सरकारबाटै गणतन्त्र खतरामा छ : पूर्वमन्त्री थापा (भिडियोसहित)

प्रकाश सिग्देल

बुधबार, १५ जेठ २०७६, १५ : ४१
सरकारबाटै गणतन्त्र खतरामा छ : पूर्वमन्त्री थापा (भिडियोसहित)

चितवन । वर्तमान सरकारबाटै गणतन्त्र खतरामा रहेको नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री गगन थापाले बताउनु भएको छ । 
गणतान्त्रिक ब्यवस्थामाथिको चुनौती सबैभन्दा धेरै वर्तमान सरकार र त्यसको नेतृत्वबाट भएको बताउँदै थापाले त्यसको संरक्षणमा काँग्रेसले आफुलाई सशक्त बनाउनु पर्ने प्रतिक्रिया दिनु भयो । गणतन्त्र दिवसको अवसरमा बुधबार भरतपुरमा आयोजित काँग्रेस नेता नरहरि आचार्यद्वारा लिखित पुस्तक गणतन्त्रको यात्रा अन्तरसंवाद कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो ।
‘गणतन्त्र जोगाउन र टिकाउन निकै चुनौती देखिएको छ । यो ब्यवस्थालाई मान्दिन भन्ने विप्लवबाट हैन । यो ब्यवस्थालाई जिस्काउने सिके राउतबाट पनि हैन । यो ब्यवस्थाका बारेमा स्वाभाविक रुपमा तुस राख्ने पूर्वराजाबाट पनि होइन । आजका दिनमा यो ब्यवस्था दुर्घटनामा पर्ला कि भन्ने डर कसैबाट छ भने यो ब्यवस्था चलाउने जिम्मा लिएको सरकारबाटै छ’ थापाले भन्नुभयो, ‘जसले देशको जिम्मा लिएको छ । जसले संविधान कार्यान्वयनको जिम्मा लिएको छ । उसैले समाल्ने क्षमता राख्न नसक्दा, नियत ठीक राख्न नसक्दा समस्याहरु आएको छ ।
‘देशले गतिलो मति लिएन भनेर भन्यो भने प्रधानमन्त्रीले भन्नु हुन्छ कि यत्रो समृद्धिको बहस भइरहेका बेला गति मतिको कुरा नगर्नु । पार्टीभित्र सुधार गर्नुु पर्यो भन्यो भने यत्रो जागरुक भइरहेको बेला सुधारको कुरा नगर्नु’ थापाले थप्नुभयो, ‘गणतन्त्र आइसकेपछि राज्यको पुनः संरचनामा जुन खाले अपेक्षा राखेका थियौं । नागरिकको जीवनस्तर परिर्वतनको जुन अपेक्षा राखेका थियौं । शैली फेरिएला, परिणाम नयाँ आउला भन्ने सोचेको थियौं । त्यो अवस्था आएन तर यसलाई परिर्वतन नगरी यही ब्यवस्थाभित्र प्रतिस्पर्धा गर्ने र शिष्टताको खोजी गर्नु पर्छ ।’
ब्यक्ति, दल र प्रवृत्ति बदलेर भए पनि यो ब्यवस्था टिकाउनु पर्ने थापाले बताउनु भयो । यो ब्यवस्थाबाट अहिलेको अवस्थामा सन्तोष मान्न सक्ने अवस्था नरहेको बताउँदै उहाँले भन्नुभयो, ‘विप्लवले एक दिन बम पड्काउँदा त देशमा कोलाहाल मच्चियो भने विप्लवका दाजुभाइहरु संविधान सभामार्फत सरकारमा नआएको भए विप्लव झैं बाहिरै भएको भए यो देशको हालत कस्तो हुने थियो ?’ 
विप्लवका दाजुभाइ सबैलाई गणतन्त्रको नारामा समर्थन जनाएर सरकारमा ल्याएर अहिले जेठ १५ का दिन गणतन्त्र दिवस भनेर उत्सव मनाउन पाउने वातावरण काँग्रेस पार्टी र नरहरि आचार्य जस्ता नेताको योगदानले भएकाले यसलाई पनि उपलब्धि मान्नु पर्ने बताउनु भयो । यसबाट सन्तोष मान्ने अवस्था नभएपनि सन्तोष मान्ने वातावरण बनाउन अब काँग्रेस जाग्नु पर्ने र यो ब्यवस्था टिकाउन लाग्नु पर्ने थापाको भनाई छ । 


कार्यक्रममा नरहरि आचार्यको पुस्तक गणतन्त्रको यात्रामाथि समीक्षा भएको थियो । पुस्तकमा नरहरि आचार्यले जेल जीवन बिताउँदा देशमा गणतन्त्र प्राप्तिका लागि खेलेका भूमिकाहरु समावेश भएको र गणतन्त्र ल्याउन सबैभन्दा बढी योगदान आचार्यको रहेको थापाले बताउनु भयो ।
कार्यक्रममा समीक्षक डा. एकनारायण पौडेलले पुस्तकको सार तत्वबारे प्रकाश पार्नु भएको थियो । पुस्तकमा बन्दी जीवनका दैनिकी समावेश भएको र यो साहित्य शैलीमा लेखिएको विचार संग्रह भएको बताउँदै डा. पौडेलले पुस्तक राजनीतिकर्मी र साहित्यकर्मी सबैका लागि उपयोगी भएको बताउनु भयो । 
पुस्तकमा दैनिक नित्य कर्म, दैनिक राजनीतिक भेटघाट र राजनीतिक संघर्ष, गणतन्त्र प्राप्तिका लागि थाल्नु पर्ने र चाल्नु पर्ने कदम लगायतका बिषय समावेश गरी निकै सुन्दर शैलीमा तयार पारिएको पौडेलले बताउनु भयो ।
कार्यक्रम कविडाँडा साहित्य समाजका अध्यक्ष डा. एलबी क्षेत्रीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस