले वैद्यमाथि विप्लवको पार्टीसँग एकताको सम्भावना के छ भनी जिज्ञासा राखेका थिए ।

वैद्यले विप्लवसँग पार्टी एकताको आधार तयार गर्न विगत ६÷७ महिना अगाडि प्रयास गरेपनि त्यसपछि रोकिएको खुलासा गरे । उनले विप्लवहरुको कार्यदिशा नै रहस्यमय भएको पनि टिप्प्णी गरे ।

‘उहाँहरु र हाम्रो कार्यदिशामा खाडल छ, उहाँहरुको अलि रहस्यमूलक छ, त्यसैले तत्काल एकताको सम्भावना छैन’ वैद्यले भने । उनले मोहन विक्रम सिंह नेतृत्वको नेकपा मसाल, ऋषि कट्टेलको नेकपा, गोपाल किरातीको माओवादी केन्द्रसँग ध्रुवीकरणको प्रयास भने जारी रहेको बताए । ललितपुरको नख्खु जेलमा रहेका विप्लवका सचिवालय सदस्य हेमन्तप्रकाश वलीलाई भेटेर बुटवल पुगेका वैद्यले विप्लवको कार्यदिशासँग सहमत हुन नसक्ने प्रष्ट पार्दै
एकता टरेको बताएका हुन् ।

उनले संघीय सरकारले ल्याएको बजेटप्रति टिप्पणी गर्दै त्यसलाई दयनीयको संज्ञा पनि दिए । बजेट प्रभावकारी नभएकाले यसले समृद्ध नेपाल सुखी नेपालीक नारा पूरा नगर्ने वैद्यको भनाइ थियो ।
‘१५ खर्बको बजेटमा पुँजीगत खर्च ४ खर्ब मात्र छ, त्यो पनि ऋण हो’, वैद्यले भने, ‘यो बजेटले न व्यापार घाटा घटाउन सक्छ न राष्ट्रिय उद्योगको विकास गर्छ ।’ वैद्यले सरकारले ल्याएको मिडिया काउन्सिल विधेयकको पनि खुलेरै विरोध गरे । मिडिया काउन्सिल विधेयकले सरकार निरंकुश र फासीवादी दिशामा अघि बढेको देखिएको भन्दै वैद्यले आफ्नो पार्टीले विधेयकविरुद्ध पत्रकारहरुको
आन्दोलनमा ऐक्यवद्धता जनाएको बताए ।

प्रतिक्रिया दिनुहोस