जापानमा जथाभावी चक्कु प्रहार, दुई जनाको मृत्यु, केही घाइते

एजेन्सी

मंगलबार, १४ जेठ २०७६, १४ : ३५
जापानमा जथाभावी चक्कु प्रहार, दुई जनाको मृत्यु, केही घाइते

कावासाकी । जापानको राजधानी टोकियोको दक्षिणमा रहेको शहर कावासाकीमा चक्कुधारी एक व्यक्तिले मङ्गलबार बिहान एक १२ वर्षीया स्कुले छात्रा र एक पुरुषको हत्या गरेका छन् । चक्कु आक्रमणमा धेरै बालबालिका समेत एक दर्जनभन्दा बढी व्यक्तिलाई घाइते बनाएको प्रहरीले जनाएको छ ।
सडकमा जथाभावी चक्कु हिर्काउँदै हिँडेका ती व्यक्तिले अन्त्यमा आफैँलाई चक्कु हानी आत्महत्या गरेका थिए ।
टोकियोको दक्षिणतर्फ रहेको कावासाकी शहरमा यस्तो आपराधिक घटना यसअघि बिरलै देखिएको थियो । चक्कु प्रहार गर्ने व्यक्तिको मनसाय भने स्पष्ट हुन सकेको छैन ।
निप्पोन मेडिकल स्कुल मुसाशी कोसुगी हस्पिटलका उपनिर्देशक कियोशी मात्सुडाले १२ वर्षीया एक स्कुले बालिका र अर्का ३९ वर्षीय एक पुरुषको उपचारकै क्रममा मृत्यु भएको बताउनुभयो ।
करिब ५० वर्षका आक्रमणकारीको पनि मृत्यु भएको छ । अस्पतालका अनुसार आक्रमणबाट कम्तीमा १६ जना घाइते भएका छन् ।
जापानका प्रधानमन्त्री शिन्जो आबेले उक्त घटना अत्यन्त दुःखद रहेको बताउनुभयो । 
स्थानीय प्रत्यक्षदर्शीका अनुसार बस पर्खिरहेका स्कुले बालबालिका नजिक पुगेर ती व्यक्तिले एकाएक आक्रमण गर्न थालेका थिए । (रासस/एएफपी)

प्रतिक्रिया दिनुहोस